होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, असार २९, २०८२
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • पार्टीले स्पष्टीकरण बुझाउन भनेपछि बजगाईंले मागे मन्त्री पाण्डेसँग माफी
देश/प्रदेश

पार्टीले स्पष्टीकरण बुझाउन भनेपछि बजगाईंले मागे मन्त्री पाण्डेसँग माफी

  • नागरिक रैबार
पार्टीले स्पष्टीकरण बुझाउन भनेपछि बजगाईंले मागे मन्त्री पाण्डेसँग माफी

नेपाली कांग्रेसका प्रतिनिधि सभा सांसद राजेन्द्र बजगाईंले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेमाथि लगाएको आरोप फिर्ता लिँदै माफी मागेका छन्।

बुधबार सामाजिक सञ्जाल एक्समा लेख्दै उनले आफ्नो आरोपले मन्त्री पाण्डेलाई चोट पारेको भन्दै अभिव्यक्ति फिर्ता लिएको बताएका छन्।‘मैले लगाएको आरोपले मन्त्रीजीलाई निकै चोट परेको पाएँ त्यसकारण उक्त लांछित अभिव्यक्ति फिर्ता लिएको छु। टिप्पणीबाट परिवारजनमा परेको चोटप्रति पनि क्षमाप्रार्थी छु,’ बजगाईले लेखेका छन्।

यस विषयमा मंगलबार पार्टी कार्यालय सानेपामा महामन्त्री विश्वप्रकाश शर्मा र अनुशासन समितिका संयोजक आनन्द ढुंगानाले बजगाईसँग मौखिक स्पष्टीकरण लिएका थिए। उनलाई लिखित स्पष्टीकरण पेस गर्न पनि निर्देशन दिएका थिए।यसअघि बजगाईले आफूविरूद्ध श्रृंखलाबद्ध रूपमा कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेले सचिवालका सदस्यमार्फत कांग्रेस अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका थिए।

विज्ञापन

उजुरीमा आफू मन्त्री नियुक्त भएदेखि नै कांग्रेस गोरखा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसदसमेत रहेका पर्यटन व्यवसायी बजगाईले श्र‌ृंखलाबद्ध रूपमा विभिन्न आरोप लगाइरहेको मन्त्री पाण्डेले उल्लेख गरेका थिए।

‘नेपाली कांग्रेसको निर्वाचित सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावनामाथि मात्र गम्भीर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ। लोकतन्त्र र विधिको शासनमा यस खाले अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाई इमान र निष्ठाको उपहास हुनेछ,’ उजुरीमा लेखिएको थियो।

बजगाईले मन्त्री पाण्डेलाई लक्ष्य गर्दै एक क्यासिनो इजाजत दिँदा भ्रष्टाचार गरेको उल्लेख गर्दै सामाजिक सञ्जालमा स्टाटस लेखेका थिए। उक्त स्टाटसलाई लिएर समाचार पनि प्रकाशित भएका थिए। समाचार सार्वजनिक भएलगत्तै मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेकाले त्यसविरूद्ध कानुनी बाटो अपनाउने बताएका थिए।

‘मन्त्रीको शपथ भएको मितिदेखि श्रृंखलाबद्ध रूपमा मन्त्रालयको कामकारबाही र मेरो व्यक्तिगत चरित्र र मानमर्यादामा आँच पुग्ने गरी कुत्सित मनसायका साथ घुस/रिसवत जस्तो गम्भीर आरोप लगाइ, कुप्रचार–प्रसार गर्दै मेरो व्यक्तिगत नैतिक आचारण र ख्यातिमा दोष लगाउने जस्ता कलुसित, अमर्यादित र गैर कानूनी कार्य गरी आउनुभएको छ। यस कार्यले कांग्रेस पार्टी र मेरो व्यक्तिगत चरित्र र पार्टीको आन्तरिक अनुशासन तथा अंगिकार गरेका मूलभूत विचार र सिद्धान्तलाई समेत खलल पुर्‍याएको छ,’ उजुरीमा उल्लेख छ।

बजगाईले कात्तिक २७ गते सामाजिक सञ्जाल एक्स र फेसबुकमार्फत आफूमाथि आधारहीन आरोप लगाएको र अराजक कार्यमाथि अनुसन्धान गरी आवश्यक कारबाही गर्न माग गर्दै मन्त्री पाण्डेले पार्टीमा उजुरी दिएका थिए।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै