होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शुक्रबार, कार्तिक २, २०८१
जोडिनुहोस
  • होमपेज
  • Uncategorized
  • दसैं मनाउन उपत्यकाबाट बाहिरिए ६ लाख
Uncategorized

दसैं मनाउन उपत्यकाबाट बाहिरिए ६ लाख

  • नागरिक रैबार
दसैं मनाउन उपत्यकाबाट बाहिरिए ६ लाख

काठमाडौँ — केही दिनअघिको अविरल वर्षा र त्यसले निम्त्याएको पहिरोको त्रासबीच घटस्थापनादेखि बुधबार बिहानसम्म ५ लाखभन्दा बढी यात्रु उपत्यकाबाट दसैंका लागि बाहिरिएका छन् । घटस्थापनादेखि दैनिक करिब १ लाख यात्रु बाहिरिरहेका बेला सोमबार र मंगलबार भने नारायणगढ–बुटवल सडकको दाउन्ने खण्डमा सडक भासिएपछि सहजै यात्रु बस उपत्यका भित्रन पाएनन् ।

यसले गर्दा बाहिरिने यात्रुको संख्या केही कम भएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता डीएसपी रविन कार्कीले बताए ।
घटस्थापनायता उपत्यकाका विभिन्न ठाउँबाट दसैंका लागि बाहिरिने सवारी चाप धेरै रहेको उनको भनाइ छ । ‘दसैंका लागि घर जाने यात्रुको चाप धेरै छ,’ उनले भने, ‘बिहीबार साँझसम्म ८ लाख हाराहारी यात्रु बाहिरिने अनुमान छ ।’ नारायणगढ–बुटवल सडकको दाउन्ने खण्ड एकतर्फी खुलाइएकाले नागढुंगाबाट उपत्यका भित्रने सवारीसाधनको संख्या भने कम रहेको उनको भनाइ छ ।

बाढी र पहिरोका कारण बन्द भएका राजमार्ग चाडबाडका लागि अस्थायी रूपमा मात्र सञ्चालनमा ल्याइएको छ । बीपी राजमार्गबाहेक मंगलबार साँझसम्म सबै राजमार्ग सञ्चालनमा आएको सडक विभागले जनाएको छ । तर त्यस्ता राजमार्गमा पानी पर्नासाथ पहिरो खस्ने जोखिम भने कायमै छ ।
राजमार्ग सञ्चालनमा आएसँगै दसैंका लागि उपत्यकाबाट बाहिरिने सवारी चाप बढेको छ ।

विज्ञापन

बीपी राजमार्गको काभ्रेभन्ज्याङ–नेपालथोक खण्डको १२ किलोमिटर सडक रोशी खोलाले बगाएको छ । यो ठाउँको केही–केही स्थानमा मात्र डाइर्भसन बनाएर सडक चलाइएको छ । दसैंअघि यो खण्ड सञ्चालनमा नआउने सडक विभागले जनाएको छ । सडक यात्रा जटिल बनिरहँदा दसैंका लागि उपत्यकाबाट घर जानेहरूको उत्साहमा भने कमी छैन । कलंकी, नयाँ बसपार्क, चाबहिल, कोटेश्वर, बल्खुलगायत स्थानमा टिकट काट्न र गाडी पर्खने यात्रुको दैनिक भीड लाग्ने गरेको छ । असोज १२ बाट अग्रिम टिकट बुकिङ खुलाइएको थियो । सुरुका दिनमा काउन्टर सुनसान जस्तै बनेका थिए ।
सडक खुल्छ खुल्दैन भनेर दसैंका लागि पूर्व–पश्चिम जाने यात्रुहरूमा अन्योल थियो । सडक खुल्दै गएपछि टिकट लिने र घर जाने यात्रुको चाप बढेको हो । घटस्थापनायता काठमाडौंको विभिन्न नाका हुँदै यात्रु बाहिरिरहेका छन् ।

