नागरिक रैबार/बाजुरा २५ माघ । समाजमा महिनावारी भएको बेला महिलाहरुलाई घरभन्दा टाढा अलग्गै राख्ने र पोसिलोयुक्त खाने कुराबाट बन्चित गराउने प्रचलनको अन्त्य गर्नका लागि बडीमालिका नगरपालिकाले छाउपडी गोठमुक्त अभियान संचालन गरेको छ ।
कुरीतिको रुपमा रहेको छाउपडी प्रथालाई समाजबाट अन्त्य गर्नका लागि नगरपालिकाले सेवा क्षेत्रभित्र रहेका वडाहरुमा छाउपडी गोठको वर्तमान अवस्था र महिनावारी भएका बेला महिलाहरुले भोग्नु परेको समस्यालाई मध्येनजर गर्दै त्यसको अन्त्यका लागि नगरपालिकाले अभियान नै संचालन गरेर अगाडि बढेको हो ।
महिनावारी भएका बेला छाउपडी महिलाहरुका लागि घर भन्दा टाढा अलग्गै राख्ने गरी बनाईएका छाउ गोठहरु नगरभित्रका वडा, टोल र समुदायबाट सधैका लागि अन्तय गर्न अभियान संचालन गरिएको बडीमालिका नगरपालिकाकी उपप्रमुख नन्दा कुमारी थापाले बताएकी छन् ।
महिनावारी भएका बेला महिला र किशोरीहरुले गोठमा बस्नुपर्ने बाध्यतालाई अन्त्य गर्नका लागि नगरपालिकाले गोठमुक्त अभियानलाई तिव्रता दिएको छ ।
उपप्रमुख थापाका अनुसार बडीमािलका नगरपालिकाभित्रका ९ मध्ये ६ वटा वडा छाउपडी गोठमुक्त वडा घोषणा भएका छन् भने १, ७ र ८ नम्वर वडालाई यहि आर्थिक वर्ष भित्र छाउपडी गोठमुक्त वडा घोषणा गर्ने गरी अभियान नै संचालन गरिएको छ ।
सोही क्रममा विहिबार नगरपालिकाको वडा नम्वर १ को पिनालेख, पाटा, नुवाकोट लगायतका टोलहरुमा महिनावारीका लागि घरभन्दा टाढा अलग्गै बनाईएका छाउगोठको अवस्था बारे उपप्रमुख थापाको नेतृत्वमा खटिएको टोलीले सयुक्त रुपमा अनुगमन गरेको छ ।
अनुगमनका क्रममा वडा नम्वर १ को पाटा गाउँमा पुग्दा त्यस क्षेत्रमा महिनावारीका लागि केही परिवारले मात्रै छाउपडीका लागि घरभन्दा टाढा बसाल्ने गरेको भेटिएको उपप्रमुख थापाले बताएकी छन् । उनले भनिन् वडाका विभिन्न टोलमा छाउपडी गोठ र महिनावारी भएका महिलाहरुको अवस्था बुझ्दा पहिले भन्दा अहिले धेरै जसो समुदाय परिवर्तन भएको पाईएको छ ।
अनुगमनका क्रममा महिनावारी भएका बेला बस्नका लागि बनाइएका गोठहरुलाई तत्काल भत्काएर घरमै सुरक्षित तरिकाले बस्ने गरि व्यवस्था मिलाउन समुदायलाई उपप्रमुख थापाले सुझाव दिएकी छन् ।
१ नम्बर वडाका विभिन्न टोलहरुमा छाउपडी गोठको अवस्था र छाउ भएका बेला महिला तथा किशोरीहरुलाई घर भन्दा टाढा राख्दा आईपर्ने समस्याहरुबाट बचाउन वडाबासीलाई सचेत गराइएको बडीमालिका नगरपालिका महिला तथा बालबालिका शाखाकी महिला सहायक निरिक्षक बिन्दु बडालले बताएकी छन् ।
छाउपडी कुप्रथा अन्त्य गर्न छाउ भएका महिला र किशोरीहरुलाई गोठमा अलग्गै राख्दा सर्पले टोक्ने, जंगली जनावरको सिकार हुने, बलाकृत हुने जस्ता घटनाबाट रोक्नका लागि छाउपडी गोठ हटाउन जरुरी रहेकोले यसमा सवैले साथ दिन आवश्यक रहेको महिला सहायक निरिक्षक शोभा शाहीले बताएकी छन् ।
समाजमा व्याप्त कुप्रथाका रुपमा रहेको छाउपडी प्रथा अन्त्य गर्नका लागि वडाबासीहरुले आगामी दिनमा अभियान नै संचालन गरेर अगाडी बढ्ने वडा नम्बर १ का वडाअध्यक्ष कृष्ण बहादुर कार्कीले बताएका छन् ।
छाउ भएका बेला घरभित्र परिवारसंगै बस्दा देउता रिसाउने डरले आफुहरु घर बाहिर अलग्गै बस्नु पर्ने बाध्यता भएको अनुगमनका क्रममा त्यस क्षेत्रका महिला तथा किशोरीहरुको गुनासो थियो ।
वडामा रहेका महिनावारी भएका महिला र छाउ गोठको अवस्था बारे गरिएको अनुगमनमा नगर उप प्रमुख नन्दा कुमारी थापा, वडा नम्बर १ का वडाध्यक्ष कृष्णबहादुर कार्की, प्रमुख प्रशासकीय अधिकृत पदमबहादुर माझी, महिला तथा बालबालिका शाखाकी महिला निरिक्षक शोभा शाह, विन्दु बडाल, लेखापाल मनिराम खत्री, प्रहरी र पत्रकार लगायत सहभागी थिए ।
फेसबुक प्रतिक्रियाहरु