होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बिहिबार, कार्तिक ८, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • कांग्रेस नेताहरूको प्रश्न– ‘सरकार असफल हुँदा सम्हाल्न सक्छौं ?’
समाचार

कांग्रेस नेताहरूको प्रश्न– ‘सरकार असफल हुँदा सम्हाल्न सक्छौं ?’

  • नागरिक रैबार
कांग्रेस नेताहरूको प्रश्न– ‘सरकार असफल हुँदा सम्हाल्न सक्छौं ?’

काठमाडौँ — कांग्रेस नेताहरूले सरकारको असफलताका कारण ‘दक्षिणपन्थी र उग्रवामपन्थी’ बाट राज्यप्रणालीमाथि प्रहार हुन थालेको बताएका छन् । त्यस्तो स्थिति आउनुमा सरकारको सर्वसत्तावादी सोच र काम गर्ने शैली मुख्य जिम्मेवार रहेको उनीहरूको निष्कर्ष छ ।

कांग्रेसको केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार भक्तपुरमा आयोजना गरेको प्रदेश ३ का ७ जिल्लाका महाधिवेशन प्रतिनिधिहरूको प्रशिक्षण कार्यक्रममा सहभागी नेताहरूले सर्वदलीय बैठकबाट सरकारलेआफ्नो असफलता प्रकट गरेको उल्लेख गरे । ‘राज्यप्रणालीमाथि भइरहेका प्रहार र सडकमा बढेको असन्तुष्टि रोक्न के अहिलेकै कांग्रेसले विकल्प दिने सामर्थ्य राख्छ ?’ उनीहरूको प्रश्न थियो ।

विज्ञापन

कांग्रेस नेताहरूले राज्यसत्ता आफूमा केन्द्रित गरेर मुलुकलाई एकदलीय सर्वसत्तावाद लाद्ने बाटोमा अघि बढेकै कारण सरकार असफल भएको निष्कर्ष निकालेका छन् । बहुमतको आडमा संवैधानिक परिषद्बाट संवैधानिक आयोगका पदाधिकारी नियुक्ति गर्ने, संविधानको मर्म एवं भावनाविपरीतका कानुन ल्याएर मुलुकलाई एकदलीय सर्वसत्तावादतर्फ लैजान खोज्दाका परिणाम अहिले देखिएको कांग्रेस सभापति शेरबहादुर देउवाले बताए ।

‘कम्युनिस्ट शासन आयो भने रुन पनि पाइँदैन भन्ने भनाइ त्यतिबेला मैले भनेको थिएँ । तर अहिले परिस्थिति त्यतैतिर मोडिएको छ । सबैले मैले बोलेको ठीकै रहेछ भनेका छन्,’ उनले भने, ‘नेपाली सेना, पुलिस, कर्मचारी र न्यायालयलाई आफूप्रति प्रतिबद्ध बनाएर नयाँ कम्युनिस्ट शासनको अभ्यास गर्न थालिएको छ, सरकार बदलिने कुरा ठूलो होइन । कहिले कांग्रेस आउँछ, कहिले अर्को आउँछ । तर यहाँ प्रणाली नै बदल्ने प्रयास भएको छ ।’

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले सरकारको असफलताले जनतामा बढेको असन्तुष्टिलाई प्रतिपक्षले सम्हाल्न सक्नुपर्नेमा जोड दिए । वैकल्पिक शक्तिका रूपमा कांग्रेसलाई अघि बढाउन पार्टीभित्रको बृहत् एकता र नेतृत्वको निष्ठाप्रतिको समर्पण आवश्यक रहेको पौडेलले बताए । ‘ओरल्ली, मोरल्ली र पोलिटिकक्ली चुनौती दिन सक्ने सामर्थ्य भएका नेता हुनुपर्छ,’ देउवाप्रति लक्ष्य गर्दैर् पौडेलले भने, ‘पहिला आफैं निष्ठा र आदर्शमा हिँड्न सक्नुपर्छ । अनि जनताले पत्याउँछन् ।’

