होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, मंसिर १७, २०८१
जोडिनुहोस
  • होमपेज
  • देश/प्रदेश
  • कांग्रेसले जित जोगाउन सकेन, एमाले र माओवादी सिट बढाउँदै
देश/प्रदेश

कांग्रेसले जित जोगाउन सकेन, एमाले र माओवादी सिट बढाउँदै

  • नागरिक रैबार
कांग्रेसले जित जोगाउन सकेन, एमाले र माओवादी सिट बढाउँदै

काठमाडौं । स्थानीय तहका रिक्त ४४ पदको उपचुनावमा अब नतिजा आउन ७ स्थान मात्र बाँकी छ ।अन्तिम नतिजा सार्वजनिक भएका मध्ये कांग्रेसले १७ स्थानमा जितेको छ । कांग्रेस उम्मेदवारले कोशी प्रदेशमा ३, मधेशमा २, लुम्बिनीमा ३, कर्णालीमा २ र सुदुरपश्चिमा ५ पदमा विजयी भएका छन् । अब नतिजा आउन बाँकी सबै क्षेत्र जित्यो भनेपनि कांग्रेसको सिट संख्या २४ मात्र हुन्छ

यो भनेको कांग्रेसले ०७९ मा जितेको सिट संख्या गुमाइसकेको छ । उपचुनाव भएका ४४ मध्ये कांग्रेसले जितेको २७ स्थानमा रिक्त भएको थियो ।

नेकपा एमाले र नेकपा माओवादीले केही सिट थपिसकेको छ । उपचुनाव भएका क्षेत्रहरुमा यसअघि माओवादीले जितेको ८ र एमालेले जितेको ७ स्थान रिक्त भएको थियो ।हालसम्मको परिणाममा एमालेले ८ पदमा जित निकालिसकेको छ भने माओवादीले सात स्थानमा जित निकालिसकेको छ ।

विज्ञापन

माओवादीले मोरङको ग्रामथान गाउँपालकामा जित निकालेको छ । यहाँ माओवादी केन्द्रका नमोनारायण माझी विजयी भए । माझीले ६९६९ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी कांग्रेसका बलराम सरदार थारुले ५३३३ मत पाए । एमालेका तुलसीराम विश्वास ४१५९ मत ल्याएर तेस्रो भए ।

यो पालिकामा २०७९ साल वैशाखमा सम्पन्न चुनावमा माओवादी केन्द्र तेस्रो स्थानमा थियो । त्यसबेला कांग्रेसका जयप्रकाश गच्छदार थारु ७६०५ मत ल्याएर विजयी भएका थिए । एमालेका शिवनारायण माझी ६०९३ मत ल्याएर दोस्रो हुँदा माओवादीका विजयकुमार सरदार २७२७ मतसहित तेस्रो भएका थिए ।

जाजरकोटको नलगाडको उपमेयरमा पनि माओवादीले जितेको छ । ४२७२ मत ल्याएर माओवादीकी देवका लामिछाने विजयी हुँदा कांग्रेसकी इन्द्रा चन्द सिंह ३१४७ मत ल्याएर दोस्रो भइन । एमालेकी सुनिता बोहरा २५४२ मत ल्याउँदै तेस्रो भइन ।

यो पालिकामा २०७९ सालमा माओवादी र कांग्रेसका बीचमा गठबन्धन थियो । गठबन्धनबाट मेयरमा माओवादीका डम्मरबहादुर रावत र उपमेयरमा कांग्रेसकी सरिता सिंह विजयी भएका थिए । २०८० कात्तिक १७ गते भूकम्पमा परी सिंहको मृत्यु भएपछि रिक्त पदमा भएको उपचुनावको परिणाम माओवादीले आफ्नो पक्षमा पारेको हो ।

एमालेले पनि विगतमा चुनाव नजितेको क्षेत्रमा चुनाव जितेको छ । दैलेखको महाबु गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका जंगबहादुर शाही विजयी भए । यसअघि कांग्रेसले जितेको यो पालिका अध्यक्षमा उपनिर्वाचन हुँदा एमालेले खोसेको हो । यससँगै कर्णालीमा एमालेले स्थानीय तहमा एक सिट थपेको छ ।

एमालेका शाहीले ३१२७ मत ल्याएर विजयी हुँदा कांग्रेसका झलकबहादुर भण्डारी २६७५ मत ल्याएर दोस्रो भए भने माओवादीका जंगबहादुर बरालमगरले ८४२ मत पाए ।बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्षमा पनि एमालेकी सुलोचनाकुमारी भण्डारी बुढा विजयी भएकी छन् ।

निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी पुल्तीसरा शाहीलाई पराजित गर्दै बुढा विजयी भएकी हुन् । बुढाले एक हजार ७४० मत प्राप्त गरेकी छन् भने कांग्रेसकी शाहीले एक हजार ४७४ मत पाइन् ।

२०७९ सालको निर्वाचनमा विजयी कांग्रेसकी मैनादेवी जोशीको निधन भएपछि स्वामीकार्तिकमा उपनिर्वाचन भएको हो ।जसपा नेपालले गत चुनावमा जितेको मध्ये एउटा पद मात्रै रिक्त भएको थियो । यो उपचुनावमा जसपा नेपालले दुई पद जितिसकेको छ ।एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीले पनि जितेर एक/एक सिट थपिसकेको छ ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार