काठमाडौं । नेकपा एमाले सांसद भीमबहादुर रावलले सरकारले स्टेट पार्टनरसीप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने भनेर अमेरिकालाई लेखेको पत्र तत्काल सार्वजनिक गर्न माग गरेका छन् ।
बिहीबार काडमाडौंमा आयोजित कार्यक्रममा सांसद रावलले पत्र पठाए–नपठाएको जनताले थाहा पाउनुपर्ने बताए ।
देशव्यापी विरोधपछि एसपीपी रोकिएको भन्दै उनले भने, ‘त्यो पत्र निसंकोच बाहिर ल्याउनुपर्छ । अमेरिकालाई लेखेको पत्र नेपाली जनताले थाहा पाउनुपर्छ ।’ पूर्वमन्त्री समेत रहेका रावलले गठबन्धन सरकारले बाह्य हस्तक्षेपलाई खुला छाडेको आरोप लगाए ।
७ भन्दाबढी देशका शरणार्थी नेपाल आएर आन्दोलन गर्दासम्म सरकार कानमा तेल हालेर बसेको भन्दै उनले भने, ‘६ देखि ७ देशमा शरणार्थीहरु नेपालमा आएर धर्ना दिइरहेका छन् । एउटा विदेशी कपाल खैरो, छाला गोरो भएकी एउटा महिलाले बोलिरहेको देखेँ । यो देशमा गृह मन्त्रालय कहाँ छ ? परराष्ट्र नीति कहाँ छ ?’
उनले अघि भने, ‘कि हवाई जहाजबाट आउनुप¥यो । नभए भारतबाट आउँछन् । शरणार्थी अर्काको देशमा पठाउन पाइँदैन । अनि कसरी नेपालमा आए ?’
फेसबुक प्रतिक्रियाहरु