होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, बैशाख २७, २०८१
जोडिनुहोस
  • होमपेज
  • यौन स्वास्थ्य
  • नागरिकका आशा र सपना अधुरै
यौन स्वास्थ्य

नागरिकका आशा र सपना अधुरै

आज ११ औँ गणतन्त्र दिवस

  • नागरिक रैबार
नागरिकका आशा र सपना अधुरै

मधुसूदन दवाडी,

चितवन, जेठ १५–

गणतन्त्र दिवस–२०७६ आज चितवनलगायत देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ ।

विज्ञापन

संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी यो दिवस मनाइन्छ । झन्डै अढाई सय वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई बिदाइ गर्दै नेपालमा गणतन्त्र स्थापना भएको हो ।

लामो समय जरा गाडेर बसेको राजतन्त्रलाई बिदाइ गरी गणतन्त्र स्थापना शान्तिपूर्ण रुपमा हुनुलाई विश्व समुदायले अनौठो घटनाका रुपमा लिएको थियो । गणतन्त्र स्थापनापछि पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि दोस्रो संविधानसभाले ७० वर्ष पुरानो सपना साकार पारेको छ । विसं २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भएपछि स्थानीय तह, प्रदेश र संघीय संसदको निर्वाचन भएर संविधानको कार्यान्वयन प्रक्रिया पनि सुरु भएको छ ।

संविधानसभा मार्फत संविधान बनाउने नेपाली जनताको सात दशक लामो चाहनाले संविधान कार्यान्वयनसँगै पूर्णता पाउनेछ । जहानियाँ राणा शासनको जगजगीका बेला स्थापना भएको नेपाली काँग्रेसले संविधानसभाबाट संविधान बनाइ प्रजातन्त्र स्थापनालाई मुख्य लक्ष्य बनाएको थियो । विसं २००७ फागुन ७ गते राजा त्रिभुवनले संविधानसभा निर्वाचनको शाही घोषणा गरे पनि त्यो पूरा हुन सकेको थिएन ।

गणतन्त्र आएको ११ औँ वर्ष बित्दा पनि नेपाली नागरिकका विकास र समृद्धिका आशा र सपनाहरु भने पूरा हुन सकेका छैनन् । नेपाल कम्युनिस्ट पार्टी चितवनका अध्यक्ष यमबहादुर परियारले ६३ वर्ष लामो संघर्ष र बलिदानीबाट मात्र गणतन्त्र स्थापना भएकोले यसको संस्थागत विकास हुन नै बाँकी रहेको बताए । उनले भने, –‘गणतन्त्र स्थापनापछि लामो समय नेपाल संक्रमण कालमा नै रहेकोले नागरिकको इच्छा, आशा र सपनाहरु पूरा हुन सकेको छैन ।’ देशमा विकास र समृद्धिको लागि पूर्वाधार तयार हुँदै रहेकोले नागरिकलाई निराश नहुन नेता परियारले अनुरोध पनि गरे ।

नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले नेपाली नागरिकले जुन सोच राखेर गणतन्त्र स्थापना गरेका थिए तर त्यो पूरा हुन नसकेको बताए । उनले भने, –‘देशमा पछिल्लो समयमा बढ्दै गएको महङ्गी, भ्रष्टाचारले नागरिकहरु झनै निराश बन्दै गएका छन् । देशमा न्याय हराउँदै गएको छ र नागरिकले सुशासन पाउन सकेका छैनन् ।’ नेता श्रेष्ठले दोस्रो जनआन्दोलनमा नेपाली नागरिकले विकास र सुशासनको लागि गणतन्त्रको आन्दोलनमा होमिएको तर त्यो पूरा हुन नसकेको बताए ।

चितवनकी प्रदेश सांसद रिना गुरूङले गणतन्त्र स्थापना गर्ने क्रममा नागरिकले देखेका सुन्दर सपना अहिले झनै डरलाग्दो र त्रासद् सपनामा परिणत भएको बताइन् । उनले भनिन्, –‘देशमा राजतन्त्रको समाप्त भए पनि झनै धेरै छोटे राजाहरु जन्मिएका छन् । देशमा गणतन्त्रपछि नागरिकले पनि राम्रोसँग न्याय र सुरक्षा पाउन सकेका छैनन् ।’ देशमा गणतन्त्र आएसँगै कयौँ गुणा बलात्कार, भ्रष्टचार, हिंसा र आतङ्क बढेको उनले बताइन् । उनले गणतन्त्र छाडातन्त्रमा रुपान्तरण भएको आरोप पनि लगाइन् ।

त्यसैगरी, शिक्षाविद्ध रमाकान्त सापकोटाले संस्थागतरुपमा ऐन, कानुन र संविधान बने पनि नागरिकको जनजीवनमा कुनै परिवर्तन नआएको बताए । उनले भने, –‘नेपाली नेताहरुले भाषण गर्न जाने पनि सिर्जनात्मक काम गर्न जानेनन् ।’ ४५ लाख युवाहरु विदेशमा रहेसम्म, देशमा रोजगारीका अवसरहरु नबढेसम्म नागरिकका समृद्धिका सपना र आशाहरु पूरा हुन नसक्ने शिक्षाविद्ध सापकोटाले बताए ।
उनले भने, –‘अहिले देशमा नेताहरु र कर्मचारीतन्त्रकोबीचमा बिचौलियाहरु हाबी हुँदै गएका छन् । आफ्नो उत्पादन नबढाएसम्म विदेशीको माल मात्र बेचेर देशमा नागरिकका सपनाहरु पूरा हुन सक्दैन ।’ त्यस्तै देशको समसामयिक राजनीतिमा विशेष चासो राख्ने वरिष्ठ फिजिसिएन डाक्टर भोजराज अधिकारीले गणतन्त्र दिवस आउनु खुसीको कुरा भए पनि राज्यले व्यवहारिक रुपमा संविधान र नीति तथा कानुनको प्रयोग गर्न नसकेको बताए । उनले भने, –‘देशमा नागरिकलाई गणतन्त्र आएको कुनै अनुभूति हुन सकेको छैन ।’

संविधानमा स्वास्थ्यलाई सरकारले मौलिक अधिकारको रुपमा व्यवस्था गरे पनि जनतालाई त्यस अधिकारबारे केही अनुभूति हुन नसकेको डाक्टर अधिकारीले बताए । उनले गणतन्त्र आयो भनेर मात्र नहुने नागरिक पनि आफ्नो अधिकार र कर्तव्यबारे सचेत हुनुपर्ने र राज्यले पनि नागरिकलाई राज्यले दिने सेवा र सुविधाबारे सचेत गराउनुपर्ने उनको विचार थियो । नेपालमा राजनीतिक व्यवस्था त परिवर्तन भयो तर नेताको कार्यशैली र व्यवहारमा कुनै परिवर्तन नआएको नागरिकको गुनासो छ । जबसम्म राजनीतिक नेतृत्वको सोच र व्यवहारमा परिवर्तन आउन सक्दैन तबसम्म देश सधै अस्थिर र अन्यौलतामा धकेलिइरहने सम्भावना देखिन्छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार