नागरिक रैबार/बाजुरा २३ फागुन।बाजुरामा राष्ट्रिय परिचयपत्र बनेर आएको भएपनि यहाँका नागरिकहरुले अहिलेसम्म लिन नआएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ ।
२०७७ साल असोज १ गतेबाट बाजुरामा सुरु गरिएको राष्ट्रिय परिचयपत्र अभियानमा हालसम्म १४ हजारको कार्ड बनेर आईसकेको प्रमुख जिल्ला अधिकारी मेघनाथ पाध्याले बताएका छन् । हालसम्म ४ हजार कार्डहरु लिएको भएपनि अझैं साढे १० हजार बनेर आएका कार्ड नागरिकहरुले नलिएको पाध्याले बताएका छन् ।
कार्ड आउन करिब दुई वर्ष भन्दा बढी लाग्ने भएका त्यो समयमा स्थानीय नागरिक भारत र अन्य वैदेशिक रोजगारीका लागि जाने भएकै कारण बनेर आएका परिचयपत्रका कार्डहरु दराजमा थन्किएको बताएका छन् । जिल्ला प्रशासन कार्यालयले वडा अभियान सञ्चालन गरेको बेला ४३ हजार बढीले राष्ट्रिय परिचयपत्रका लागि विवरण दर्ता गराएको थिए ।
कार्डहरु सुरक्षित रहने भएकोले जिल्लामा रहेकाले तत्काल लिन र जिल्ला बाहिर रहेकाहरुलाई खबर गर्न जिल्ला प्रशासन कार्यालय बाजुराले अनुरोध गरेको छ ।
जिल्लामा बडीमालिकामा ४ हजार ७ सय ४३, बुढीगंगा ६ हजार २ सय ४३, त्रिवेणीमा ५ जहार ९ सय ९६, बुढीनन्दामा ६ हजार ३ सय ९९, गौमुलमा २ हजार ७ सय ५४, खप्तड छेडेदहमा ६ हजार १ सय ६, जगन्नाथमा ३ हजार २ सय ८६, स्वामीकार्तिक खापरमा ३ हजार ८ सय ७९ र हिमालीमा ३ हजार ८ सय ११ जनाले राष्ट्रिय परिचयपत्र बनाएको तथ्याङ्क रहेको छ ।
बाजुरामा ८३ हजार ५ सय ७७ जना कुल मतदाता रहेकोमा हालसम्म अनुमानित ५८ हजार ५ सय जनाले परिचय पत्र विवरणका लागि दर्ता गराएको छन्, भने ४३ हजार २ सय ५७ जनाले जम्मा संकलित विवरण रहेको छ ।
हालसम्म राष्ट्रिय परिचयपत्रमा ७४ प्रतिशत संकलित प्रतिशत रहेको छ । जिल्लाका ९ वटै स्थानीय तहमा राष्ट्रिय परिचयपत्र संकलन अभियान सञ्चालन गरिएको थियो ।
राष्ट्रिय परिचयपत्र भनेको नागरिकहरूको वैयक्तिक तथा जैविक विवरण समावेश भएको विद्युतीय चिप्स र सुरक्षण सहितको स्मार्ट कार्ड प्रविधिमा आधारित राष्ट्रिय पहिचानको बहुउपयोगी प्रमाणपत्र हो ।
फेसबुक प्रतिक्रियाहरु