पौडेलले कांग्रेसको सिद्धान्तले जित्ने तर संगठन हार्ने किन भइरहेको छ भन्दै प्रश्नसमेत गरे । पौडेलको प्रश्नलाई देउवाले भने अन्तर्घातसँग लगेर जोडे । देउवाले पार्टीभित्रको एकता आवश्यक रहेको भन्दै के साँच्चै पार्टीभित्र एकता छ त भन्ने प्रश्न गरे । उनले भने, ‘आफ्नै साथीहरूलाई हराइएको छ । टिकट एउटाले पाउँछ तर उसलाई हराउन पार्टीकै मान्छे लाग्छन्, म हराउने र हार्ने खेल सदाका लागि अन्त्य गर्न चाहन्छु ।’ अन्तर्घातीहरूलाई कारबाही गर्न अनुशासन समिति लागिरहेकोतर्फ उनले संकेत गरे।

उपसभापति विमलेन्द्र निधिले संविधानविरोधी कानुन बनाएर त्यसैको बलमा कम्युनिस्ट ‘स्टेट’ चलाउने कुचेष्टा भएको धारणा राखे । सिटौलाले राज्यप्रणालीमाथि दक्षिणपन्थी एवं उग्रवामपन्थीबाट मात्रै नभई सिंहदरबारबाट समेत खतरा उत्पन्न भएको बताए ।

महत र केसीको असन्तुष्टि

कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा आफूहरूलाई नबोलाइएको भन्दै केन्द्रीय सदस्य रामशरण महत र अर्जुननरसिंह केसीले असन्तुष्टि जनाएका छन् । ‘३ नम्बर प्रदेशमै कार्यक्रम आयोजना गर्दा हामीलाई नबोलाउनु संकीर्णताको पराकाष्ठा हो,’ केसीले भने, ‘महाधिवेशनलाई प्रभावमा पारेर गुटगत फाइदा लिन खोजिएको हो ।’

नुवाकोटका नेताद्वय महत र केसीलाई नै उद्घाटन कार्यक्रममा नबोलाए पनि अर्का सहमहामन्त्री प्रकाशशरण महत भने निम्त्याइएका थिए । प्रतिष्ठानले प्रदेश ३ का रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर र सिन्धुलीका महाधिवेशनका प्रतिनिधिका लागि हेटौंडामा प्रशिक्षण राख्दै छ । त्यसैले उनीहरूलाई त्यहीँ बोलाइने प्रतिष्ठानले जानकारी दिएको छ ।

महँगी र वाइडबडी मुख्य मुद्दा

प्रमुख प्रतिपक्ष कांग्रेसले दोस्रो चरणको जागरण अभियानमा महँगी, वाइडबडी जहाज खरिद प्रकरण, संसद्मा दर्ता विभिन्न विधेयकलाई मुख्य मुद्दा बनाउने भएको छ । पार्टीका तल्ला तहका संरचना निर्माण सुरु भएसँगै कांग्रेसले यीलगायत विभिन्न विषयमा जनतालाई जागरुक बनाउने भन्दै भदौ २४ बाट अभियान घोषणा गरेको हो । अभियान १५ दिन चल्नेछ ।

जिल्ला केन्द्रित पहिलो चरणको अभियान पार्टीका स्थानीय तहका संरचना नहुँदा प्रभावकारी बन्न नसकेको गुनासो आएको थियो । पार्टीले संघीय ढाँचाअनुसार स्थानीय तहमा अन्तरिम संरचना गठन प्रक्रियासमेत यसै साता सुरु गरेको छ । दोस्रो चरणको जागरण अभियान निर्वाचन क्षेत्रमा केन्द्रित गरिँदै छ ।

