नागरिक रैबार/बाजुरा १६ पुस । बाजुराको बडीमालिका नगरपालिकाले आज पुस १६ गते शोक विदा दिएको छ ।
पुस ११ गते कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटनामा परी ज्यान गुमाएका मार्तडी स्वास्थ्य चौकी चुथीका प्रमुख जनस्वास्थ्य अधिकृत धर्मराज खत्रीको सम्झनामा पुस १६ गते एक दिन शोक विदा दिएको हो ।
नगरपालिकाले स्वास्थ्यकर्मी खत्रीको दुर्घटनामा परी अकल्पनीय निधनले नगरपालिका परिवार अत्यन्तै दुःखी र स्तब्ध भएको भन्दै सूचनामार्फत दुःख व्यक्त गरेको छ ।
त्यस्तै शोकाकुल परिवारजनमा धैर्यधारण गर्ने शक्तिको कामना गर्दै पुस १२ गते बसेको कार्यपालिकाको बैठकबाट पुस १६ गते मंगलवारका दिन नगरपालिकाभर शोक विदा मनाउने निर्णय गरेको थियो ।
उनका अनुसार सो दिन नगरपालिका अन्र्तगतका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय र शैक्षिक संघसंस्थाहरुमा एक दिन शोक बिदा दिइएको छ । त्यस्तै सूचना मार्फत नगरपालिकाले शोक बिदाको दिन बिहान ९ बजे नगरपालिका तथा मातहतका कार्यालयहरुमा मौन धारणसहित शोक मनाउन आग्रह गरेको छ ।
खत्री वडा नम्बर ७ मै रहेको मार्तडी स्वास्थ्य चौकी प्रमुख तथा जनस्वास्थ्य निरीक्षक पदमा कार्यरत थिए ।
उनको बिहीवार साँझ धनगढी उपमहानगरपालिका–३ को लक्ष्मी नर्सरीनजिकै अत्तरियाबाट धनगढीतर्फ आइरहेको बेला पछाडीबाट आएको मोटरसाइकलले ठक्कर दिदा घटनास्थलमै मृत्यु भएको थियो ।
खत्रिकाे हिजाे पाँच दिनपछि अन्तेष्टि गरिएकाेे छ ।
फेसबुक प्रतिक्रियाहरु