नागरिक रैबार/बाजुरा १३ फागुन ।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर २ का ३ वटा विद्यालयमा अध्ययनरत विपन्न विद्यार्थीहरुलाई विद्यालय पोषाक तथा न्यानो लुगा वितरण गरिएको छ ।
बडीमालिका नगरपालिका वडा नम्वर २ को समन्वय र अमेरिकी नागरिक जिम्मेरी वरेलीको सहयोगमा वडाभित्रका ३ वटा विद्यालयका ३ सय १८ जना विपन्न विद्यार्थीहरुलाई विद्यालय पोषाक तथा न्यानो लुगा वितरण गरिएको हो ।
सत्यवादी मावि भौनेराका २ सय ७४, विपि आधारभुत विद्यालय घटमुनाका ३४ र कैलाश आधारभुत विद्यालय घागरका १० गरी ३ सय १८ जना विपन्न विद्यार्थीहरुलाई चिसो छल्न विद्यालय पोशाक तथा न्यानो लुगा वितरण गरिएको वडा नम्वर २ का वडा अध्यक्ष डम्वरबहादुर महतले जानकारी दिएका छन् ।
वडा अध्यक्ष महतका अनुसार अहिले पहिलो चरणमा विद्यार्थीहरुका लागि स्वीटर, ट्रयाकसुट र टोपी वितरण गरिएको र अर्कोपटक जुत्ता र मोजा वितरण गर्ने तयारी भएको छ ।
अमेरिका निवासी जिम्मेरी वरेल्लीको सहयोग र वडा अध्यक्ष डम्वरबहादुर महतको पहलमा प्रदान गरिएको न्यानो लुगा र विद्यालय पोसाकले वडा भित्रका ३ वटै विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक क्षेत्रमा ठुलो सहयोग पुगेको सत्यवादी माविका प्रधानाध्यापक मानबहादुर हमालले बताएका छन् ।
३ वटै विद्यालयका विपन्न विद्यार्थीहरुलाई सत्यवादी माविमा आज एक औपचारिक कार्यक्रमका वीच बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्का, २ का वडा अध्यक्ष डम्बरबहादुर महत र सत्यवादी माविका प्रधानाध्यापक मानबहादुर हमालले विद्यार्थीहरुलाई विद्यालय पोशाक तथा न्यानो लुगा वितरण गरेका थिए ।
लुगा वितरण कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बडीमालिका नगरपालिकाका नगरप्रमुख अमरबहादुर खड्काले नगरपालिकाको सेवा क्षेत्र भित्रका सवै विद्यालयहरुको शैक्षिक सुधारका लागि निरन्तर लागि रहेको बताएका छन् । उनले सत्यवादी मावि शैक्षिक क्षेत्रमा पालिकाभित्रकै एक नमुना विद्यालयका रुपमा अगाडि बढेको भन्दै प्रसंसा गरेका थिए ।
सत्यवादी माविका शिक्षक अभिभावक संघका अध्यक्ष मदनराज पण्डितको अध्यक्षतामा संचालन गरिएको उक्त कार्यक्रमको प्रमुख अतिथि बडीमालिका नगरपालिकाका नगरप्रमुख अमर खड्का रहेका थिए ।
त्यस्तै कार्यक्रममा २ का वडा अध्यक्ष डम्वर महत, सत्यवादी माविका प्रधानाध्यापक, २ का वडा सचिव विरबहादुर चंदारा, पत्रकार महासंघका सहसचिव जनक बोहरा लगायत शिक्षक, विद्यालयका अभिभावक, विद्यार्थी सहभागि भएका थिए । कार्यक्रमको संचालन सत्यवादी माविका शिक्षक यज्ञ रोकायाले गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु