काठमाडौं । सरकारले लागू गरेको लकडाउनको आज १०० दिन पूरा भएको छ । कोरोनाभाइरसको संक्रमण र जोखिम न्यूनीकरणका लागि सरकारले गत चैत ११ गतेदेखि लकडाउन घोषणा गरेको थियो ।
त्यसयता विभिन्न चरणमा सरकारले लकडाउनको समय लम्ब्याएपनि संक्रमित बढेको बढ्यै छन् । लकडाउनको प्रभावकारी कार्यान्वयन नहुनु, भारतबाट विना परीक्षण नेपाली नागरिकलाई प्रवेश दिनुलगायतका कारण कारण संक्रमण बढ्दै गएको बताइन्छ ।
बितेको २४ घण्टामा मात्रै नेपालमा थप ४८२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका हुन् ।
संक्रमितमा ११७ महिला र ३६५ पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ४६ पुगेको छ ।
उनका अनुसार बितेको २४ घण्टामा थप १४६२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएका छन् ।
यससँगै नेपालमा कोरोनाभाइरस संक्रमण जित्नेको संख्या ४ हजार ६५६ पुगेको छ ।
यसैगरी नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ । अछामका ४५ वर्षीय पुरुषको असार १४ गते मृत्यु भएसँगै मृतकको संख्या ३० पुगेको हो । मृत्यु भएको भोलिपल्ट उनको स्वाब संकलन भएकोमा मंगलबार कोरोनाको रिपोर्ट पोजेटिभ आएको गौतमले जानकारी दिए ।
खुकुलो लकडाउन, थप जोखिम बढ्यो
सरकारले गत जेठ २८ गते लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो ।
सोहीअनुसार हाल स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने सबै प्रकारका कृषि र पशुपक्षी सेवा, उत्पादन र बिक्री खुला गरिएको छ । यस्तै उद्योग, व्यापार, व्यवसाय, पसलहरु, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ ।
यस्तै सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ ।
यसैगरी व्यक्तिहरुको पैदल आवागमन खुल्ला गर्दै जोर बिजोरको आधारमा मोटरसाइकल निजी सवारी साधन सञ्चालन गर्न दिइएको छ । यसैगरी सरकारले बैंक, बित्तीय संस्था र सहकारी पनि खुल्ला छन् ।
तर, जिमखाना, सपिङ मल, समूहमा खेलिने खेलमैदान, प्रस्तुतिहरु, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल खोल्न रोक लगाइएको छ ।
यस्तै यात्रुबाहक सार्वजनिक सवारी साधन सञ्चालनमा पनि रोक लगाइएको छ । सरकारले लकडाउन खुकुलो बनाएसँगै संक्रमणको थप जोखिम बढेको छ भने सर्वसाधारणले समेत पर्याप्त सावधानी अपनाएको पाइएको छैन ।
जोखिमकै बीच मन्त्रिपरिषद्को गत सोमबारको बैठकले खुकुलो बनाइएको लकडाउनलाई साउन ७ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ भनेहवाइ उडान र सीमा नाका पनि साउन ७ गतेसम्म बन्द रहने जनाएको छ ।
फेसबुक प्रतिक्रियाहरु