होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

सोमवार, अशोज १४, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • अत्यधिक चिसोले मनाङका गाउँ रित्तै
समाचार

अत्यधिक चिसोले मनाङका गाउँ रित्तै

  • नागरिक रैबार
अत्यधिक चिसोले मनाङका गाउँ रित्तै

लमजुङ — मनाङको विकट फू गाउँकी कर्साङ लामा घरमा ताल्चा मारेर काठमाडौं पुगेको दुई महिना भयो । घरको अवस्था कस्तो छ भन्ने उनलाई थाहा छैन । फू गाउँकै संगे खन्डो लामाको परिवारले पनि घर छाडेको डेढ महिना भयो । घरको अवस्था कस्तो छ भन्ने उनलाई पनि जानकारी छैन ।

उनले खबर पाएका छन् कि गाउँ हिउँले ढाकेको छ, चिसो अत्यधिक छ । ‘गाउँमा कोही छैनन् । गाउँ हिउँले ढाकेको छ । कोही–कोही बस्तुभाउ हेर्ने भनेर बसेका छन्,’ कर्साङले भनिन्, ‘हामी काठमाडौं छौं । अहिले गाउँमा कोही छैन ।’ नार्पाभूमि गाउँपालिका–५ का वडाध्यक्ष सोनाम तेजे लामाले गाउँमा कोही नभएको पुष्टि गरे । ‘गाउँमा बस्न चिसोले सक्दैन । कोही बस्दैन,’ उनले भने ।

नार्पाभूमि गाउँपालिका अध्यक्ष मिङ्मा छिरिङ लामाका अनुसार नार र फू गाउँमा कोही छैनन् । सबै काठमाडौं, पोखरा, बेंसीसहर झरेका छन् । नार समुद्र सतहको ४ हजार २ सय ८५ मिटर उचाइका पर्छ भने फू (४ हजार ५० मिटरमा छ । फू गाउँका केही बासिन्दा ३ हजार ८ सय ४० मिटरमा रहेको क्याङमा झरेका छन् । नारका केही च्याँखु (३,७३५ मिटर) र मेता (३,५७० मिटर) बीचको च्याप (३,६२० मिटर) मा झरेका छन् । केही मेता र च्याँखुमा छन् । त्यही ठाउँमा पनि हिमपात भएकाले बस्ने अवस्था छैन । गाउँपालिकाका कर्मचारी, प्रहरी तथा बैंकका कर्मचारीसमेत नरहेको उनले बताए । ‘अहिले त गाउँमा कोही छैन ।

विज्ञापन

सबैका घरमा ताल्चा लागेको छ,’ उनले भने, ‘यस्तो चिसोमा गाउँमा गएर के फाइदा ? सबै बेंसी झरेका छन् । अब फागुन–चैतमा फर्किन्छन् ।’

नार्पाभूमि नेपालमै सबैभन्दा कम घर र जनसंख्या भएको स्थानीय तह हो । जनगणना २०७८ अनुसार कुल घर संख्या १ सय २५ छ । महिला २ सय २८ र पुरुष १ सय ७० गरी नार्पाभूमि गाउँपालिकामा कुल ३ सय ९८ जनसंख्या छ । भौगोलिक अवस्थाले निकै विकटमा रहेको नार्पाभूमि पुग्न मनाङ सदरमुकाम चामे नजिकै कोतोबाट हिँडेर मुस्किलले २ दिन लाग्छ । तिब्बत सीमा नजिकैको उक्त गाउँमा मोटर बाटो पुगेको छैन । हिमपात र चिसो छल्न गाउँघर छाडेका नार्पाभूमिका नागरिकले २ देखि ३ महिना आफ्नो गाउँघर देख्दैनन् ।

मनाङ ङिस्याङ गाउँपालिका अध्यक्ष कान्छा घलेका अनुसार गाउँपालिकाका ७५ प्रतिशत बासिन्दा अहिले जिल्ला बाहिर छन् । ‘हिमपात छ । चिसो छ । बूढाबूढी, बालबच्चालाई चिसो लाग्छ । यो समय गाउँघरमा कोही बस्दैनन्,’ उनले भने, ‘न काम गर्न सकिन्छ, न बस्न । सबै अहिले तलतिरै छन्,’ उनले भने । उनका अनुसार विकास निर्माणका काम चिसोका कारण ठप्प छ । मनाङकै मनाङ, टंकी मनाङ, खाङ्सार, ङावल, घ्यारू, पिसाङका अधिकतर स्थानीयवासी अहिले गाउँमा छैनन् । ‘गाउँका घरमा ताल्चा लागेको छ । केही घर रुङ्न बसेका छन् नत्र कोही छैन,’ उनले भने ।

पछिल्लो तथ्यांकअनुसार स्थानीय तहगत रूपमा मनाङको जनसंख्या महिला २ हजार ३ सय ७८ र पुरुष २ हजार ५ सय ४७ गरी ४ हजार ९ सय २५ जना छ ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यका अनुसार माथिल्लो मनाङको मनाङ ङिस्याङ गाउँपालिकाका बासिन्दा प्रायः जिल्ला बाहिर छन् । चामे गाउँपालिकाका पनि अधिकांश जिल्ला बाहिरै छन् । नार्पाभूमिका स्थानीय मेता, च्याँखु र क्याङमा बसेकाले आधाजसो मात्रै बाहिरी जिल्ला रहेको हुन सक्ने उनले बताए । तल्लो क्षेत्र नासों गाउँपालिकाका धेरैजसो आफ्नै गाउँघरमा छन् । थोरै मात्र जिल्ला बाहिर छन् । ‘यति नै जिल्ला बाहिर छन् भनेर भन्न सक्ने अवस्था छैन । मनाङी हिमपात, चिसो छल्न जिल्ला बाहिर छन् । फागुन–चैतमा फर्किन्छन्,’ उनले भने ।

मनाङमा रातको समय माइनस २० डिग्रीसम्म तापक्रम झरेको थियो । केही दिनयता घाम लागेकाले दिउँसोको समय केही न्यानो हुँदै आएको प्रजिअ आचार्यले बताए । हिमपात रोकिएपछि मनाङीहरू बिस्तारै गाउँघर फर्किन्छन् । अहिले चक्रीय अन्नपूर्ण पदमार्गका होटल व्यवसायी पनि गाउँघरमा छैनन् । ‘कार्यालयमा सेवाग्राही घटेका छन् । विकास निर्माण ठप्प छ,’ उनले भने । खाली घरको रेखदेख, सुरक्षा र निगरानी प्रहरीले गरिरहेको उनले बताए ।

हिमपात र चिसो छल्न झरेका मनाङी सहरमा विभिन्न व्यवसाय गर्छन् । मनाङबाट प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले हिमपात र चिसो छल्न काठमाडौं झरेका मनाङी विभिन्न धर्मकर्मको यात्रामा जाने, पूजापाठ गर्ने, घुमघाम गर्ने गर्छन् । ‘हरेक वर्ष मनाङीले जिल्ला छोड्छन् । गाउँ नफर्केसम्म मनाङी भेटघाट गर्ने, सुखदुःखका कुरा गर्ने, घुमफिर गर्ने, पूजापाठ गर्ने काममा व्यस्त हुन्छन्,’ उनले भने, ‘हिमपात र चिसो हट्दै गएपछि मनाङीहरू गाउँ फर्केर आ–आफ्नो काममा लाग्छन् । व्यापार व्यवसाय, विकास निर्माणमा खटिन्छन् ।’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार