आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनामा चितवन क्षेत्र नम्बर २ का उम्मेदवार तथा रास्वपाका उम्मेदवार रवि लामिछानेले आफ्नै यसअघिको रेकर्ड ब्रेक गरेका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भन्दा पनि धेरै मत पाएर उनले रेकर्ड ब्रेक गरेका हुन् ।
जारी मतगणनामै उनले यसअघि आफूले पाएको भन्दा धेरै मत पाइसकेका छन् । उनले गत निर्वाचनमा ४९ हजार ३०० मत पाएर विजय हासिल गरेकामा मंगलबार बिहानसम्मको अध्यावधिक विवरणअनुसार ५० हजार मत कटाइसकेका छन् ।
लामिछानेले ५० हजार २९ मत पाएका हुन् । अझै पनि चितवन २ को मतगणना जारी रहेको छ भने लामिछानेको विजय सुनिश्चित भइसकेको छ।
नागरिकता विवादमा यसअघि लामिछानेको पद गएसँगै चितवन २ मा उपनिर्वाचन भएको हो ।सर्वोच्च अदालतको आदेशअनुसार पद गएपनि आफ्नो नागरिकता जिल्ला प्रशासन कार्यालयबाट पुनः कायम गराएसँगै उनलाई चुनाव लड्ने बाटो खुला भएको थियो ।
फेसबुक प्रतिक्रियाहरु