राष्ट्रपति रामचन्द्र पौडेलले भयरहित वातावरणमा स्वतन्त्र, स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने विश्वास जगाउन सरकार र चारै सुरक्षा निकायका प्रमुखलाई आग्रह गरेका छन्।
राष्ट्रपति भवन शितल निवासमा अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीसहित मन्त्री र सुरक्षा निकाय प्रमुखहरूको सहभागितामा शनिबार बसेको छलफलमा उनले राजनीतिक दल र आम नागरिकलाई चुनावप्रति आश्वस्त पार्नु सुरक्षा निकायको पहिलो दायित्व भएको उल्लेख गरे।
राष्ट्रपति पौडेलले “भदौ २४ गते लुटिएका हतियार र भागेका कैदीबन्दीलाई अविलम्ब नियन्त्रणमा लिनुपर्छ,” भन्दै शान्ति–सुरक्षा प्रत्याभूति भए मात्र निर्वाचन सम्भव हुनेमा जोड दिए, राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
प्रधानमन्त्री कार्कीले स्वतन्त्र र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन सरकारले कुनै कसर बाँकी नराख्ने बताउँदै सुरक्षा निकायलाई आवश्यक सम्पूर्ण साधनस्रोत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरिन्।
सुरक्षा निकाय प्रमुखहरूले विगतमा झनै जटिल परिस्थितिमा पनि शान्तिपूर्ण मतदान सम्पन्न गराएको स्मरण गर्दै यसपटक पनि पूर्ण तयारीसहित जिम्मेवारी निर्वाह गर्न तयार रहेको आश्वासन दिए।
छलफलमा प्रधानमन्त्री कार्की, अर्थमन्त्रीबाहेकका सबै मन्त्री, प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी महानिरीक्षक चन्द्र कुँवेर खापुङ, सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की सहभागी थिए।
फेसबुक प्रतिक्रियाहरु