काठमाडौँ । नेकपा एमालेले सरकार र निर्वाचन आयोगले दलहरूसँग छलफल नै नगरी निर्वाचन कार्यतालिका सार्वजनिक गरेको भन्दै शाहीकालको निर्वाचनसँग तुलना गरेको छ ।
यद्यपि पार्टीले दलीय सिस्टममा चुनाव घोषणा र निर्वाचन कार्यतालिका सार्वजनिक हुुनु सामान्य प्रक्रिया भएको प्रतिक्रिया दिएको छ ।
‘सरकार बनेको यतिका समयसम्म राजनीतिक पार्टीसँग कुनैपनि छलफल, बहस वा संवाद गरेको छैन’, एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले भने, ‘राजनीतिक पार्टीहरूलाई विश्वासमा लिएको पनि छैन । शान्ति सुरक्षा र सुशासनको वातावरण तयार गरेको छैन ।’
उनले निर्वाचनका लागि आधारभूत वातावरण तयार नगर्ने, राजनीतिक दलहरूसँग संवाद नै नगर्ने र राजनीतिक दलहरूलाई निषेध गरेर जाने गतिविधि सरकारले गरिरहेको दाबी गरे ।
‘निर्वाचन कार्यतालिका त पूर्व राजा ज्ञानेन्द्र शाहले उनको कार्यकालमा पनि सार्वजनिक गरेका थिए । त्यसकारण राजनीतिक दलहरूसँग अन्तरक्रिया, छलफल र संवाद नगरीकन निर्वाचनको वातावरण नै नबनाई सूचना टाँसेर मात्र निर्वाचन हुने होइन’, गौतमको भनाइ छ ।
उनले सरकारले निर्वाचन नै गराउन चाहेको हो भने तत्काल राजनीतिक पार्टीसँग अहिलेको अवस्थाबारे छलफल थाल्नुपर्ने सुझाव दिए ।
‘दोस्रो निर्वाचनको वातावरण बनाउन शान्ति सुरक्षाको सुनिश्चितता हुनुपर्यो । तेस्रो, दलीय गतिविधि निर्धक्क हुने वातावरण हुनुपर्छ’, उनले प्रतिप्रश्न गर्दै भने, ‘यो लोकतन्त्र हो, सैनिक शासन त होइन नि ?’
फेसबुक प्रतिक्रियाहरु