नागरिक रैबार/बाजुरा २६ कार्तिक।बाजुराको बडीमालिका नगरपालिका वडा नम्वर– ६ स्थित जडागांमा करेन्ट लागेर घाइते भएका २ जनाको उद्धार कार्यमा प्रयोग गरिएको हेलिकप्टरको सम्पूर्ण खर्च बडीमालिका नगरपालिकाले बेहोर्ने भएको छ ।
गत भदौ ५ गते सोही नगरपालिकाको वडा नम्बर –६ स्थित जडागांमा कोर्दाली गाड लघुजलविद्युतको लाईन विस्तार गर्ने क्रममा घाईते भएका सोही वडाका २८ वर्षिया रुप बडुवाल र वडा नम्बर ४ का ३० बर्षिया राजेन्द्र नाथलाई हेलिकप्टर मार्फत उद्धार गरि जिल्ला बाहिरका सुविधासम्पन्न अस्पतालसम्म लगिएको थियो ।
करेन्ट लागेर घाइते भएका दुवैजनालाई बाजुराबाट हेलिकप्टर मार्फत उद्धार गरि सुविधासम्पन्न अस्पतालसम्म पुगाएको हेलिकप्टरको सम्पूर्ण खर्च बडीमालिका नगरपालिकाले बेहोर्ने निर्णय गरिएको नगरप्रवक्ता धर्मराज पाध्यायले बताएका छन् ।
करेन्ट लागेर घाइते भएका दुवै जनाको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि जिल्ला प्रशासन कार्यालय बाजुराको समन्वयमा थप उपचारका लागि हेलिकप्टर मार्फत उद्धार गरेर सुर्खेत र सुर्खेतमा समेत उपचार हुन् नसकेपछि काठमाण्डौं लगिएको थियो ।
जिल्लाबाट रिफर गरिएका दुवै जनालाई हेलिकप्टर मार्फत सुविधासम्पन्न अस्पतालसम्म उद्धार गरिएको सम्पूर्ण खर्च सम्वन्धित विरामीका परिवारले व्यहोर्नु पर्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाजुराले गृह मन्त्रालय, आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेश र सम्वन्धित वडालाई जानकारी गराएको थियो ।
घाइते दुवै जनालाई हेलिकप्टर मार्फत उद्धार गरिएको सम्पूर्ण खर्च विरामीका परिवारले वेहोर्नुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय बाजुराले जानकारी गराएपछि सम्वन्धित निकायको चर्को आलोचना समेत भएको थियो ।
घाइते दुवै जनाको परिवारको आर्थिक अवस्था कमजोर भएकाले हेलिकप्टर मार्फत उद्धार गरेको सम्पूर्ण खर्च बडीमािलका नगरपालिकाले वेहोर्ने निर्णय गरेको छ ।
बडीमालिका नगरपालिका –६ जडाङगामा कोर्दालीगाड लघुजलविद्युतको चुडिएको तार जोड्ने क्रममा उनीहरु दुवै जना पोलमा चढेको बेला राष्ट्रिय प्रसारण लाइन अन्तरगतको तारमा करेन्ट लागेर घाइते भएका थिए ।
घाइते भएका दुवै जनाको काठमाण्डौंमा उपचार भएको र अहिले दुवै जना उपचारपछि घर फर्किएको बडीमालिका नगरपालिका ६ का वडा अध्यक्ष कृष्ण खड्काले बताएका छन् ।
बाजुरामा विद्युतको लापरबाहीकै कारण हालसम्म ११ जनाको ज्यान गईसकेको छ । भने दर्जन बढी घाइते भएका छन् ।
फेसबुक प्रतिक्रियाहरु