धनगढी । बैतडीमा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । शनिबार बिहान सिगास गाउँपालिका-१ मा सुपप्र ०१९००१ च ४०२८ नम्बरको जिप दुर्घटना हुँदा गम्भीर घाइते भएकी सिगास-१ की १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको मृत्यु भएको प्रहरीले बताएको छ । उनीहरुको डडेल्धुरा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीले बताएको छ ।
दुर्घटनामा अन्य चार जना गम्भीर घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयका अनुसार ४० वर्षीया तुलसी धामी, १६ वर्षीया निरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी गम्भीर घाइते भएका र उनीहरुको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ ।
जिपमा चालकसहित ८ जना सवार रहेकामा जिप चालक फरार रहेका र उनको खोजी भइरहेको प्रहरीले बताएको छ । दुर्घटनाका क्रममा झ्यालबाट हाम फालेकी धना धामी सकुशल रहेको प्रवक्ता पाण्डेयले बताए ।
गणानबाट इराना जाँदै गर्दा सिगास-१ को माँडौ भन्ने स्थानमा दुर्घटनाग्रस्त भएको जिप सडकबाट करिब ५ सय मिटर तल खसेको जनाइएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रवक्ता पाण्डेयले जानकारी दिए ।
फेसबुक प्रतिक्रियाहरु