काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले पार्टीको स्थायी कमिटी बैठक बैशाख २५ गते बोलाउने निर्णय गरेको छ ।
त्यसको तयारीका लागि २४ गते सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । बैठकले बामदेव गौतमलाई उपयुक्त समयमा प्रतिनिधिसभाको उम्मेदवार बनाउन पहल गर्ने निर्णय गरेको छ । ‘सचिवालयले पार्टीका उपाध्यक्ष गौतमलाई उपयुक्त, समयमा प्रतिनिधिसभा उम्मेदवार बनाउने र प्रतिनिधिसभामा लैजान पहल गर्ने निर्णय गरेको छ,’ प्रवक्ता श्रेष्ठले भने ।
गौतमलाई प्रतिनिधिसभामा लैजाने निर्णय सचिवालयले गरेपनि पार्टीमा वरिष्ठ नेता माधव कुमार नेपाललाई तेस्रो अध्यक्षका रुपमा अगाडी बढाउने प्रधानमन्त्री ओलीको प्रस्तावमा भने कुनै निर्णय भएन । नेता नेपाल नै उक्त प्रस्तावमा असहमत भएकाले कुनै निर्णय नभएको प्रवक्ता बैठकपछि श्रेष्ठले बताए ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार सञ्चालनमा भएका कमीकमजोरीलाई लिएर आत्मालोचना गरेको पनि प्रवक्ता श्रेष्ठले बताए । अध्यक्ष पुष्पकमल दाहाल लगायतले पनि पार्टी सञ्चालनमा भएका कमीकमजोरीमा आत्मालोचना गर्दै अगाडि बढ्ने निर्णय भएको श्रेष्ठले बताए । सबै नेताहरुले आफ्नो जिम्मेवारीअनुसार सकारात्मक ढंगले अगाडि बढ्ने संकल्प लिएको पनि उनले बताए ।
‘यसक्रममा पार्टी, सरकार वा सम्बन्धित क्षेत्रहरुमा जेजति कमिकमजोरी भएका छन् ती कमिकमजोरीहरुमा आफ्नो हकको जिम्मेवारीका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले आत्मालेचना गर्नुभएको छ । त्यस्तै अध्यक्ष कमरेड प्रचण्ड र अरु कमरेडहरुले पनि त्यहीअनुसार आत्मालोचित हुँदै अगाडी बढ्ने संकल्प गर्नु भएको छ,’ श्रेष्ठले भने ।
यस्तै बैठकमा पार्टी एकतालाई रक्षा गर्ने र सुदृढ गर्ने र पार्टीलाई गुटउन्मुख हुन नदिन पार्टीका सबै तहमा निर्देशन दिने पनि निर्णय गरेको छ ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको बजेट अधिवेशन छिट्टै बोलाउने विषयमा पनि जानकारी गराएका थिए । सरकारले आगामि वर्षका लागि प्रस्तुत गर्ने नीति तथा कार्यक्रम र बजेटका विषयमा पनि पार्टीभित्र छलफल गर्ने र जनादेशअनुसार सरकार अगाडी बढ्नुपर्ने निष्कर्ष पनि बैठकले निकालेको छ । सचिवालय बैठकले देश कोरोना महामारीसँग लडिरहेको सन्दर्भमा सम्पूर्ण राजनीतिक दल र पार्टीका नेताहरुलाई एकजुट भएर अगाडी बढ्न आग्रह गर्ने पनि निर्णय गरेको छ ।
फेसबुक प्रतिक्रियाहरु