




नेकपा–एमाले आज आन्तरिक एवं बाह्य दुवै मोर्चाबाट चौतर्फी दबाब झेलिरहेकै बेला पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले जारी गरेको लामो, बहुआयामिक तर अन्ततः विवाद र प्रतिस्पर्धा जन्माउने विज्ञप्तिले पार्टीभित्र अनावश्यक तरंग र द्वन्द्वको बीउ रोपिदिएको छ । पार्टीले तत्कालै निर्वाचनमा जाने निर्णय गरिसकेको, राष्ट्र राजनीतिक संक्रमणको निर्णायक मोडमा पुगेको, र विदेशी तथा स्वदेशी दुवै शक्तिहरूले एमाले र अध्यक्ष ओलीमाथि निरन्तर प्रहार गरिरहेको वर्तमान अवस्थामा यस्तो विज्ञप्तिले पार्टीलाई सुदृढ बनाउँछ कि कमजोर? यही हो मूल प्रश्न ।


नेतृत्व हस्तान्तरणको बहानामा नेतृत्व अस्थिरता सिर्जना ।
पोखरेलले ‘आन्तरिक लोकतन्त्र’ को नाममा नेतृत्व हस्तान्तरणको अपेक्षा व्यक्त गरे पनि वास्तविकता के हो भने एमाले अहिले नेतृत्व परिवर्तन होइन, नेतृत्वको एकता र दृढतामा केन्द्रित भएर मात्रै राष्ट्रिय शक्ति बन्न सक्छ । नवौं महाधिवेशनपछि माधव नेपालले पार्टी फुटाए । दसौंपछि भीम रावलले असहयोग र अन्योल सिर्जना गरे । अब एघारौं महाधिवेशनअघिका दिनहरूमा फेरि प्रतिस्पर्धा र मनोवैज्ञानिक द्वन्द्व उत्पन्न गर्ने प्रयास । के यो पार्टी मजबुत बनाउने बाटो हो ? कि फेरि कमजोर बनाउने चक्र दोहोर्याउने तयारी ? आजको प्रश्न ‘कसले प्रतिस्पर्धा गर्छ ?’ होइन, ‘कसले पार्टी बचाउन सक्छ?’ हो । त्यसको उत्तर आजको नेपाली राजनीति, राष्ट्रिय परिस्थिति र भू–राजनीतिक उतारचढावले स्पष्ट देखाइदिएको छ एमालेलाई अहिले पनि आधार, दिशा र ढाल चाहिने हो भने त्यो केपी शर्मा ओलीकै नेतृत्व हो ।
पार्टीमाथिको भीत्र–बाहिरको प्रहार निस्तेज पार्न एकता, प्रतिस्पर्धा होइन ।
पोखरेलले विज्ञप्तिमा जेन–जी आन्दोलन, घटनाक्रम, छानबिन, लोकतान्त्रिक प्रक्रियालगायत विषय उठाएका छन् । तर वास्तविकता के हो भने यी मुद्दाहरूलाई लिएर विदेशी तथा स्वदेशी शक्तिहरूले एमालेमाथि अत्यन्त योजनाबद्ध प्रहार गरिरहेका छन् । नैतिक र राजनीतिक रूपमा ओली नेतृत्वलाई कमजोर पार्न, पार्टीलाई द्वन्द्वतिर धकेल्न । यिनै दिन यस्तै शक्तिहरू खुसी हुनेगरी पार्टीभित्र प्रतिस्पर्धा घोषणा गर्नु, के त्यो राष्ट्रीय शक्ति निर्माणको बाटो हो ? कि पार्टीलाई आन्तरिक रूपमा विभाजित पार्ने बहाना ? एमालेमाथि प्रहार भइरहँदा पार्टीमाथी, ओलीमाथि आक्रमण हुनु भनेको राष्ट्रिय स्वाधीनतामाथि आक्रमण हो, किनकि ओलीले भारत–नेपाल सीमाको नक्सा अद्यावधिक गरे, MCC, रणनीतिक साझेदारीजस्ता मुद्दामा राष्ट्रिय स्वार्थलाई प्राथमिकता दिए, विदेशी शक्ति–समिकरणमा नझुकेर राष्ट्रिय हितमा कठोर निर्णय लिए । यस्तो कठोर, सैद्धान्तिक, दृढ नेतृत्वलाई कमजोर पार्ने हतारो किन ?
वरिष्ठताले होइन वर्तमान परिस्थितिले नेता छान्छ ।
पोखरेलजस्ता अनुभवी नेता एमालेका सम्पत्ति हुन् । तर समय राजनीतिक नेतृत्व छान्छ, नेतृत्व समयले बनाउँछ, परिस्थिति नेतृत्व निर्धारण गर्छ । आजको परिस्थिति के भन्छ ? राष्ट्रिय राजनीति संवैधानिक द्वन्द्वमा छ । अन्तर्राष्ट्रिय शक्ति–स्पर्धा नेपालभित्रै छिरिसकेको छ । एमालेका विरुद्ध गठबन्धन गतिविधि, प्रहार खुलेआम भइरहेको छ । जेन–जी मुद्दालाई पार्स गरेर पार्टी–विरोधी गठबन्धन बनाइएको छ । चुनाव नजिकिँदै गएको छ, संगठनमा स्थिरता अपरिहार्य छ । यस्तो संवेदनशील घडीमा नेतृत्व ‘बदलिने’ होइन ‘कसिलो भएर अडिने’ समय हो । त्यसैले पार्टीभित्र सत्ता–प्रतिस्पर्धा होइन साझा मोर्चा, एकता र दृढताको अपरिहार्यता आजभन्दा स्पष्ट कहिल्यै थिएन ।
‘हटेर सहयोग गर्नुहुन्छ’ कि ‘उम्मेदवारी दिएर पार्टी कमजोर बनाउनुहुन्छ’?
बरिष्ठ उपाध्यक्ष पोखरेलले नै बारम्बार समन्वय, सामूहिकता, सहकार्य को कुरा गरेका छन् । यही सिद्धान्त मान्ने हो भने उनी अहिले गर्नुपर्ने सही निर्णय त्यही हो प्रतिस्पर्धाबाट होइन, एकताबाट योगदान दिने । एमालेलाई विभाजन होइन, स्थिरता चाहिएको छ । बाह्य चोटसँग लड्ने कि आन्तरिक घाउ बढाउने ? अध्यक्ष लड्ने कि संगठन लड्ने ? व्यक्तिगत आकांक्षा बलियो कि पार्टी ? उत्तर प्रष्ट छ पार्टी ! त्यसैले पोखरेलले अहिले सबैभन्दा ठूलो योगदान दिन सक्छन् अध्यक्ष पदको प्रतिस्पर्धा छाडेर निसर्त, निःस्वार्थ रूपमा ओली नेतृत्वलाई सबल बनाइदिएर । यदि यस्तो स्थिति नआयो भने, पार्टीभित्र अनावश्यक तनाव भयो भने, इतिहासले जिम्मेवार कोही एक व्यक्तिलाई होइन, पार्टी नै पिरोलिनेछ ।
‘सक्दिन भने सहर्ष विदाई’ राजनीतिक शिष्टताको सर्वश्रेष्ठ अभ्यास
पोखरेल स्वयं वरिष्ठ नेता तर राजनीतिमा ठूला नेता बन्ने बाटो कहिलेकाहीँ फर्किएर बाटो खाली गरिदिनु पनि हुन्छ । एमालेमा अब ‘नयाँ पुस्ता, पुराना पुस्ता’ को वाद–विवाद होइन, निर्णायक राष्ट्रिय शक्ति निर्माणको सम्वाद आवश्यक छ । त्यसका लागि ओली नेतृत्व अपरिहार्य छ । त्यसैले यदि सहयोग गर्न सकिन्छ भने निसर्त सहयोग गर्नुहोस्, सकिँदैन भने सहर्ष विदाई लिनुहोस् किनकि पार्टी देशभन्दा ठूलो हुन सक्दैन र व्यक्तिगत आकांक्षा पार्टीभन्दा ठूलो हुनै सक्दैन ।
राष्ट्रिय शक्ति निर्माणको आधार ओली नेतृत्वमा एकजुट एमाले
एमाले सबैभन्दा व्यवस्थित संगठन, जनआकर्षण हुने पार्टी, वैचारिक निरन्तरता भएको वाम राजनीति शक्ती, राष्ट्रियताको धरोहर र स्थिर नेतृत्वको प्रष्ट विकल्प हो । त्यसैले अहिले एमालेलाई चाहिएको छ ओली केन्द्रित एकता, दृढता र संगठन सुदृढीकरण । विकल्प छैन।
निष्कर्ष
पोखरेलको विज्ञप्तिले उठाएका धेरै मुद्दा गम्भीर छन्, तर समाधान प्रतिस्पर्धामा होइन, एकतामा छ । आज एमालेलाई बचाउने कि फुटाउने ? ओलीलाई बलियो बनाउने कि कमजोर ? राष्ट्रलाई स्थिर बनाउने कि अस्थिर ? यिनै प्रश्नहरूको समाधानको घडी हो । त्यसैले बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलज्यू, यो घडी तपाईंको उम्मेदवारी घोषणा गर्ने होइन, घोषणा फिर्ता लिएर अध्यक्ष ओलीको नेतृत्वमा पार्टी एकजुट पार्ने ऐतिहासिक कदम चाल्ने अवसर हो । पार्टी बलियो होस्, देश बलियो होस् यो अम कार्यकर्ताको चाहाना हो । राजनीति र संगठनको क्षेत्रमा समय, समर्पण र निरन्तरता कुनै सामान्य क्षमताले उपलब्ध हुँदैन । केपी शर्मा ओलीले देखाएको त्यस्तो अद्वितीय लगन र परिश्रम केवल पार्टी वा राज्यका लागि होइन, सम्पूर्ण कार्यकर्तामा प्रेरणा र विश्वास जगाउने शक्ति हो । उनी नखाएर, नसुतेर रातको ३ बजेसम्म योजना बनाउने, पार्टी र राष्ट्रका चुनौती बुझेर कार्यान्वयन गर्ने क्षमताका धनी हुन् जसलाई प्रतिकृति बनाउनु लगभग असम्भव छ । तथ्यपरक दृष्टिले हेर्दा, यस्तो नेतृत्वले मात्र संगठनात्मक स्थिरता, दीर्घकालीन नीति निर्धारण र जनसमुदायसँगको सशक्त सम्बन्ध सुनिश्चित गर्न सक्छ । अरूले नियत वा समयले भरिपूर्ण भूमिका निभाए पनि, त्यस्तो अनुशासन, जिम्मेवारी र सक्रियता जसरी ओलीले पार्टी र राष्ट्रका लागि खर्च गरेका छन्, त्यसको तुलनामा सीमित रहन्छ । त्यसैले एमाले र राष्ट्र दुवैको बलियो भविष्यका लागि, ओलीको सक्रिय नेतृत्व अपरिहार्य छ ।
लेखक तिमिल्सिनाका यि निजि बिचार हुन् ।



फेसबुक प्रतिक्रियाहरु