नेपाल विद्यार्थी संघ (नेविसंघ) बाजुराले भदौ २३ र २४ गते काठमाडौंसहित देशभर भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीमा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन माग गरेको छ।
नेविसंघको केन्द्रीय सर्कुलरअनुसार बाजुराले प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद पौडेलमार्फत अन्तरिम सरकारलाई सरकारी संरचना र नेताहरूको घर जलाउने तथा ध्वस्त पार्नेहरूविरुद्ध कारबाहीको मागसहित ज्ञापनपत्र बुझाएको नेविसंघ बाजुराका अध्यक्ष जनक थापाले बताए।
अध्यक्ष थापाले आन्दोलनको नाममा सरकारी सम्पत्ति, कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका लगायतका संरचनामाथि भएको आक्रमण कानूनविरुद्धको कृत्य भएको उल्लेख गर्दै संलग्नहरूलाई तत्काल पक्राउ गरी कारबाही गर्नुपर्ने माग राखेका छन्।
नेविसंघ बाजुराले बुझाएको ६ बुँदे ज्ञापनपत्रमा पार्टीका नेताहरूमाथि गरिएको योजनाबद्ध आक्रमण र सार्वजनिक संरचना ध्वस्त पारेको घटनालाई “निन्दनीय र स्वीकार्न नसकिने” भन्दै कडा कदम चाल्न सरकारलाई आग्रह गरिएको छ।
शुक्रबार अध्यक्ष थापा नेतृत्वको टोलीले प्रमुख जिल्ला अधिकारीमार्फत अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीलाई सम्बोधन गरिएको ज्ञापनपत्र बुझाएको थियो। सो अवसरमा बाजुरा क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सचिव बलबहादुर खड्का, नेविसंघ नेता विरेन्द्र अयडीलगायत सहभागी थिए।
फेसबुक प्रतिक्रियाहरु