नागरिक रैबार/बाजुरा २८ पुस । बाजुराको बुढीगंगा नगरपालिकाको ११ औं नगरसभा सम्पन्न भएको छ । “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वाधार, सुरक्षित र समृद्ध बुढीगंगा विकासको आधार” भन्ने मूल नाराका साथ आइतबार सञ्चालन भएको नगर सभा सम्पन्न भएको हो ।
सभाले ४ वटा कार्यविधि पारित समेत गरेको छ । नगर प्रमुख रामबहादुर बानियाँको अध्यक्षतामा भएको नगर सभामा विभिन्न नीति, ऐन तथा कार्यविधिहरुमा छलफल गर्दै सम्पन्न भएको हो ।
नगर सभाबाट ४ वटा कार्यविधि पारित भएका छन् । जस अनुसार डिजिटल स्वास्थ्य ऐन, इन्डोर खेलकुद स्थल व्यवस्थापन तथा सञ्चालन कार्यविधि, स्थानीय जनसहभागीता नीति र आर्थिक कार्यविधि नियमित तथा व्यवस्थित गर्न बनेको ऐन पारित गरिएको नगरप्रमुख रामबहादुर बानियाँले जानकारी दिएका छन् ।
नगरसभामा चालु आवमा पालिकाभित्र भएका प्रगतिहरुको समेत समिक्षा गरिएको थियो । त्यस्तै नगरपालिकाले चालू आर्थिक बर्षको हालसम्म कुल बजेटको ३१ प्रतिशत बजेट खर्च गरेको छ । नगरपालिको चालू आर्थिक बर्षको ६ महिनासम्म चालू तर्फ ३३.८९ प्रतिशत र पूजीतर्फ २७.०४ प्रतिशत गरि कुल ३१. ६१ प्रतिशत बजेट खर्च गरेको छ । चालू आवमा कुल बजेट ५९ करोड ८२ हजार ७५.८९ रहेकोमा हालसम्म १८ करोड ६७ लाख ५९ हजार ७ सय ८० रुपैयाँ खर्च भएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमुख राम बहादुर बानियाँको अध्यक्षतामा सञ्चालन भएको नगर सभामा नगर उपप्रमुख माया खड्का कुँवर, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्र नाथ लगायत १० वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य र अन्य कर्मचारी लगायतको सहभागीता रहेको थियो ।
फेसबुक प्रतिक्रियाहरु