



ललितपुर । वरिष्ठ संचारकर्मी मण्टेश्वरी राजभण्डारीसहित नौं जना महिला सम्मानित भएका छन् । नवनारी मिडियाको १२ औँ बार्षिक उत्सवका अवसरमा काठमाडौंमा आयोजित एक समारोहमा हरेक पेशा र व्यवसायका अनुभवी एवम् दक्ष महिलाहरुलाई सम्मानित गरिएको हो ।


कार्यक्रममा महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाले प्रतिनिधिसभा सांसद तथा सामाजिक अभियन्ता शान्ता चौधरी, वरिष्ठ संचारकर्मी मण्टेश्वरी राजभण्डारी, वरिष्ठ गायिका तारा थापा, वरिष्ठ साहित्यकार उषा शेरचन, व्यवसायी सीमा पन्थ गोल्छा, स्त्री रोग विशेषज्ञ डा. कस्तुरी मल्ल, शिक्षासेवी पबित्रा लिम्बु, पर्यटन व्यवसायी लाक्पा फुटी शेर्पा र वरिष्ठ कलाकार चैत्यदेवीलाई सम्मान पत्रसहित खादा र दोसल्ला ओढाएर सम्मान गरिन् ।
कार्यक्रममा बोल्दै महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थापाले महिलालाई बस्तुको रुपमा हेर्ने सोचमा कुनै परिवर्तन नआएको बताइन् । उनले नेपाली समाज र संस्कार अहिले पनि महिलामैत्री हुन नसकेकोमा चिन्ता व्यक्त गरिन् ।

मन्त्री थापाले भनिन्, ‘अहिले पनि महिलाहरुले बाहिर निस्केर काम गर्न सक्ने वातावरण नहुनु दुःखद् अवस्था हो ।’ उनले हिजोको पितृसत्ता र सामन्ती सोचमा परिवर्तन हुन नसकेको धारणा राखिन् । मन्त्री थापाले भनिन् ‘हिजोको पितृसत्ता र सामान्ती सोचमा अझैं पनि परिवर्तन आउन सकेको छैन ।’
महिलाहरुले विद्यमान अवस्थालाई चिरेर अगाडी बढ्नुपर्ने आवश्यकता रहेको उनले औल्याइन् । समाजवाद उन्मुख समाज निर्माण गर्ने व्यवस्था गरिएका कारण पनि आगामी दिन महिलाका लागि सहज रहेको उनले बताइन् ।
आफ्नो पेशा र व्यवसायमा रहेर महिला सशक्तिकरण र समाज परिवर्तनका लागि अहोरात्र खटिएका महिलाहरुलाई सम्मानित गरिएको पत्रिका नवनारी मिडिया एण्ड रिसर्च प्रा.लि.का संस्थापक सम्पादक जानुका ढकालले जानकारी दिइन् । साभार महिला खबरबाट





फेसबुक प्रतिक्रियाहरु