नागरिक रैबार/बाजुरा ८ पुस। शनिवार विहान ४ बजेर १४ मिनेटमा बाजुराको जगन्नाथ गाउँपालिकाको वडा नम्वर- ५ गोत्री केन्द्र विन्दु भएर गएको भुकम्पबाट प्रभावित परिवारका लागि विपद् व्यवस्थापन समितिमार्फत राहत तथा पुनर्स्थापनाका कार्यक्रम लागू गरिने भएको छ ।
सोमबार धनगढीमा बसेको प्रदेश स्तरीय राजनीतिक संयन्त्रको प्रथम बैठकले गोत्रीका भूकम्पबाट प्रभावित परिवारहरुका लागि विपद् व्यवस्थापन समितिमार्फत राहत तथा पुनर्स्थापनाका कार्यक्रम लागू गर्ने निर्णय गरेको हो ।
नेकपा एमालेका केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इञ्चार्ज लेखराज भट्टको अध्यक्षतामा बसेको राजनीतिक संयन्त्रको बैठकले तीनवटा महत्वपूर्ण निर्णय गरेको छ।
सत्ता गठबन्धन अन्तर्गत नेपाली कांग्रेस र नेकपा एमाले समेटेर गठन गरिएको संयन्त्रको बैठकले बैठकमा संसदीय अभ्यासलाई प्रभावकारी बनाउन यथाशीघ्र गतिविधि अगाडि बढाउने, रिक्त रहेका राजनीतिक नियुक्तिहरूमा सहमति जुटाएर कार्यान्वयन गर्ने र बाजुराको गोत्रीका भुकम्प प्रभावितलाई राहत तथा पुनर्स्थापनाका कार्यक्रम अगाडि बढाउने निर्णय भएको छ।
नेपाली कांग्रेस सुदूरपश्चिमका सभापति वीरबहादुर बलायर, एमाले सुदूरपश्चिम अध्यक्ष कृष्णप्रसाद जैशी, कांग्रेसका उपसभापति लोकराज अवस्थी, मुख्यमन्त्री कमलबहादुर शाह, र एमालेका संसदीय दलका नेता राजेन्द्र रावल सदस्यका रूपमा सहभागी थिए। बैठकले संयन्त्रको अध्यक्षता आलोपालो प्रणालीमा गरिने सहमति समेत गरेको छ।
जगन्नाथको वडा नं. ५ दर्जी गाउँका दर्जनौं घरसहित पालिकाका ३ सय ६३ घरमा भूकम्पले क्षति पुर्याएको छ । गाउँपालिका अध्यक्ष कालीबहादुर शाहीका अनुसार ६ वडा रहेको पालिकामा मानवीय क्षति नभए पनि दर्जनौं घर भत्किनुका साथै दर्जनौं घरमा चिराचिरा परेका छन् ।
बाजुराकै स्वामीकार्तिक गाउँपालिकाका अध्यक्ष भरतबहादुर रोकायाका अनुसार वडा नं. ५ को भैरबनाथ माध्यमिक विद्यालयको भवनसहित ७० भन्दा बढी घरमा क्षति पुगेको छ । ‘पटक–पटक गइरहेको भूकम्पले पालिकाका अधिकांश घरहरूमा क्षति पुगेको छ, घरहरू बस्ने अवस्थामा छैनन्’, अध्यक्ष रोकायाले भने, ‘पुराना घरहरूका कारण थप जोखिम छ, हामी त भगवान भरोसा बाँचिरहेका छौं ।’
फेसबुक प्रतिक्रियाहरु