नागरिक रैबार/बाजुरा १६ माघ। नेकपा एमाले बाजुराले ३ महिने वडा (जरा) अभियान सञ्चालन गर्ने भएको छ । एमालेको माघ १३ गते बसेको जिल्ला कमिटीको चौथो पूर्ण बैठकले उक्त अभियान संचालन गर्ने निर्णय भएको हो ।
मंगलबार प्रेस चौतारी नेपाल बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा एमाले बाजुराले माघ १३ गतेको चाैथाे पूर्ण बैठकले गरेका निर्णयहरु सार्वजनिक गरेको हो ।
बैठकले गरेका निर्णय अनुसार पार्टीले ३ महिनासम्म वडा तहमा पार्टीको सदस्यताका लागि अनलाइन कार्यको सुरुवातबारे जानकारी दिने, टोल कमिटी गठन गरिने पार्टी सचिव काँशी विकले बताए । त्यस्तै टोलटोलमा एमाले अभियान, जनताका गुनासा, समस्या सुन्ने र समाधान गर्न छलफल गर्ने लगायतका योजना सहित तीन महिने वडा (जरा) अभियान सञ्चालन हुने उनले बताएका हुन् ।
पार्टीका हिमाली र बुढीनन्दा बाहेक सबै पालिका र ३५ वटा वडाहरुको अधिवेशन सर्वसम्मत तरिकाले नयाँ नेतृत्व चयन गर्दै सम्पन भएको पत्रकार सम्मेलनमा जानकारी गराएको छ । त्यस्तै एमालेको मिसन ०८४ लाई स्थानीयकरण गर्दै “मिसन ०८४ भिजन २१०६, पार्टी स्थापनाका १ सय बर्ष दीर्घकालिन विकास अवधारणा” तयार गर्न प्राविधिक समूह बनाउने निर्णय गरेको छ ।
पत्रकार सम्मेलनमा पार्टी जिल्ला कमिटी अध्यक्ष लाल बहादुर ओलीले अधिवेशन गर्न बाँकी रहेका पालिका र वडा अधिवेशन फागुनभित्र सम्पन्न गरी सक्ने बताएका छन् । त्यस्तै पछिल्लो समय पार्टीका नेता, पार्टीको नीति र कामलाई लिएर नेता तथा कार्यकर्ताबाट सामाजिक सञ्जालमा नकारात्मक टिका टिप्पणी गर्ने र आपसी द्धन्द्ध बढाउने खालका क्रियाकलापहरु देखिएको भन्दै यस बिषयको बैठकमा विस्तृत छलफल भएको छ अध्यक्ष ओलीले भने, ।
प्रेस चौतारी नेपाल, बाजुराका अध्यक्ष मदन विकको अध्यक्षतामा सञ्चालन भएको पत्रकार सम्मेलनमा प्रमुख अतिथि एमाले जिल्ला कमिटी अध्यक्ष लालबहादुर ओली थिए भने अतिथिमा पार्टी सचिव काशी विक, नेपाल पत्रकार महासंघ बाजुराका सचिव प्रेम रौले लगायत जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन प्रेस चौतारी नेपाल बाजुराका सचिव रमित विकले गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु