चाडपर्वलाई लक्षित गर्दै बाजुराको गौमुल गाउँपालिकामा पनि सहुलियत दरमा चामल बिक्री सुरु गरिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मार्तडीले गाउँपालिकाको समन्वयमा गाउँमै चामल बिक्री वितरण थालेको हो।
यसअघि स्थानीयहरूलाई सहुलियत दरको चामल लिन मार्तडीसम्म आउनुपर्ने बाध्यता थियो। अब गाउँमै बिक्री सुरु भएपछि नागरिकलाई सहज भएको छ।
गाउँपालिकाकी उपाध्यक्ष सीता थापाका अनुसार, बजारको चर्को मूल्यमा चामल किन्नुपर्ने समस्या समाधान गर्न गाउँपालिकाको पहलमा सहुलियत बिक्री सुरु गरिएको हो। उनले स्थानीयलाई सहुलियत दरमा उपलब्ध चामल खरिद गर्न र बजारको बढी मूल्य तिरेर चामल नकिन्न आग्रह गरेकी छन्।
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड बाजुराका अनुसार, प्राविधिक कारणले केही ढिलो भए पनि अब नियमित रूपमा वितरण भइरहेको छ। गौमुलमा प्रति व्यक्ति ५० केजीसम्म चामल वितरण हुनेछ र प्रत्येक केजीमा ५ रुपैयाँ छुट दिइने छ।
त्यस्तै, बाजुराका पाण्डुसैनलगायत अन्य बिक्री केन्द्रहरूबाट पनि सहुलियत चामल बिक्री वितरण भइरहेको कम्पनीले जनाएको छ। सहुलियत पसलका लागि जिल्लामा ३ हजार ५ सय क्विन्टल चामल र २ सय क्विन्टल चिनी कोटा छुट्याइएको छ। बिक्री वितरण गति सुस्त रहेकाले आवश्यक परे सहुलियत बिक्री अवधि थपिने कम्पनीको भनाइ छ।
फेसबुक प्रतिक्रियाहरु