होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, अशोज १, २०८१
जोडिनुहोस
  • होमपेज
  • बुढीनन्दा
  • बुढीनन्दा क्षेत्रमा घुम्न आउनेलाई नि:शुल्क खाना र बासको व्यवस्था गरिने
बुढीनन्दा

बुढीनन्दा क्षेत्रमा घुम्न आउनेलाई नि:शुल्क खाना र बासको व्यवस्था गरिने

  • नागरिक रैबार
बुढीनन्दा क्षेत्रमा घुम्न आउनेलाई नि:शुल्क खाना र बासको व्यवस्था गरिने

नागरिक रैबार। बाजुराको प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल बुढीनन्दा क्षेत्रमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई  नि:शुल्क खाना र बास बस्नका लागि उचित व्यवस्था गरिने भएको छ ।  जनै पुर्णिमाका अवसरमा लाग्ने मेलामा  बुढीनन्दा क्षेत्रमा आउनेहरुलाई ६ दिनसम्म यस्तो सुविधा दिन लागिएको हो ।

बुढीनन्दा नगरपालिका र बाजुराको पर्यटन प्रवर्द्धनका लागि सक्रिय युवाहरूको समूह ‘वाइल्ड बाजुरा’ले नि:शुल्क यात्राको व्यवस्थापन गर्न लागेको नगरपालिकाले जनाएको छ ।

हरेक वर्ष श्रावण शुक्ल दशमीका दिनबाट सुरु हुने बुढीनन्दा तिर्थ यात्रा जनै पुर्णिमाको दिन समापन हुन्छ । यो बेला खाली खुट्टा हिँडेर समुन्द्र सतहदेखि १५ हजार फिटको उचाइमा रहेको बुढीनन्दाको दर्शन गर्दा इच्छा गरिएको वर प्राप्त हुने जनविश्वासका कारण ठूलो संख्यामा तिर्थयात्रीहरू यहाँ आउने गर्छन् ।

विज्ञापन

यो वर्ष साउन ३१ गतेदेखि बुढीनन्दाको सिमकुरुबाट सुरु हुने उक्त धार्मिक यात्रा छाप्रे पाटन, लौडी विनायक, बरमाग्ने, चडिदह, धौलीपाटन, धौली भँडार, बुढीनन्दा हुँदै भदौ ५ गते लादेमा पुगेर समापन हुनेछ । यात्रा अवधिभरि यात्रीलाई दुई छाक भोजन र रात्रीबासको लागि टेन्टको व्यवस्था गरिने वाइल्ड बाजुराका सञ्चालक मनोज रेग्मीले बताएका छन् ।

बुढीनन्दा यात्राका दौरान आफूले बोकेको खानेकुरा अन्य यात्रीलाई पनि बाँडेर खाने चलन रहेको छ । ‘पुरानो चलनलाई जोगाउन र तिर्थयात्रीको यात्रा सहज होस् भन्नका लागि यो वर्षदेखि खाना र बास नि:शुल्क गर्न लागेका हौं,’ रेग्मीले भने, ‘यसको लागि बुढीनन्दा नगरपालिकाले आर्थिक सहयोग गर्ने र वाइल्ड बाजुराले यात्राको व्यवस्थापन गर्ने सहमति भएको छ ।’ उनले बुढीनन्दा आसपास रहेका दर्शनीय स्थलहरू धौली पाटन, महारुद्र ताल, कैलाश ताल र खेतीबेतीलगायतका ठाउँ घुम्न चाहानेहरूका लागि पथप्रर्दशक पनि नि:शुल्क उपलब्ध गराइने बताए ।

बाजुराको सदरमुकाम मार्तडीबाट कालाजाग्रा पाण्डुसैन हुँदै बुढीनन्दा पुग्न सकिन्छ । नेपालगञ्जबाट कोल्टीसम्म हवाई सुविधा भएकाले सोझै कोल्टी गएर बुढीनन्दा जाँदा यात्रा अवधी छोट्याउन सकिन्छ ।

बुढीनन्दा क्षेत्रको प्रचार-प्रसार हुन नसकेको भन्दै बुढीनन्दा नगरपालिकाले यस क्षेत्रको प्रवर्द्धनका लागि विभिन्न प्रयास गरिरहेको बताएको छ । गत वर्ष यही मेलाको अवसर पारेर नगरपालिकाले बुढीनन्दामै कार्यपालिकाको बैठक समेत राखेको थियो । ‘यो वर्ष पनि हामीले यात्राको सम्पूर्ण तयारी गरिसकेका छौ‌ँ,’ नगरपालिकाका प्रमुख जनक बोहराले भने, ‘नि:शुल्क खाना, बासको व्यवस्था गर्दा यात्रामा धेरै मान्छेहरू आउने र यो क्षेत्रको प्रचार-प्रसार हुने आशा गरेका छौँ ।’ उनले यात्राका दौरान आवश्यक पर्ने स्वास्थ्य उपचार, उपचार टोली, स्वयंसेवक र अन्य तयारी नगरपालिकाले गरिरहेको बताए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार