नागरिक रैबार/बाजुरा २२ जेठ । दलितका लागि दलित अभियान नेपालका संयोजक खगेन्द्र सुनारले जिल्लाका दलित समुदायका नागरिकहरुलाई दलितका हक अधिकारका लागि एकजुट भएर लाग्न आग्रह गरेका छन् ।
बुधबार बाजुराको कोल्टीमा जातीय छुवाछुत तथा उन्मुलन राष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको बृहत जागरण सभालाई सम्बोधन गर्दै अभियान्ता सुनारले यस्तो बताएका हुन् ।
दलितका लागि दलित अभियान नेपाल बाजुराको आयोजनामा गरिएको कार्यक्रममा बोल्दै दलित अभियान्ता सुनारले भने अव दलित समुदायहरु सवै मिलेर अगाडि बढ्नु पर्नेमा जोड दिएका थिए ।
उनले दलितलाई यहाँका गैरदलितहरुसहित राज्यले समेत विभिन्न सेवा सुविधामा बन्चित गर्ने गरेकोले यसको प्रतिकारमा उत्रेर अगाडी बढ्नु पर्ने बेला भएको बताएका छन् ।
कोल्टीमा पहिलोपटक आयोजना गरिएको वृहत जागरण सभालाई सम्वोधन गर्दै उनले दलितहरुलाई अहिलेका राजनीतिक दलहरुले प्रयोग मात्रै गर्ने गरेको आरोप समेत लगाए ।
२०७७ जेठ १० गते नवराज विक सहित ६ जनाको ज्यान लिन गरि भएको घटनापछि आफु दलितका लागि दलित आफ्ना लागि आफै भन्ने उद्देश्यका साथ एक शसक्त आन्दोलनको एजेण्डा बनाएर अगाडि बढेकाले यो अभियानमा देशभरका दलित समुदायले साथ दिन आग्रह गरे ।
दलित समुदायहरुले संविधानमा उल्लेख भए अनुसारका हक अधिकारबाट यहाँका स्थानीय तहले बन्चित गरेपछि पहिलोपटक दलित समुदायको आम सहभागितामा जागरण सभाको आयोजना गरिएको दलितका लागि दलित अभियान बाजुराका संयोजक दिपक कडाराले बताएका छन् ।
शिक्षा र जनचेतनाको विकास भएसँगै बाजुरा जिल्लाका दलित समुदायहरु एकजुट हुन् थालेका हुन् । कोल्टीमा ४ वटा स्थानीय तहका दलित समुदायलाई लक्षित गरेर आयोजना गरिएको वृहत जागरण सभामा हजारौ दलित समुदायका नागरिकहरु उपस्थिति भएका थिए ।
संविधानमै उल्लेख गरिएका अधिकार पनि प्रत्येक्ष रुपमा यहाँका दलित समुदायहरुले अनुभुति गर्न नपाएकोले अवका दिनहरुमा आफ्ना हक अधिकारका लागि एकजुट भएर लाग्नुपर्ने सभामा बोल्ने बक्ताहरुले बताएका थिए ।
बाजुराको कोल्टीमा दलितका लागि दलित अभियान बाजुराको आयोजनामा पहिलो पटक गरिएको बृहत जागरण सभा दिपक कडाराको अध्यक्षतामा गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनार रहेका थिए । त्यस्तै कार्यक्रममा स्थानीय दलित अधिकारकर्मी, दलित अगुवा, दलित समुदायबाट विभिन्न पार्टीबाट स्थानीय तहमा प्रतिनिधित्व वडा अध्यक्ष, कार्यपालिका सदस्य, र दलित महिला सदस्यहरु लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन प्रेम नेपालीले गरेका थिए ।
फेसबुक प्रतिक्रियाहरु