नागरिक रैबार/बाजुरा २४ साउन। बाजुरा जिल्लाको त्रिवेणी नगरपालिका–९ स्थित बिस्नापानी भन्ने स्थानमा भिरबाट लडेर मृत्यु भएका तीर्थयात्रीको शव निकालिएको छ ।
काठमाडौंको गोकर्णेश्वर नगरपालिका–५, नारायणटारका ५२ वर्षीय विप्लव ओझाको शव शुक्रबार साँझ उद्धार गरिएको हो।
साउन २२ गते राति बडीमालिका मन्दिर दर्शन गरेर नाटेश्वरी धाम जाँदै गरेका ओझा अचानक बाटोबाट करिब ७०० मिटर तल बिस्नापानी खोल्सामा खसेका थिए। दुर्घटनाको खबर पाएपछि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोली घटनास्थलमा खटिएको थियो।
त्रिवेणीधाममा मेलाका लागि खटिएको सशस्त्र टोली र स्थानीय प्रहरीको सहयोगमा खोजी कार्य थालिएको थियो। उद्धारका लागि सशस्त्र प्रहरी बलको आश्रित गुल्मबाट विपद् व्यवस्थापन तालिम प्राप्त विशेष टोली समेत घटनास्थलमा परिचालन गरिएको थियो।
सशस्त्र प्रहरी बलका केन्द्रीय सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार सोही विशेष टोलीले गहिरो खोचमा खसेको शव निकाल्न सफल भएको हो। शव परीक्षणका लागि स्थानीय स्वास्थ्य संस्थामा पठाइएको छ। प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको जनाएको छ।
फेसबुक प्रतिक्रियाहरु