विगत वर्षमा दसैंमा उपत्यकाबाट २० लाख हाराहारी यात्रु बाहिरिने गर्थे । यो पटक निजी सवारी साधन, हवाईमार्गसहित १० लाखभन्दा बढी यात्रु बाहिरिने यातायात व्यवसायीको अनुमान छ । सडक विभागका अनुसार मंगलबार साँझसम्म १४ स्थानमा सडक अवरुद्ध छ । बीपी राजमार्गको काभ्रेभन्ज्याङ–नेपालथोक सडक बन्द भएपछि भकुन्डेबेंसी–तेमाल–खैरेनी–सित्खा, नागढुंगा–मुग्लिन–नारायणगढ–हेटौंडा, चन्द्रागिरि–चित्लाङ–कुन्छाल–हेटौंडा र नौबिसे–पालुङ–हेटौंडा हुँदै सर्बसाधरण पूर्वतर्फ जाने गरेका छन् । सोमबार रातिबाट कान्ति राजमार्ग अस्थायी रूपमा सञ्चालनमा आएको छ । काठमाडौं–दक्षिणकाली– सिस्नेरी– कुलेखानी–हेटौंडा सडक पनि सञ्चालनमा आएको छ ।

बाढी र पहिरोले क्षति पुर्‍याएका धेरै सडक चाडबाडलाई दृष्टिगत गर्दै अस्थायी रूपमा सञ्चालनमा ल्याइएको सडक विभागका महानिर्देशक रामहरी पोखरेलले बताए । ‘बीपी राजमार्ग दसैंअघि सञ्चालनमा आउँदैन,’ उनले भने, ‘काम फूलपातीसम्म हुनेछ, दसैंपछि भने यो राजमार्ग सञ्चालनमा ल्याउँछौं ।’ अहिले एक लेन बनाएर चलाइएका सडकलाई दसैंपछि दुई लेन बनाएर चलाइने उनले जनाए । बाढीले बगाएका पुलमा दसैंपछि बेलिब्रिज राखिने उनले सुनाए ।

यता नारायणगढ–बुटवल सडकखण्डको दाउन्ने सडक भासिएर आवतजावतमा समस्या हुँदै आएको छ । यो सडकको विकल्पमा पोखराबाट स्याङ्जा हुँदै यात्रु गन्तव्यमा जान बाध्य छन् । त्यस्तै नागढुंगादेखि मुग्लिनसम्म विभिन्न खण्डमा एकतर्फी यातायात चलाइएको छ । महेशखोलामा सडक बगाएको र कृष्णभीरमा ५० मिटर सडक भासिएकाले यो खण्डमा एकतर्फी मात्र यातायात चलाउँदा ट्राफिक जाम बढी छ । त्यस्तै साना र साँघुरा पक्की पुल भएको खण्डमा समेत ट्राफिक जामको समस्या हुने गरेको छ ।

सडकका कारण समस्या भए पनि घर जाने यात्रुहरूको भीड रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । ‘घर जाने यात्रुको सबैभन्दा बढी भीड नयाँ बसपार्कमा छ,’ उनले भने, ‘यो भीड फूलपातीका दिनसम्म हुनेछ ।’ सरकारी निकायलाई पहिल्यैदेखि पटक–पटक सडक सुधारमा ध्यान आग्रह गर्दा पनि त्योअनुसार सुधार हुन नसकेको उनले गुनासो गरे । ‘सडक सहज नहुँदा समयमै गाडीहरू काठमाडौं आइपुग्दैनन्,’ उनले भने, ‘सडकको अवस्थाले गर्दा यात्रुले अग्रिम बुकिङ गर्न दिएको रकमसमेत फिर्ता गर्नुपरेको थियो, अहिले त्यो समस्या छैन ।’

बाढीपहिरोले गर्दा क्षति भएका सडक सञ्चालनमा आए पनि पहिलाको तुलनामा गन्तव्यमा पुग्न केही बढी समय लाग्ने गरेको यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले बताए । ‘यात्रा क्रममा केही समय बढी लागे पनि दसैंका लागि घर जानेहरूको भीड छ,’ उनले भने, ‘यसरी चाडबाडको मौका छोपेर बढी भाडा लिनेलाई उजुरीका आधारमा कारबाही गरिरहेका छौं ।’ टिकट काउन्टरमा विभाग र ट्राफिक प्रहरीहरूबाट नियमित अनुगमन भइरहेको उनले जनाए ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार