सुदूरपश्चिम प्रदेशको प्रमुख प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बडिमालिका मन्दिरको पुनर्निर्माण कार्य सम्पन्न भएको छ । नेपाली सेनाको नेतृत्वमा सम्पन्न मन्दिर निर्माणबारे बिहीबार सार्वजनिक गरिएको सूचनामा पुननिर्माण कार्य गत असार २३ गते सम्पन्न भएको उल्लेख गरिएको छ ।
सेनाले २०८१ सालको चैत्र २८ गतेदेखि मन्दिर पुनर्निर्माणको काम सुरु गरेको थियो। यद्यपि निर्माण लागतबारे कुनै विवरण सार्वजनिक गरिएको छैन ।
प्राचीन स्मारक संरक्षण ऐन २०१३ को दायराभित्र रही पुरातत्त्व विभागबाट स्वीकृत डिजाइन, त्रिवेणी नगरपालिकासँगको समन्वय र परम्परागत सामग्रीको प्रयोग गर्दै मन्दिरलाई पुरानै मौलिक स्वरूपमा पुनः निर्माण गरिएको हो।
सेनाले जारी गरेको जानकारी अनुसार, विकट भौगोलिक अवस्था, प्रतिकूल मौसम र निर्माण सामग्री व्यवस्थापनको चुनौतीबीच पनि रक्षा मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पुरातत्त्व विभाग, मन्दिरका पुजारी, त्रिवेणी भक्तपुर र ललितपुरका कारीगर तथा स्थानीयवासीहरूको सहयोगमा करिब दुई महिनामा काम सम्पन्न गरिएको हो।
पुननिर्माणसँगै मन्दिर सर्वसाधारणको लागि खुला गरिएको छ । ४ हजार २ सय १९ मिटरको उचाइमा अवस्थित बडिमालिका नेपालकै प्रमुख धार्मिक गन्तव्यहरूमध्ये एक हो, जहाँ प्रत्येक वर्ष जनैपूर्णिमामा विशेष मेला लाग्ने गर्छ। बडिमालिका नेपालका चार प्रमुख धाममध्ये एकको रूपमा समेत परिचित छ ।
फेसबुक प्रतिक्रियाहरु