होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, साउन १०, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • महँगीको मारमा अर्थतन्त्र
समाचार

महँगीको मारमा अर्थतन्त्र

  • नागरिक रैबार
महँगीको मारमा अर्थतन्त्र

काठमाडौं : मुलुकको अर्थतन्त्र महँगिको मारतर्फ धकेलिँदै गएको छ। गत साउनमा औसत मूल्य वृद्धि दर २०७४ भदौपछि पहिलोपटक ७ प्रतिशत हाराहारी पुगेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ। ‘वैशाखदेखि लगातार मूल्य वृद्धि बढ्दोक्रममा छ’, राष्ट्र बैंकको अनुसन्धान विभाग प्रमुख डा.गुणाकर भट्ट भन्छन्। उनका अनुसार तरकारी, माछामासुको आपूर्तिमा केही असहजता देखिएको र स्वदेशी उत्पादन घटेका कारण महँगी बढेको हो। साउनमा तलब र ज्याला दर १३ प्रतिशत हाराहारीमा बढेका कारण श्रम लागत बढ्दा मूल्य वृद्धिलाई सहयोग पुगेको उनको भनाइ छ।

भारतमा धिमा गतिमै भए पनि पछिल्ला महिना मूल्य वृद्धिको दवाव पर्दै गएको असर नेपाली बजारमा देखिएको उनी बताउँछन्। साउनको ‘वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ बारेको प्रतिवेदनमा राष्ट्र बैंकले मुद्रास्फीति ६.९५ प्रतिशत पुगेको उल्लेख गरेको छ। केन्द्रीय बैंकले नै यो आर्थिक वर्ष मुद्रास्फीति ६ प्रतिशतभित्र राख्ने प्रक्षपण गरेको थियो। साउनमा तरकारी र फलफूलको भाउ अत्यधिक महँगिएको राष्ट्र बैंकको तथ्यांक छ। एक वर्षअघिको तुलनामा तरकारीको भाउ २३.३८ प्रतिशत र फलफूलको भाउ २०.२ प्रतिशत महँगिएको छ। यसबीच माछामासु पनि महँगिएको छ।

अर्कोतर्फ भारतसँगको मुद्रास्फीति अन्तर पनि ह्वात्तै बढेको छ। तीन वर्षयता पहिलोपटक भारतसँगको औसत मूल्य वृद्धिको अन्तर ३ प्रतिशत नाघेको राष्ट्र बैंकको तथ्यांक छ। झण्डै दुई तिहाइ आयात भारतबाटै हुने नेपाली बजारमा मूल्य वृद्धिको अन्तर बढ्नुमा राजस्व वृद्धिको असर र व्यापारीको मनोमानीका कारण पनि मूल्य बढ्न सहयोग पुगेको राष्ट्र बैंकका अधिकारीले बताउँछन्। तर कार्यकारी निर्देशक डा.भट्ट भने यो वर्ष करका दर धेरै परिवर्तन नभएकाले मूल्यमा असर नपारेको बताउँछन्। भूगोलको हिसाबले अन्यत्रभन्दा काठमाडौं उपत्यकामा महँगी उच्च दरमा बढेको तथ्यांक राष्ट्र बैंकले सार्वजनिक गरेको छ।

विज्ञापन

औद्योगिक वस्तुको आयात घट्यो

राष्ट्र बैंकको तथ्यांकअनुसार कोइला, सिमेन्ट, फलाम, तामा, दूरसञ्चार उपकरण, विद्युतीय सामग्री, प्लास्टिककाजस्ता औद्योगिक कच्चापदार्थको आयात ठूलो मात्रामा घटेको छ। गत वर्ष साउनको तुलनामा यो साउनमा भारतबाटमात्रै सिमेन्ट आयात ८०.२ प्रतिशत कोइला आयात ७२.३ प्रतिशत, जस्तापाता बनाउने रोलसीटको आयात ६७.६ प्रतिशत, छडलगायत फलामका सामग्री उत्पादन गर्ने बिलेट, तार, रड, क्वाइल, डण्डीको आयात पनि ४० प्रतिशतभन्दा बढीले घटेको छ। साउनको तथ्यांकमा सवारीसाधन र पार्टसको आयात पनि घटेको देखिएको छ। चीनबाट हुने आयातमा पनि स्टिलको पैठारी ८३.५ प्रतिशत घटेको छ। फलाम जोड्न प्रयोग गरिने वेल्डिङ रडको आयात पनि झण्डै ३० प्रतिशत घटेको छ। दूरसञ्चार उपकरणको आयात पनि घटेको छ।

तेस्रो मुलुकबाट हुने आयातमा पनि तामाका तार र पाताको आयात पनि २६ प्रतिशत घटेको छ। विद्युतीय सामग्रीको आयत पनि घटेको छ। प्लास्टिकका सामग्री बनाउने कच्चापदार्थ पीभीसी कम्पाउन्डको आयात पनि घटेको छ। प्लस्टिकका थैला बनाउने कणको आयात पनि ३५.३ प्रतिशत घटेको छ। कार्पेट, रबर, दूरसञ्चार उपकरणलगायतको आयात घटेको छ।

कोइलाको आयात तेस्रो मुलुकबाट पनि ४०.५ प्रतिशत घटेको छ। सुनको आयात भने भारी मात्रामा घटेको छ। अघिल्लो वर्ष दुई अर्ब १८ करोड १९ लाखको सुन आयात भएकोमा यो वर्ष एक करोड ४१ लाखको मात्रै सुन आयात भएको छ। सुनको मूल्य अत्यधिक बढेका कारण नेपाली बजारमा सुन आयात बन्दप्रायः देखिएको हो। चाँदीको आयात पनि १३ प्रतिशत घटेको छ।

डा. भट्ट गत वर्ष पुनर्निर्माणका काम तीव्रदरमा भएकाले बढेको आयात यो वर्ष पुनर्निमार्णको काम लगभग अन्तिम चरणमा पुगेकाले आयात घटेको बताउँछन्। नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका भने अन्तर्राष्ट्रिय बजारमा कोइला, फलामजस्ता वस्तुको मूल्य १५ प्रतिशत हाराहारीमा घटेकाले आयातको तथ्यांकमा कमी आएको बताउँछन्।

गत वर्ष २४ प्रतिशत बढेको रेमिट्यान्स (अमेरिकी डलरमा) यो वर्ष भने ०.७ प्रतिशतमा खुम्चिएको छ। विनिमय लाभका कारण हुने फाइदा पनि यो वर्ष कम भएको छ। नेपाली मुद्रामा पनि गत वर्ष ३३ प्रतिशत बढेको रेमिट्यान्स यो वर्ष २ प्रतिशतमात्रै भएको छ। वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिनेको संख्या पनि अघिल्लो वर्षको वर्षको तुलनामा १९ प्रतिशत घटेको छ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार