



त्रिभुवन विश्वविद्यालयका नियम तथा स्ववियु व्यवस्थापनसम्बन्धी विभिन्न त्रुटि र अनियमितता सच्याउन विद्यार्थी नेता धर्मराज तिमिल्सिनाले विश्वविद्यालय प्रशासनसँग माग गरेका छन्।


तिमिल्सिनाले त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियम २०५० को परिच्छेद ८२, नियम २४८ मा “संघ–संगठन त्याग्न नपाइने” प्रावधान थप्न माग गरेका हुन्।
उनका अनुसार, निर्वाचित स्ववियु पदाधिकारीले पदावधि पूरा नहुन्जेल संगठन परिवर्तन गर्न नपाउने व्यवस्था स्पष्ट हुन आवश्यक छ। संगठन त्यागेमा पद स्वतः रिक्त हुने र रिक्त पद सोही प्रक्रियाबाट पुनः भरिने व्यवस्था सुनिश्चित गर्नुपर्ने उनको माग छ।
उनले २०७४ साउन २९ मा त्रिवि सभाले संशोधन गरेको नियम ३४५(३) पछिल्लो प्रकाशित प्रतिमा हटाइएको भन्दै—यो प्रावधान किन, कसरी, कसले हटायो भन्ने विषयमा तत्काल छानबिन गरी सही संशोधन पुनःस्थापना गर्न विश्वविद्यालयलाई ध्यानाकर्षण समेत गराएका छन्।
यस्तै, त्रिवि शिक्षक–कर्मचारी सेवा सम्बन्धी नियम अनुसार ३३ प्रतिशत महिला सहभागिता हुनुपर्नेमा वर्तमान सहभागिता केवल २३ प्रतिशत मात्र रहेको भन्दै उनले कानुनअनुसार महिला सहभागिता अभिवृद्धि गर्न पनि माग गरेका छन्।
स्ववियु कोषमा दुरुपयोग बढिरहेको उल्लेख गर्दै, तिमिल्सिनाले स्वतन्त्र ‘स्ववियु कोष परिचालन कार्यविधि’ निर्माण गरी कोषको पारदर्शिता र नियमित लेखापरीक्षण अनिवार्य बनाउन त्रिवि प्रशासनसग आग्रह गरेका छन्।




फेसबुक प्रतिक्रियाहरु