नागरिक रैबार/बाजुरा २७ माघ । मार्तडीमा अज्ञात रोगका कारण धमाधम कुखुराहरु मर्न थालेका छन् । २ साता यता लोकल, क्वाईलर र गिरीराज जातका कुखुराहरु धमाधम मर्न थालेका हुन् ।
मर्नुभन्दा अगाडी कुकुराहरुमा झोर्किने, दानापानी नखाने, सिगान जस्तो र्याल फाल्ने, हिँडडुल गर्न नसक्ने जस्ता लक्षणहरु देखिन थालेको स्थानीयहरुले बताएका छन् ।
मार्तडी बजारभित्र मात्रै करिव २ सय भन्दा बढी लोकल, क्वाइलर र गिरीराज जातका कुखुराहरु मरिसकेका छन् । एकाएक कुखुराहरु मर्न थालेपछि कुखुरापालक कृषकहरु भने चिन्तित बनेका छन् ।
कुखुरामा झोक्राउने सिंगान, र्याल बगाई एक दुई दिन भित्रमा मर्ने गरेको स्थानीय प्रकाश विकले बताएका छन् । दुई सातायता फैलिएको उक्त रोगले कुखुरा धमाधम मर्न थालेपछि किसानलाई लाखौंको घाटा व्यहोर्नु परेको छ ।
यता भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी जगत थापाले कुखुरा मरेको भनेर अहिलेसम्म कार्यालयमा कुनै जानकारी नआएको बताएका छन् । उनले कुखुराहरुमा लागेको रोगको पहिचान र उपचारका लागि कार्यालयमा ल्याएर चेकजाँच गराउन समेत कृषकहरुलाई आग्रह गरेका छन् ।
फेसबुक प्रतिक्रियाहरु