२९ असार, काठमाडौं । आजका पत्रिकाहरु पनि बाढी, पहिरो र डुबानकै समाचारमा केन्द्रित छन् । तर नेपाल साप्ताहिकमा भने हाई-प्रोफाइल व्यक्तिलाई अदालत र अख्तियारले संरक्षण गरिरहेको कभर स्टोरी छ ।
समाचारमा अकुत सम्पत्ति थुपारेको आरोप लागेका पूर्वमन्त्री एवम् कांग्रेस नेता गोविन्दराज जोशीलाई दुई दशकदेखि अख्तियार र अदालतले नै संरक्षण गरिरहेको उल्लेख छ ।
समाचारमा लेखिएको छ- राज्यका निकायसँग मिलेमतोमा हाई-प्रोफाइल व्यक्तिले कसरी मुद्दालाई कचल्टाउन सक्छ भन्ने गतिलो उदाहरण हो, जोशीको मुद्दा । यसले हाम्रो न्याय प्रणालीमाथि नै औंला ठड्याइरहेको छ । न्यायिकदेखि अनुसन्धानकारी निकायसम्म जोशीले मुद्दाको माकुरी जालो बुनेर त्यसैभित्र आफूलाई सुरक्षित राख्न सफल छन् । २९ भदौ ०७१ मा सर्वोच्चले मागेको एउटा कागजात हालसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पेस गर्न नसकेपछि जोशीको मुद्दा अहिले पुनः सतहमा आएको हो ।
नेपाल साप्ताहिक लेख्छ- ०७० वैशाखमै दलीय मिलेमतोमा लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त बने । कार्कीको अयोग्यताको विषयमा प्रश्न उठ्यो । यो प्रश्न न्यायालय पनि प्रवेश गर्यो, रिटमार्फत् । पराजुली र ओमप्रकाश मिश्रको इजलासले लोकमानको नियुक्तिलाई वैध ठहर्याइदियो, ८ असोज ०७१ मा । पराजुलीलाई प्रधानन्यायाधीशको लाइनमा उभ्याउन दामोदर शर्मा, उपेन्द्रकेशरी न्यौपानेको पनि भूमिका रहेको कतै छिपेको छैन ।
न्यायलयदेखि अख्तियारसम्म आफू अनुकुल पात्र खडा गरेपछि जोशीको भ्रष्टाचार मुद्दाको मिसिलमा संलग्न कागजात नै एकाएक गायब भयो । लोकमान अख्तियार प्रमुख छँदा प्रधानन्यायाधीश पराजुलीकी श्रीमती बसन्ता पराजुली वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट अख्तियारमा काज सरुवा भएकी थिइन् । पराजुलीका भान्जा नाता पर्ने बालचन्द्र आचार्यलाई लोकमानले प्राविधिक सल्लाहकारमा नियुक्त गरे । आचार्य र पराजुलीलाई अख्तियारमा असीमित पहुँच थियो ।
अख्तियारका पूर्वप्रमुख दीप बस्न्यातसँग बयान
कान्तिपुर दैनिकले सप्तरी, रौतहट, पर्सा र बाँकेका रिपोर्ट समेटेर भारतीय बाँधले नेपाली बस्ती डुबानमा परेको समाचार लेखेको छ ।
कान्तिपुरमै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै पूर्वप्रमुख आयुक्त दीप बस्न्यातसँग बयान लिएको समाचार छ । ललिता निवास प्रकरण (बालुवाटारको जग्गा)मा तत्कालीन भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव बस्न्यातसँग अख्तियारले बयान लिएको हो । मन्त्रालयको तत्कालीन सचिवको रुपमा उनले क्षेत्राधिकार नै नभएको विषयमा तयार पारेको प्रस्तावका आधारमा नक्कली मोहीले जग्गा पाएका थिए ।
काठमाडौं उपत्यकामा किन पस्यो बाढी ?
राजधानी दैनिकले काठमाडौं, भक्तपुर र ललितपुर बाढी पस्नुको कारण खोतलेको छ । नदी अतिक्रमण र अव्यवस्थित बसोबास यसको मुख्य कारण रहेको राजधानीको निष्कर्ष छ ।
राजधानी दैनिकमा बाढी पहिरोबाट ४३ को मृत्यु र २४ जना वेपत्ता भएको समाचार छ ।
नागरिक दैनिकले पनि बाढीपहिरोमा मृत्यु हुनेको संख्या ४३ पुगेको लेखेको छ । तर, अन्नपूर्ण पोष्टमा ‘सडक अवरुद्ध, जनजीवन ठप्प’ शीर्षकको मुख्य समाचार छ र त्यो समाचारमा ३९ को मृत्यु, ३३ वेपत्ता भएको उल्लेख छ ।
असल चालकको खडेरी
गोरखापत्र दैनिकले सरकारले बाढी पहिरो र डुबान पीडितको उद्धार तथा राहतका लागि एकद्वार प्रणालीमा काम गर्ने निर्णय गरेको समाचार छ । गोरखापत्रले पनि बाढी पहिरोबाट ४३ जनाकै मृत्यु भएको लेखेको छ ।
गोरखापत्रमै असल चालकको खडेरी भएको समाचार पनि छ । निजी तथा सार्वजनिक यातायातका चालकहरु दिउँसै मदिरामा मस्त हुने गरेको समाचारमा उल्लेख छ । समाचारको उठान एक पूर्वराजदूतका चालक खम्बिरमान थापाबाट गरिएको छ । थापाले गाडीको ब्लुबुक हराएको भन्दै आए पनि वास्तवमा त्यो ब्लुबुक मापसे कारबाहीमा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।
विपद व्यवस्थापनमा जुनसुकै शीर्षकको बजेट
कारोबार दैनिकले भने विपदको जोखिम न्यूनीकरण र रोकथाम गर्न, पीडितहरुको शीघ्र उद्धार गरी राहत प्रदान गर्न स्थानीय तहले जुनसुकै शीर्षकको बजेट खर्च गर्न सक्ने समाचार छापेको छ ।
नेपाल समाचार पत्रमा ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालको ठगीसँग सम्बन्धित समाचार प्रकाशित छ ।
समाचार पत्रले भने बाढी पहिरोबाट ३४ जनाको मृत्यु भएको समाचार लेखेको छ ।
हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
फेसबुक प्रतिक्रियाहरु