एजेन्सी । न्युजिल्याण्ड इंग्ल्यान्डमा जारी १२ औं संस्करणको एकदिवसीय विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । म्यानचेस्टरमा बुधबार भएको पहिलो सेमिफाइनलमा भारतलाई १८ रनले पराजित गर्दै न्युजिल्याण्ड उपाधि नजिक पुगेको हो ।
ओल्ड ट्राफोर्डमा न्युजिल्याण्डले दिएको २४० रनको सामान्य लक्ष्य पछ्याएको भारत ४९ ओभर ३ बलमा अलआउट हुँदै २२१ रनमा समेटियो ।
भारतका लागि रबिन्द्र जडेजा र महेन्द्र सिंह धोनीले अर्धशतकीय इनिङ्स खेलेपनि टोलीलाई जित दिलाउन सकेनन् । जडेजाले ७७ तथा धोनीले ५० रन बनाए ।
यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्याण्डले पुरै ५० ओभर खेल्दै ८ विकेट गुमाएर २३९ रन बनाएको थियो । न्युजिल्याण्डका लागि रोस टेलर र कप्तान केन विलियम्सनले अर्धशतकीय इनिङ्स खेले ।
टेलरले ७४ रनको अर्धशतकीय इनिङ्स खेल्दा कप्तान विलियम्सनले ६७ रन बनाए । भारतका भुवनेश्वर कुमारले ३ विकेट लिए । जस्प्रित बुम्राह, हार्दिक पाण्ड्या, रबिन्द्र जडेजा, युजभेन्द्र चहालले समान १/१ विकेट लिए ।
फेसबुक प्रतिक्रियाहरु