नागरिक रैबार/बाजुरा ६ मंसिर।नेकपा माओवादी केन्द्रबाट स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा उम्मेदवारी दिएकी राजु कुमारी विक उम्मेदवारी फेर्ता गरेसंगै एमालेका लागि भोट माग्न व्यस्त भएकी छन् ।
नेकपा माओवादी केन्द्रका तर्फबाट मंसिर २ गते उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएकी विकले मंसिर ५ गते एमालेका उम्मेदवारलाई समर्थन गर्ने गरी उम्मेदवारी फेर्ता गरेकि उनि अहिले एमालेसंगै चुनावी प्रचारप्रसारमा सक्रिय भएर लागेकी छन् ।
विहिबार दिउसो एमालेको चुनावी प्रचार प्रसार अभियानका क्रममा स्वामीकार्तिक खापर गाउँपालिकाको वडा नम्वर ३ जुकोटमा सहभागि हुँदै उनले भनिन् यहाँको वर्तमान परिस्थिति अनुसार एमालेसंग गठबन्धन गरेर जानु पर्ने भएकोले आफ्नो उम्मेदवारी फेर्ता गरेको बताईन् ।
स्वामीकार्तिकमा हुने उपनिर्वाचनमा एमालेका तर्फबाट उम्मेदवार बनेकी सुलोचना भण्डारी बुढालाई विजयी गराउन आफु र आफ्नो पार्टी माओवादी केन्द्र प्रतिवद्धताका साथ लागि पर्ने उनको भनाई छ ।
नेकपा माओवादी केन्द्र स्वामीकार्तिक खापर गाउँ कमिटीले उपनिर्वाचनमा विकको उम्मेदवारी फेर्ता गरेर नेकपा एमालेका उम्मेदवारलाई विजयी गराउने गरी एमालेसंग सहमति गरेको थियो ।
यता नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति बाजुराले पार्टीबाट एकल उम्मेदवार बनेकी विकले एकाएक उम्मेदवारी फेर्ता गरेको भन्दै विहिबार दिउसो प्रेस विज्ञप्ति मार्फत आपत्ति जनाएको छ ।
२०७९ मा निर्वाचित उपाध्यक्ष मैना जोशीको गत माघ ४ मा निधन भएपछि यहाँ मंसिर १६ गते उपाध्यक्षका लागि उपनिर्वाचन हुन् लागेको हो । यहाँ एमालेकी सुलोचना बुढा, नेपाली काँग्रेसकी पुल्तिसरा शाही र नेकपा एकिकृत समाजवादी पार्टीका जवा शाहीविच चुनावी प्रतिष्पर्धा हुने भएको छ ।
२०७९ मा उपाध्यक्षमा कांग्रेस मैना जोशीले एक हजार ८१० ल्याएर विजयी हुँदा उनकी प्रतिद्वन्द्वी नेकपा (एमाले)की सुलोचना भण्डारी बुढाले एक हजार ६३७ ल्याएकी थिइन् । त्यस्तै माओवादी केन्द्रका सुरेशबहादुर रोकायाले एक हजार २१३ र स्वतन्त्र उम्मेदवार वीरसिंह विकले ४१ मत ल्याएका थिए ।यहाँ माओवादीले अध्यक्षमा नेकपा एकीकृत समाजवादीलाई र उपाध्यक्षमा नेकपा एकीकृत साजवादीले माओवादीलाई साथ दिएको थियो ।
स्वामीकार्तिकमा ७ हजार ४ सय ६० मतदाताले मतदानमा भाग लिन पाउने भएका छन् । ती मध्ये सबैभन्दा बढी २ हजार १० मत ३ नम्बर वडा जुकोटमा छन् ।
फेसबुक प्रतिक्रियाहरु