होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, मंसिर २, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • उपचुनाव : सुदूरपश्चिममा ६ पदका लागि ३० जनाको उम्मेदवारी
देश/प्रदेश

उपचुनाव : सुदूरपश्चिममा ६ पदका लागि ३० जनाको उम्मेदवारी

  • नागरिक रैबार
उपचुनाव : सुदूरपश्चिममा ६ पदका लागि ३० जनाको उम्मेदवारी

सुदूरपश्चिममा छ पदमा हुने उपचुनावका लागि ३० जनाको उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालयले दिएको जानकारीअनुसार एक जिल्ला समन्वय समिति प्रमुख, एक उपाध्यक्ष र चार वडा अध्यक्षका लागि ३० जनाको उम्मेदवारी परेको हो ।

जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी परेको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख प्रेमराज भट्टका अनुसार कांग्रेसबाट टीकाकुमारी चौधरी भुल र नागरिक उन्मुक्ति पार्टीबाट रुकमती डगौरा थारूले मनोनयन दर्ता गराएका छन् ।

कांग्रेसकी चौधरी कैलारी गाउँपालिका– २ मा वडा सदस्य हुन् भने नागरिक उन्मुक्तिकी डगौरा टीकापुर नगरपालिकाकी कार्यपालिका सदस्य हुन् । नेकपा एमालेले भने मनोनयन दर्ता गराएको छैन । नेकपा एमाले सुदूरपश्चिमका सचिव रणबहादुर चन्दले मनोनयन दर्ता नगरेको बताउँदै सत्ता साझेदार दल नेपाली कांग्रेसलाई सहयोग गर्ने जानकारी दिए ।

विज्ञापन

१३ स्थानीय तह रहेको कैलालीमा जिल्ला समन्वय समितिमा कुल २६ मत छ । टीकापुर नगरपालिका उपप्रमुख खडकबहादुर शाह जग्गा घोटाला काण्डमा निलम्बित भएपछि २५ जनाले मतदान गर्न पाउनेछन् । यहाँ कांग्रेससँग आठ, नागरिक उन्मुक्ति पार्टीसँग सात, एमालेसँग पाँच, माओवादीसँग तीन, नेकपा एकीकृत समाजवादीसँग एक र स्वतन्त्र एक गरी २५ मत छ । जिल्ला समन्वय समिति कैलालीका तत्कालीन प्रमुख पदम कलेलको २३ पुस २०७९ मा निधन भएको । सोही दिनदेखि समन्वय प्रमुखको पद रिक्त छ । उनी कांग्रेसबाट निर्वाचित भएका थिए ।

स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पाँच जनाको उम्मेदवारी

बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार पाँच दलका पाँच जनाले मनोनयन दर्ता गराएका हुन् ।

प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टका अनुसार नेपाली कांग्रेसबाट पूलतीसरा शाही, नेकपा एमालेबाट सुलोचना भण्डारी बुढा, नेकपा (माओवादी केन्द्र)बाट राजुकुमारी विक, नेकपा (एकीकृत समाजवादी)बाट जवा शाही र राप्रपाबाट सुनादेवी थापा भोटे धामीले उम्मेदवारी दर्ता गराएका हुन् ।

गत वर्षको माघ पहिलो साता स्वामीकार्तिक खापर गाउँपालिकाका उपाध्यक्ष मैना जोशीको निधन भएको थियो । जोशीको क्यान्सरका कारण निधन भएपछि उपनिर्वाचन हुन लागेको हो । उनी २०७९ को स्थानीय तह निर्वाचनमा कांग्रेसका तर्फबाट गाउँपालिकाको उपाध्यक्षमा निर्वाचित भएकी थिइन् ।

चार वडा अध्यक्षमा २३ जनाको उम्मेदवारी

दार्चुलाको दुहु गाउँपालिका– ५ को वडा अध्यक्षमा चार जनाको मनोनयन दर्ता भएको छ । प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टका अनुसार नेपाली कांग्रेसबाट धनसिंह कुँवर, नेकपा एमालेबाट मानसिंह बडाल, माओवादी केन्द्रबाट वीरसिंह कार्की र लालबहादुर कुँवरको स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । माओवादी केन्द्रबाट निर्वाचित वडाध्यक्ष मनोरथ भट्टको २०८० असारमा निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।

यस्तै, डोटीको पूर्वीचौकी गाउँपालिका– ६ को वडा अध्यक्षका लागि चार जनाको उम्मेदवारी परेको छ । नेपाली कांग्रेसबाट मोहन थापा, माओवादी केन्द्रबाट डिबीलाल थापा, नेकपा एमालेबाट देवबहादुर थापा र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जानकी खड्का कुँवरको उम्मेदवारी परेको छ । त्यहाँ कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पुष्पराज जोशीको मंसिर २०७९ मा निधन भएको थियो ।

बझाङको सुर्मा गाउँपालिका–४ को वडा अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको प्रदेश निर्वाचन कार्यालयका प्रमुख भट्टले बताए । उनका अनुसार नेपाली कांग्रेसबाट धीरेन्द्र पुजारा, माओवादी केन्द्रबाट पुष्करबहादुर बोहरा र नेकपा एमालेबाट लक्षीचन्द्र बोहराको उम्मेदवारी परेको छ । एमालेबाट निर्वाचित वडाध्यक्ष सर्जन बोहराको २०८० जेठमा निधन भएपछि उपनिर्वाचन हुन लागेको हो ।

कञ्चनपुरको भीमदत्त नगरपालिका– ६ को वडाध्यक्ष पदका लागि १२ जनाको उम्मेदवारी परेको छ । कांग्रेसका प्रकाश चन्द, नेकपा माओवादीका नानाराम कोली, एमालेका बहादुर चन्द र स्वतन्त्र युवराज चन्दसहित १२ जनाले उम्मेदवारी दर्ता गराएका छन् । त्यहाँ कांग्रेसबाट निर्वाचित महेन्द्र खड्काको २०८० पुसमा निधन भएको थियो ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार

भर्खरै