होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

  • होमपेज
  • Breaking News
  • सधैँ झस्काइरहने द्वन्द्वकालीन चिहान
Breaking News

सधैँ झस्काइरहने द्वन्द्वकालीन चिहान

  • नागरिक रैबार
[sharethis-inline-buttons]
सधैँ झस्काइरहने द्वन्द्वकालीन चिहान

जगन्नाथ गाउँपालिका–१, बीजा विष्ट कोल्टी जाँदा र फर्किँदा मूल बाटो हिँड्न छाडेको धेरै भयो । त्यो बाटाे हिँड्दा उनी आफूलाई सम्हाल्न सक्दिनन् । किनभने, दैया मूलबाटोछेउ उनको छोराको चिहान छ ।

‘नौ महिना गर्भमा राखेर खाई नखाई हुर्काएको छोरालाई घरबाट लगेर त्यही पुलमा गोली हाने । चिहान देख्नुपर्ला भनेरै म मूलबाटो हिँड्न सक्दिनँ’, उनी भन्छिन् ।

बूढीनन्दा नगरपालिका–१, दैया मूल बाटोमा रहेकाे सामूहिक चिहानमा उनका १९ वर्षीय छोरा गगनको शव गाडिएको छ । तत्कालीन सुरक्षाफौजले माओवादीकाे आरोपमा घरबाटै लगेर २०५९ वैशाखमा गगनलगायत नाै जनालाई गोली हानी हत्या गरेको थियो । अलपत्र शवहरूलाई गाउँलेले पानीको धाराछेउमै सामूहिक चिहान बनाएर गाडेका थिए ।

साबिकको जगन्नाथ गाविसबाट माओवादी वेशभूषामा आएका शाही नेपाली सेनाको टोलीले अभियानमा जाऊँ भनेर २३ युवालाई घरबाट ल्याएर माओवादी आरोपमा गोली हानी हत्या गरेको थियो । दैयाको पुलमा नाै जना मारिएका थिए भने आठ जनालाई केही पर एयरपोर्टछेउ लाइन लगाएर गोली ठोकिएको थियो । छ जनालाई मार्तडी ल्याएर दोस्रो दिन जुगाडा गाविसको खडीगाढमा गोली हानेर हत्या गरिएको थियो ।

बाजुराको यो हत्याकाण्डलाई द्वन्द्वकालमा सुदूरपश्चिम प्रदेशकै ठूलो ज्यादतीका रूपमा लिइन्छ । सो घटनामा एउटै लुमा गाउँका १३ दलित युवाको सामूहिक हत्या भएको थियो । १० जना अन्य वडाका बासिन्दा थिए ।

उक्त हत्याकाण्डपछि जगन्नाथको रूपै फेरिएको गाउँका अगुवा बताउँछन् । ‘धेरैको वंशनाश भयो । कतिपय बालबालिका टुहुरा भए । विधवाको बिचल्ली भयो’, सो घटनाबाट उम्किन सफल लालबहादुर विष्टले घटना सम्झिँदै भने, ‘बाँचेकाले यति हेर्न पाइयो । मेरो त दोस्रो जुनी हो ।’ त्यति ठूलो हत्याकाण्डको अहिलेसम्म न राम्रो अनुसन्धान हुन सक्यो । न त कसैलाई कारबाही नै भयो । पीडितले न्याय पाउने आशा मारिसकेका छन् ।

दैया हत्याकाण्डमा मारिने अधिकांश लुमाको सार्की समुदायका थिए । जयसुर सार्की, मनरूप, रूप, कृष्ण, काला, सेते, गगने, मोती, परू, अभिलाल, बिसे र धनमल सार्कीको हत्या गरिएको थियो । सोही गाउँका गगन विष्ट, शेरबहादुर विष्ट, सत्धन विश्वकर्मा, कमान लोहार, गम विष्ट र धने कामीलगायत मारिएका थिए ।

बूढीनन्दा नगरपालिका–२ का वसन्त रेग्मीको परिवार वर्षौंदेखि दोहोरो तनावमा छ । तत्कालीन सशस्त्र द्वन्द्वका बेला माओवादीले उनका बुबाको हत्या गर्‍याे । बुबा ताराचन्द्रको टाउकाको खप्पर अहिले पनि तत्कालीन एमालेको पार्टी कार्यालयको दराजमै थन्क्याइएको छ । न्याय तथा छानबिन प्रक्रियाको पनि अत्तोपत्तो नहुँदा परिवार दोहोरो तनाव झेलिरहेको छ ।

श्रीमान्‌को हत्या घटनामा न्याय पाउने आशाले वसन्तकी आमा शान्ताले २० जेठ २०७३ मा सदरमुकाम मार्तडी आएर स्थानीय शान्ति समितिमा उजुरी दर्ता गरिन् । समितिमार्फत सत्य निरुपण तथा मेलमिलाप आयोगले उजुरी संकलन गरेकाले न्याय पाउने आशा उनमा जागेको थियो । तर, उजुरीपछि अहिलेसम्म छानबिन तथा न्याय प्रक्रियाको कुनै अत्तोपत्तो नभएपछि परिवारलाई निराश बनेकाे छ । ‘न्यायका लागि अब त भगवान भराेसा भन्ने लाग्छ । हेराैँ के हुन्छ’, छोरा वसन्तले भने ।

शान्ताका श्रीमान् ४० वर्षीय ताराचन्द्र तत्कालीन एमाले जिल्ला उपसचिव थिए । माओवादी कार्यकर्ताले उनलाई २३ फागुन २०६० मा कुल्देवमाडाैंको मौरेबाट अपहरण गरेर हत्या गरेका थिए । एमालेले आफ्नो पार्टी कार्यालयको दराजमा वर्षाैंदेखि मृतक रेग्मीको खप्पर थन्क्याएकै छ ।

 

जगन्नाथ- ४, लुमाका द्वन्द्वकालमा मारिएकाे छोराको शाेकमा रहेकी आमा र परिवार ।

माओवादीले चन्दा नदिएको, कोल्टीमा सेना राख्न लगाएको लगायत आरोप लगाइएका रेग्मीलाई १२ चैत २०६० मा ‘सफाया’ गरेको विज्ञप्ति सार्वजनिक गरेको थियो । परिवारले केही दिनसम्म शवको आस गरे पनि नपाएपछि कुशको प्रतिमा बनाएर अन्तिम संस्कार गर्‍याे ।

दोस्रो जनआन्दोलनको सफलता र शान्ति प्रक्रिया सुरु भएपछि एमाले सचिव रहेका कर्णबहादुर थापा २०६३ मा पार्टी कार्यक्रमका क्रममा छतारा गाविसमा पुगे । स्थानीयको सहयोग लिएर उनले शव गाडिएको स्थान पत्ता लगाए । यकिन भएपछि अन्य पार्टी कार्यकर्ताको सहयोगमा आफैँले चिहान खोतले ।

नेकपा कार्यकर्ता रामबहादुर बानियाँले भने, ‘खोतल्दै जाँदा अस्थिपञ्जरका साथ शान्ति र प्रजातन्त्रका लागि जनअभियान लेखिएको कपडासमेत भेटियो । त्यही खप्पर बोकेर मार्तडी फर्कियौँ ।’ अहिले तत्कालीन माओवादी र एमालेको एकता भई नेकपाकाे सरकार बनेकाे छ । तर, बर्बर हत्याकाण्डमा ज्यान गुमाएका लुमा गाउँका दलित र एमाले नेता रेग्मीलाई न्याय दिलाउन भने कुनै पहल भएको छैन ।

‘कहिले पाइएला न्याय ?’

स्वामीकार्तिक खापर गाउँपालिका– ४, छापु गाउँका शिवनाथ एक दिनको पैदल हिँडेर द्वन्द्वमा बेपत्ता भाइ खोज्न छ वर्षअघि सदरमुकाम मार्तडी आए । कान्छो छोरा हेर्न नपाई आमाको मृत्युपछि किरियामा बसेका बेला द्वन्द्वकालीन घटनाको अभिलेख बुझाउने सूचना सुनेपछि उनी भाइको खोजी गर्न सदरमुकाम आएका थिए । तर, उनले अहिलेसम्म न्याय पाएका छैनन् ।

५ जेठ २०६० मा माअ‍ोवादी कार्यकर्ताले उनलाई घरबाट लगेका थिए । केही महिनापछि उनका भाइ धर्मनाथ भूमिगत भएको घोषणा गरे । त्यसपछि तीन पटकसम्म उनी घर आउजाउ गरे । तर पछि उनको कुनै अत्तोपत्तो भएन । माओवादीले परिवारलाई कुनै जानकारीसमेत दिएन ।

बेपत्ता भएका धर्मनाथकी आमाको मृत्यु भइसकेको छ । ‘कान्छो छोराको अनुहार हेर्न नपाई सास जाने भो भनेर आमा रुनुहुन्थ्यो । त्यही चिन्ताले आमालाई कमजोर बनायो र लग्यो’, शिवनाथले भने, ‘आमाले अन्तिममा अर्ती दिँदा भाइको सास वा लास खोजी गर्नू भन्नुभएको थियो । आमाको इच्छा मैले पूरा गर्न सकेको छैन ।’ बाजुरामा द्वन्द्वकालमा मृत्यु भएका १ सय ५३ जनामा समेत उनको नाम छैन । बेपत्ताको सूचीमा पनि उनको नाम देखिन्न ।

 

सो गाउँबाट सत्य निरुपण तथा मेलमिलाप आयोगमा १४ जनाले मात्र उजुरी दिएका छन् । तत्कालीन स्थानीय शान्ति समितिले राखेको विवरणअनुसार मृत्यु हुनेको संख्या १ सय ५४ देखिन्छ । विस्थापित १ सय ११ जना, सम्पत्ति क्षति पुगेका १ सय १३ जना, अपहरणमा दुई जना, अंगभंगका नामा ४५ जनाले राहत लिएका छन् । तर, बेपत्ता हुनेको भने कुनै लगत छैन ।

नेपाल रेडक्रस सोसाइटीले अन्तर्राष्ट्रिय रेडक्रस (आईसीआरसी) मा चार जना बेपत्ता भएको लगत बुझाएको थियो । तीमध्ये एक भारत गएका भेटिएका छन् । अन्य तीन जना अझै बेपत्ता नै छन् । रेडक्रसमन्त्री रमबहादुर शाहीका अनुसार बेपत्ता हुनेमा साबिक वाई गाविस- ९ का धर्मनाथ, साप्पाटा- ९ का रिनारी विक र गोत्री- ४ का कालीबहादुर बम छन् ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता
Breaking News
फागुन २१ को निर्वाचन शान्तिपूर्ण बनाउने बाजुराका उम्मेदवारको प्रतिबद्धता

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई बाजुरामा स्वतन्त्र, निष्पक्ष र धाँधलीरहित बनाउने गरि बाजुराका उम्मेदवारहरुले सामूहिक प्रतिबद्धता गरेका छन्। बिहिबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा बाजुराको आयोजनामा बडीमालिका नगरपालिकाको सभाहलमा आयोजित पत्रकार सम्मेलनमार्फत उम्मेदवारहरूले ९ बुँदे संयुक्त प्रतिबद्धता पत्रमा हस्ताक्षर गरी सार्वजनिक गरेका हुन्। विज्ञापन उम्मेदवारहरूले निर्वाचनका बेला प्रचार–प्रसार मर्यादित र अहिंसात्मक बनाउने, […]

  • ५९ मिनेटutes अगाडि

भर्खरै