होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

बुधबार, माघ २, २०८१
जोडिनुहोस
  • होमपेज
  • सूचना-प्रविधि
  • हिमालीको दुर्गम गाउँ पाँडीमा फोरजी सेवा संचालनमा आयो
सूचना-प्रविधि

हिमालीको दुर्गम गाउँ पाँडीमा फोरजी सेवा संचालनमा आयो

  • नागरिक रैबार
हिमालीको दुर्गम गाउँ पाँडीमा फोरजी सेवा संचालनमा आयो

नागरिक रैबार/बाजुरा २ माघ । बाजुराको हिमाली गाउँपालिका ६ पाडीगाउँमा नेपाल टेलिकमको फोरजि सेवा संचालनमा आएको छ । यस अघि पाँडी गाउँमा सामान्य फोन सेवा बाहेक अन्य सुविधा थिएन् । सोमबार देखि नेपाल टेलिकमको फोरजि सेवा गाउँमा सञ्चालनमा आएपछि स्थानीय खुसी भएका छन् ।

हिमाली गाउँपालिका देशकै अति विकट पालिकाका रुपमा परिचित छ । बाजुराका नौ वटा स्थानीय तहमध्ये सबैभन्दा विकट र विकासको सुविधा पुग्न नसकेको पालिका पनि हिमाली नै हो । हिमालीमा पनि साविक बिच्छ्या र रुगीन गाउँविकास समिति अन्र्तगत पर्ने वडाहरु दुरी र विकास दुबैले टाढा छन् र पछाडि छन् ।

तीनै गाउँहरुमा विजुली बाल्ने प्रयास, सडक पुग्ने संकेत र फोन सहीतको फोरजी इन्टरनेट सेवा सञ्चालनमा आएपछि स्थानीयले विकास गाउँ पुगेको आभाष गर्न थालेका छन् । गाउँपालिकाले वडामा फोरजी सेवा विस्तार गर्नुलाई ठूलो सफलता ठानेको छ ।

विज्ञापन

भूगोल र सडक सञ्जालको समस्याले सामान्य विकासको अनुभूति गराउन समस्या हुने गाउँमा फोरजी सञ्चालन पछि धेरै ठूलो उपलब्धीका रुपमा पालिकाले लिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राज भण्डारीले बताएका छन् । पालिकाका प्रत्येक वडामा फोरजी सेवा जडान गर्ने र स्थानीयलाई इन्टरनेट सेवाको पहुँचमा पुर्याउने पालिकाको लक्ष्य पुरा भएको उनि बताउँछन् ।

यहाँका स्थानीय मोबाइलमा कुरा गर्न पनि डाँडा, अल्गो रुख खोज्न बाध्य थिए । अहिले भने घरमै बसेर आरामले कुरा गर्न सक्ने भएका छन् । यसले निकै सुविधा दिएको अनुभूति स्थानीयले गरेका छन् । फोटा र भिडियो देखिने सुविधा पुगेकोमा खुसी लागेको स्थानीयले बताएका छन् ।

कम क्षमताको सोलारबाट नै फोन सेवाका टावर जडान गरिँदा फोन सेवा समेत अनियमित थियो । त्यो पनि घाम लागेका बेला मात्रै फोन गर्नु पर्ने बाध्यता थियो । तर पालिकाले पाडीमा भने ठूलै क्षमताको सोलार पाटा जडान गरेको छ ।

हिमालीको भौगोलिक अवस्था अन्य स्थानीय तहको भन्दा निकै फरक छ । विकास गर्न सहज छैन् । ढुवानीमा समस्या छ । सानो लगानीले केही गर्न सक्ने अवस्था नै पालिकामा छैन् । जेनतेन विद्युत्, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, सञ्चारलगायतका सुविधा विस्तारमा लागि परेको पालिका अध्यक्ष गोविन्द्र बहादुर मल्लको भनाई छ ।

पालिकाले विगत पाँच वर्षदेखि नेपाल टेलिकमको केन्द्रीय कार्यालय काठमाडौँ, प्रदेश कार्यालय अत्तरिया जिल्ला कार्यालय बाजुरासँग निरन्तर पत्राचार, प्रत्यक्ष भेटघाट र अनुरोध तथा समन्वय गर्दै आएको थियो । त्यसकै निरन्तरता गत वैशाखदेखि पाडीमा टावर निर्माण कार्य सुरु गरिएको हो ।

फोरजीसहितको टेलिफोन सेवा सञ्चालन भएसँगै सरकारी तथा गैरसरकारी कार्यालय, स्वास्थ्य र शिक्षा क्षेत्रमा पनि निकै सहज भएको छ । अबदेखि यहाँका विद्यालय डिजिटल शिक्षा, अनलाइन शिक्षा र स्वास्थ्यमा पनि अनलाइन सेवा सुरु गर्ने तयारीमा पालिका देखिएको छ ।

हिमालीको धुलाचौरमाथि डाँडामा पालिकाको १५ लाख रुपियाँ लगानी गरेर टावर निर्माण गरेपछि यहाँ फोरजी सेवा सञ्चालन भएको थियो । सो सेवा अहिले पाडीमा पनि सञ्चालन भएको छ । केही समयमै हिमाली गाउँपालिको १, २, ३, ४, ५, ६ र ७ गरेर सबै वडामा टावर र इन्टरनेटसहित टेलिफोन सेवा विस्तार गर्ने योजना पालिकाले अघि सारेको छ ।

गाउँपालिकाले हिमालीका दुर्गम गाउँमा इन्टरनेट सुविधा जडानको विषयलाई ठुलै उपलब्धीका रुपमा हेरेको छ । सुविधा जडानसँगै यहाँका स्थानीयको जीवनशैली केही नयाँ र फरक हुने विश्वास पालिकाको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार