काठमाडौं । चालु वसन्त ऋतुमा हुने हिमाल आरोहणलाई अनुगमन तथा सहजीकरण गर्न समिति गठन भएको छ ।पर्यटन विभागका निर्देशक सूर्यप्रसाद उपाध्यायको संयोजकत्वमा सरोकारवाला निकायका प्रतिनिधि राखेर समिति गठन भएको विभागले जनाएको छ ।
विभागका अनुसार सन् २०२२ को वसन्त ऋतुमा खुम्बु क्षेत्रमा हुने पर्वतारोहणसम्बन्धी विभिन्न गतिविधिलाई नियमित, मर्यादित र व्यवस्थित बनाउने काममा आवश्यक समन्वय तथा सहजीकरणमा यो समिति सक्रिय हुने छ ।
समितिको सदस्यमा सेनानी किशोर अधिकारी, प्रहरी नायव उपरीक्षक तर्कराज पाण्डे र सगरमाथा आरोही संघबाट निशा अधिकारी सदस्य तोकिएका छन् । साथै, हिमालयन उद्धार संघ, सगरमाथा प्रदूषण नियन्त्रण समितिबाट एक/एक जना प्रतिनिधिलाई समेत सदस्य तोकिएको छ ।
नापी अधिकृत खिमलाल गौतमले सदस्य सचिवको भूमिका निर्वाह गर्ने भएका छन् । वसन्त ऋतुमा सगरमाथा क्षेत्रमा आरोहीको ठूलो भीडभाड लाग्ने गर्छ । विभागका अनुसार अहिले आरोहीलाई अनुमति दिन सुरु भइसकेको छ ।
फेसबुक प्रतिक्रियाहरु