काठमाडौँ । सोमबारदेखि दसैँ सुरु भएको छ । यससँगै काठमाडौँ उपत्यकाबाट बाहिरी जिल्लामा र अन्य मुख्य सहरबाट गाउँमा जानेहरूको चहलपहल पनि बढ्न थालेको छ ।
उपत्यकाबाट बाहिरिनेहरूको सङ्ख्या हरेक वर्ष करिब उस्तै हुन्छ, त्यस्तै हुन्छ यात्राको कष्ट पनि । देशभरका धेरै सडकको अवस्था बेहाल छ । दसैँकै मुखमा हवाई भाडा पनि सामान्य अवस्थाको भन्दा ‘डबल’ हुन्छ । यसरी यात्रुहरू दोहोरो मारमा पर्नु हरेक दसैँको नियति नै हो ।
अरनिको राजमार्ग र मुग्लिङ–नारायणगढ सडकखण्डमा हालै पहिरोले अवरोध गर्यो । पृथ्वी राजमार्ग, बीपी राजमार्ग, अरनिको राजमार्ग, मुग्लिङ–नारायणगढ सडकखण्ड लगायतका मुख्य लाइफलाइनहरू सामान्य वर्षा हुनेबित्तिकै अवरुद्ध हुने गरेका छन् । पहिरो, सडक भासिने र बाढीको समस्याले सडक यातायातको भरपर्दो विकल्प बन्न सकेको छैन ।
दसैँमा काठमाडौँ उपत्यका छाड्नेहरूको सङ्ख्या उच्च हुने र त्यही बेला सडकमार्गको ठेगान नहुने जोखिमले हवाई भाडादर अहिले आकासिएको छ । अन्य समयको भन्दा झण्डै दोब्बरसम्म भाडा बढेको छ ।
पछिल्लो तीन-चार दिनदेखि अवरुद्ध रहेको अरनिको राजमार्गअन्तर्गत भोटेकोशी गाउँपालिका–२ स्थित कोदारी खण्डमा पहिरोका कारण अवरुद्ध सडक आइतबार बेलुका बल्ल खुलेको छ । सडक डिभिजन चरिकोटका सूचना अधिकारी इन्जिनियर सुरज महर्जनका अनुसार पाँच स्थानमा अवरुद्ध भएकोमा चार स्थानको मर्मत कार्य सम्पन्न भइसकेको छ ।
मुग्लिङ–नारायणगढ सडक
तुइन खोला नजिकै ५० घण्टादेखि पहिरोका कारण अवरुद्ध मुग्लिङ–नारायणगढ सडक आइतबार दिउँसो मात्रै एकतर्फी खुलेको छ । डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार शुक्रबार साँझदेखि निरन्तर खसेको पहिरोले अवरुद्ध भएको सडक एकतर्फी सञ्चालनमा आए पनि यो खण्ड पूर्ण रूपमा सुरक्षित नभएको र यात्रामा जोखिम कायमै रहेको यात्रुहरू बताउँछन् ।
यसरी अत्यावश्यक सडक लामो समय अवरुद्ध हुँदा हजारौँ यात्रुको समय र पैसाको बर्बादी भएको छ।
यातायात व्यवस्था विभागले समेत आइतबार एक सूचना सार्वजनिक गर्दै मनसुन सक्रिय रहेकाले र वर्षाका कारण सडक अवरुद्ध भइरहेकाले सडकको अवस्था बुझेर मात्र यात्रा गर्न अनुरोध गरेको छ । नेपालीहरूको महान् चाड दसैँ, तिहार र छठ नजिकिँदै गर्दा अधिकांश यात्रुहरूले आ–आफ्नो थातथलो जान इच्छुक रहेको अवस्थामा यस्तो सल्लाह आउनुले सडकको अविश्वसनीयतालाई थप पुष्टि गरेको छ । विभागले यात्रा गर्नुपूर्व आवश्यक सतर्कता अपनाउन यात्रुहरूलाई आग्रह गरेको छ ।
दसैँमा धनगढी ओर्लेर डडेलधुरा जाने लक्ष्य राखेका शिवराज महरालाई अहिले ठुलो तनाव छ । ‘न गाडीमा जान सकिन्छ । गाडीमा जाँदा बाटोको ठेगान नभएर पाँच दिन पनि लाग्न सक्छ, त्यसमाथि अहिले अरनिको र मुग्लिङको हालत हेर्दा कतै बिचमै अलपत्र परिने हो कि भन्ने डर छ,’ उनले गुनासो पोखे ।
फूलपातीको अघिल्लो दिनका लागि अहिले नै बुकिङ गर्दा धनगढीको हवाई भाडा १२ हजारदेखि १४ हजार ३ सय रुपैयाँ पुगेको छ । महरा भन्छन्, ‘बाटो राम्रो र भरपर्दो भइदिए प्लेनमा जान पर्दैन थियो । प्लेनमै नजाने हो भने धेरै खर्च जोगिन्थ्यो, तर बाध्यता छ ।’
काठमाडौँमा पढ्दै साइड-जब गर्दै आएकी राधा पौडेल दसैँ मनाउन नेपालगञ्जस्थित आफ्नो घर फर्किँदै छिन् । उनी भन्छिन्, ‘अन्तर्राष्ट्रिय यात्रामा पनि भाडा यति महँगो हुँदैन होला । त्यहाँ कम्तीमा बाटोको ठेगान त हुन्छ । तर यहाँ काठमाडौँबाट नेपालगञ्जको एकतर्फी भाडा ९ हजार ७ सयदेखि १३ हजारसम्म पुगेको छ, जबकि सामान्य समयमा ६ हजार जति लाग्थ्यो ।’
दसैँका लागि सुर्खेत जाने योजना बनाएका सुमन थापा सरकारी जागिरे हुन् । उनको छुट्टी सीमित छ । ‘पहिला बसमा जाँदा बाटो बिग्रिएर दुई रात बासमै बित्यो, त्यसपछि रोगले समात्यो,’ थापाले आफ्नो अनुभव सुनाए, ‘अहिले मुग्लिङ–नारायणघाट जस्तो लाइफलाइन ५० घण्टा अवरुद्ध हुँदा हजारौँ यात्रुले कति सास्ती भोगे होलान् ? अब प्लेनको टिकट ९ हजार ६ सयदेखि १३ हजारसम्म पुगेको छ । यो सिधा लुट होइन र ?’ उनको आक्रोश थियो ।
ललितपुरमा सानो व्यापार गर्ने सञ्जय श्रेष्ठ दसैँमा घर जान जान र फर्किन टिकटको जोहो गर्दैछन् । ‘घर जान मन छ, तर बाटोले दुःख दिन्छ,’ उनले भने, ‘अहिले एकतर्फी खुलेको मुग्लिङ–नारायणगढको अवस्था हेर्दा पूरै सडक खुल्न कति लाग्ने हो, ठेगान छैन । यस्तोमा गाडीको यात्राको भर कसरी गर्ने ? दसैँका लागि एकतर्फी भाडा ७ हजारदेखि साढे ८ हजारसम्म पुगेको छ ।’
भक्तपुरमा सिलाई कटाइको काम गर्ने अनिता राईको घर भद्रपुर नजिकैको गाउँमा छ । ‘दसैँमा घर नपुगी मनले मान्दैन, तर यो भाडाले मन अमिलो बनायो,’ अनिताले दुखेसो पोखिन् । काठमाडौँबाट भद्रपुरको भाडा अहिले १० हजार ३ सयदेखि १२ हजारसम्म पुगेको छ । ‘सडकको यात्रा गर्दा आधा बिदा बाटोमै सकिन्छ, अहिले अरनिको राजमार्गमा जस्तै ३–४ दिन अलपत्र परिने हो कि भन्ने चिन्ता छ,’ उनले भनिन् ।
दसैँमा छोराछोरीलाई लिएर विराटनगरस्थित घर फर्किने तयारीमा रहेका नवीन खनाललाई परिवारसहितको यात्रा खर्चले पिरोलेको छ ।
‘हामी चार जनाको मात्रै भाडा हेर्दा त मुखै टर्रो आयो,’ उनले भने, ‘फूलपातीको अघिल्लो दिनका लागि काठमाडौँबाट विराटनगरको भाडा ८ हजारभन्दा माथि देखिन्छ । बालबच्चा सानै भएकाले सडकको जोखिमपूर्ण यात्रा सम्भव नहुने हुँदा महँगो भाडा तिरेरै जानुपर्ने बाध्यता छ, तर सडकको यो दुर्दशाले गर्दा दसैँको उमङ्ग नै मर्न थाल्छ ।’
दसैँको बेला घर फर्किने धेरै यात्रुहरू सडकको दुरावस्था, राजमार्गहरूमा देखिएको निरन्तरको अवरोध र हवाई भाडाको अत्यधिक वृद्धिको चेपुवामा छन् । सरकारले सडक मर्मत र हवाई भाडा नियमनमा तत्काल ध्यान नदिए यसपालिको दसैँ धेरैका लागि खुसी होइन, तनावको पर्व बन्न सक्छ । रातोपाटीबाट
फेसबुक प्रतिक्रियाहरु