



काठमाडौं। नेकपा एमालेका सचिव गोकर्ण विष्टले सरकार स्थानीय तहलाई जनप्रतिनिधिविहीन बनाउने षड्यन्त्रमा लागेको आरोप लगाएका छन्। विष्टले शुक्रवार सामाजिक सञ्जालमार्फत संविधान र कानुनको अपव्याख्या गर्दै गठबन्धनको सरकार आगामी वैशाखमा हुनुपर्ने स्थानीय तहको निर्वाचन टार्ने प्रपञ्चमा लागेको आरोप लगाएका हुन्।
‘निर्वाचन आयोगले आगामी वैशाख महिना भित्रै सम्पन्न गर्नेगरी निर्वाचनको मिति घोषणा गर्न पटक पटक सरकारको ध्यान आकृष्ट गरिरहेकै बेला सत्ता गठबन्धन भने लोकतान्त्रिक अभ्यासको बर्खिलापमा चुनाव टार्ने प्रपञ्च गरिरहेको छ,’ विष्टले भनेका छन्, ‘आगामी स्थानीय तहको निर्वाचनमा प्राप्त हुन सक्ने परिणामबाट तर्सिएर चुनाव नै सार्न जालझेल रच्ने पार्टीहरूबाट संविधान, लोकतन्त्र र जनादेशको संरक्षण हुन सक्दैन।’
उनले लोकतान्त्रिक अभ्यासबाट नभाग्न सुझाव दिँदै संविधानको कार्यान्वयनका लागि अविलम्ब स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न आग्रह गरेका छन्। निर्वाचन आयोगले ताकेता गर्दा पनि सरकारले चुनावको मिति घोषणा गरेको छैन। स्थानीय तह निर्वाचन ऐन संशोधनको तयारी गरिएको छ।





फेसबुक प्रतिक्रियाहरु