उपसभापति विमलेन्द्र निधिले पार्टीमा नेता–कार्यकर्ता र पार्टी–जनताबीचको सम्बन्ध बढाउन अभियान थालिएको बताए । कांग्रेसले बिहीबार पत्रकार सम्मेलन गरेर अभियानको घोषणा गरेको थियो । चाडबाडको मुखमा बजारमा मूल्य नियन्त्रण नभएको र कालोबजारी बढेको भन्दै महँगी मुद्दालाई प्राथमिकतामा राखेको हो । दोस्रो मुद्दाका रूपमा वाइडबडी र न्यारोबडी प्रकरणलगायत भ्रष्टाचार मुद्दा उठाइएको छ ।

महिला हिंसा, बलात्कार, हत्या, अलोकतान्त्रिक विधेयक र कुशासनका मुद्दा लिएर जनतामाझ जाने कांग्रेसको तयारी छ । यी मुद्दामा केन्द्रीयदेखि तल्लो तहका नेता–कार्यकर्ताले विभिन्न र्‍याली, सभा र घरदैलो कार्यक्रम गर्दै छन् । बीपी कोइरालाको १०६ औं जन्म जयन्तीको दिनबाट सुरु हुने अभियानमा विशेष सामाजिक संवाद, सामाजिक विसंगतिविरुद्ध जागरण, युवा केन्द्रित विशेष संवाद, वडास्तरीय अन्तरक्रियालगायत कार्यक्रम हुने बताइएको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार ३३० प्रदेशसभा निर्वाचन क्षेत्रलाई केन्द्रित गरी अभियान चल्नेछ । हरेक क्षेत्रमा एक जनाका दरले केन्द्रीय प्रतिनिधि खटिनेछन् । पहिलो चरणमा वैशाख २५ देखि जेठ २५ सम्म एकमहिने अभियान चलाइएको थियो । पार्टीका अनुसार दोस्रो चरणमा नेताहरूका तर्फबाट भन्दा जनता र कार्यकर्ताका धारणा बढी समेटिनेछ । कार्यक्रम माला–खादारहित, थोरै वक्ता र बढी अन्तरक्रियात्मक हुनेछ । अभियान क्रममा केन्द्रीय तहबाट एउटा मात्रै सभा निर्धारण गरिएको छ । असोज ७ गते अन्तिम दिन जिल्लास्तरीय विरोध प्रदर्शन गर्ने कार्यतालिका छ ।

विशेष सामाजिक संवादमा सरकारका गलत कामकारबाहीको भन्डाफोर गरी त्यसविरुद्ध जनमत बनाउने, नागरिकले पार्टीबाट गरेका अपेक्षा बुझ्ने कांग्रेसले जनाएको छ । पत्रकार सम्मेलनमा घोषणा गरिएअनुसार अभियान क्रममा सहिद परिवार, द्वन्द्वपीडितका घरघर पुगेर सुझाव लिइनेछ । स्थानीय तहको दुईवर्षे कामको समीक्षा हुनेछ ।

विशेष गरी कांग्रेसका तर्फबाट जितेका जनप्रतिनिधि र उम्मेदवारसँग अन्तरक्रिया गरिनेछ । जागरण अभियानमा विदेशस्थित जनसम्पर्क समितिहरूलाई पनि परिचालन गर्ने कांग्रेसको निर्णय छ । समितिहरूलाई विदेशमा रहेका नेपालीलाई मतदानको व्यवस्था गर्न दबाब दिन भनिएको छ ।

समितिहरूले सम्बद्ध राजदूतावास र कन्सुलेटमार्फत नेपाल सरकारसमक्ष मतदानको अधिकार व्यवस्थापनका लागि ज्ञापनपत्र पेस गर्नेछन् । असोज ३ संविधान दिवसका क्रममा संविधानसम्बन्धी अन्तरक्रिया गर्ने र तराई–मधेसमा रहेको असन्तुष्टि, जनजाति, महिला, दलित, थारू आदिका मुद्दाहरूको हल संविधान संशोधनद्वारा नै सम्भव रहेको धारणा सम्प्रेषण गर्ने कांग्रेसको योजना छ । साभार कान्तिपुर दैिनकबाट

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार