‘ए ! उठ् उठ् बुहारी भएर पनि यति अबेरसम्म सुतिराख्ने हो ?
सुनिनस् बाहिरको कुचाको आवाज ? मेरी आमा उठेर अघिदेखि घर बढार्दै हुनुहुन्छ ।’
बेडमा सँगै सुतेका श्रीमानका रुखा वचनसँगै भर्खरै चिम्लिएका मेरा आँखा खुल्छन् । सिरानीमुनिको मोबाइल झिकेर समय हेर्छु, पाँच बज्न खोज्दै रहेछ ।
राति अबेरसम्म चलेको विवाहको भीडभाडले समयमै सुत्न पाएकी थिइनँ । त्योमाथि दिनभरि जग्गेमा काम गर्दाको थकान थपिएको थियो । मैले कान थापेर बाहिरको आवाज सुन्न खोज्छु । बाहिरबाट कुचाको खर्याक-खर्याक आवाज आइरहेको हुन्छ । मलाई कुचाको आवाज पनि श्रीमानको झैं रूखो लाग्छ ।
म हत्त न पत्त आफ्नो कपडा समेट्दै उठ्छु र बाहिर निस्कन्छु । बाहिर अँध्यारै छ । सम्झन्छु आफ्नो घर । होइन, मैले अब म जन्मेर हुर्केको त्यो घरलाई आफ्नो घर भन्नु हुँदैन। अझ घरै भन्नु हुँदैन। माइती भन्नुपर्छ ।
एउटी नारीले पालेको सप्तरंगी सपनामा विवाहपछि जन्मघरलाई माइती भन्नुपर्छ। सोच्दै पनि झसंग हुन्छु । अनि सम्झन्छु आमाको हिजो बिदाइ गर्ने बेलाको रोदन । बाबाको वेदना । भाइ दौडिंदै भित्र गएर घ्वाँघ्वाँ रोएको क्षण । अनि दादाको जिम्मेवारीको बोझले थिचिएको मलिन अनुहार । यही अहिलेको बिहानी अँध्यारो जस्तै ।
मलाई बिहानको अँध्यारो देख्दै औडाहा हुन्छ । किन किन डाँको छाडेर रुन मन लाग्छ । तर सक्दिनँ । अगाडि सासूको रवाफिलो अनुहार देखेर आफूलाई हत्तपत्त सम्हाल्छु र उनको खुट्टा ढोग्छु । अनि उनका हातबाट कुचो लिएर कुचोलाई आँगनमा चलाउँछु । लाग्छ मेरा सप्तरंगी सपनामाथि कुचो चलाइरहेछु ।
उज्यालो बिहान सुरु हुन्छ । तर मन उज्यालिएको हुँदैन । त्यति धेरै कुरा त मैले बिहेअघि पनि सोचेकी थिइनँ होला जति त्यो बिहानमा मेरो मनमा कुरा आएका हुन्छन् । मन कत्ति पनि खुसी भए जस्तो हुँदैन । कसो गरुँ, के गरुँ । पेट बटारिएर वान्ता हुन खोजे झैं मन बटारिएर रोइदिउँ झैं हुन्छ । तर सक्दिनँ ।
नयाँ मान्छे घरमा भित्रिएकाले होला सबको अनुहार आफूतिर तानिएको देख्छु र फेरि सम्हालिन्छु । यसरी आफूलाई बगाउँदै, रोक्दै, बगाउँदै, रोक्दै गर्ने प्रक्रियामा जसोतसो दिन बित्दै जान्छन् ।
मलाई थाहा छ यो प्रतिनिधि कथा होइन । सबैका जीवनमा यस्तै हुन्छ भन्ने पनि छैन । मैले मेरै साथीहरुले घरजम गरेको देखेकी छु । पढ्न खोज्नेहरू पढ्दैछन् । कोही आफ्ना सप्तरंगी सपनासँग खेल्दै छन् ।
मेरै जस्तो सप्तरंगी सपना तुहाएर बसेका मैले भेटेकी छैन । तर सुनेकी छु, दूरदराज गाउँका महिलाका कथाव्यथाका रूपमा कथाकारहरुले लेखेका कथाहरु । ती कथाहरू पढेर उतिबेला मन फुरुक्कै हुन्थ्यो । आँखा भिज्थे ।
तर तिनलाई कथाको कोटी भन्दा माथि उचाल्न सकेकी थिइनँ । सोच्थें ती मात्र कथा हुन् । कथाकारले आफ्ना शब्दहरूमा मिलाई मिलाई मिसाएका पीडा र संवेदनाले भिजेका कथा । लाग्थ्यो ती कथा केवल पढेर आँसु बगाउनका लागि हुन् ।
आज तिनै कथाकी पात्र जस्ती स्वयं बन्नुपर्दा भित्रभित्रै जलिरहेकी छु । र, मलाई थाहा छ मेरो यो जलनलाई पनि कतिपय पाठकले मैले झैं नै कथाकारले मिलाई मिलाई मिसाएका पीडा र संवेदनाका शृङ्खला ठान्नुहुन्छ होला ।
मैले अहिले स्वयंले भोगेपछि बल्ल थाहा पाएँ । कुनै कुनै महिलाका जीवनमा कतिसम्म भयानक पीडाले लखेट्न सक्दोरहेछ ।
आक्कलझुक्कल घरमा देखा पर्ने श्रीमानका आँखामा मायाको लेस पनि छैन। मानिस बुहार्तन भनेको ऊ जमानाको कुरा भन्छन् । तर मैले प्रत्यक्ष भोगिरहेकी छु । सासूससुराको बुहार्तन पनि तुच्छ हुँदो हो यदि आफ्ना भनाउँदा श्रीमानको आडभरोसा भएको भए ।
तर उनी श्रीमान् भन्दा सुराकी बढ्ता लाग्छन् । थोरै कुरो भेट्टाउन हुँदैन हप्कीदप्की सुरु हुन्छ । वचनको बाणले मुटु छलनी छलनी हुन्छ । उनी कतैबाट पनि श्रीमान् जस्ता लाग्दैनन् । घरि म कुनै व्यस्त अफिसकी पिउन हुँ र उनी त्यहाँका हाकिम हुन् कि जस्तो लाग्छ । घरि म रुख हुँ र उनी दाउरे हुन् जस्तो लाग्छ ।
म माइती फर्कंदा घर जाँदा लाने कोसेलीका भारी भन्दा ठूला गुनासोका पोका हुन्छन् । बुबा, आमा, दाइ, भाइका समक्ष पोकाहरु खोल्छु । मेरा कुराले सबैका आँखा भिज्छन् । घरमा खुलेर रुन नपाएकी म घरी आमालाई र घरी दादालाई समातेर रुन्छु ।
तर घर फर्कने बेलामा सबैले मैलाई सम्झाउने काम गर्छन्- ‘यस्तै हो छोरी जुन घरमा पनि । तँ बहादुर छस् । जोरीपारिलाई घर खाएर देखा । तँ आफूले चाहिं कत्ति झगडा नगरेस् ।’ म बुझ्दिनँ, सम्झाउनुपर्ने मलाई हो कि मेरा श्रीमानलाई हो ? मलाई हो कि मेरी कुरौटे सासूलाई हो ?
म बिस्तारै त्यो संसारमा भुल्ने कोशिश गर्न थाल्छु, जहाँ मलाई कहिल्यै भुल्नु थिएन । मैले कल्पनै गरेकी थिइनँ कि बुहारी हुनु, बिहान चार बजेपछि उठ्ने सुरसार गर्नु, घरबडारकुडार, चियापान, खानेकुराको सुरसार, भाँडाकुँडा, दिउँसो हुँदै गर्दा खाजा, बेलुकीको खाना । अनि घरधन्दाबाट फुर्सद मिल्नासाथ भैंसीको भकारो, घाँसपात…।
सुत्नु अगाडि भैंसीलाई एक बिटो पराल । त्यसबाट पनि फुर्सद मिल्दा लोग्नेको घोचपेच र सासूको गुनासो सुन्नु नै मेरो दैनिकी हो । के मैले यही क्रम दोहोर्याइ दोहोर्याइ जिन्दगी चलाउनुपर्छ अब ? सोच्दै कहाली लाग्छ । मेरा सप्तरंगी सपना कुन कुनामा धूलोले पुरिए थाहा छैन ।
‘आमा मैले के यो लोग्ने छाड्न मिल्दैन ? त्यो जीवनमा त म बाँचेकै छैन । म मात्रै मन भएकी मेसिन बनेकी छु । मन नभए सहन सक्थें होला । यो सप्तरंगी सपना बुनेको मन पनि सँगै छ । क्यारुँ आमा ?’
‘दादा भन्नुस् न म त्यो घरमा नजान हुन्न ?’
‘त्यसो नभन् छोरी । त्यसो नभन् बहिनी । त्यसो नभन् दिदी । फेरि हामीले यो गाउँमा कसरी मुख देखाउने ? तैंले त्यसो गरिस् भने त हाम्रो इज्जतै जान्छ नि । दाइभाइको बिहे हुनै बाँकी छ ।’
अन्यायसँग लड्दा इज्जत कसरी जान्छ म बुझ्दिनँ । त्यो घरको पो इज्जत जानुपर्ने हो, जहाँ म विवाहित बनेर पसें । स्वास्नीलाई मरणासन्न हुनेगरी कुट्ने लोग्नेको पो इज्जत जानुपर्ने हो ।
छरछिमेकमा आफ्नै बुहारीको कुरा काट्दै हिंड्ने सासूको पो इज्जत जानुपर्ने हो । हाम्रो कसरी इज्जत जान्छ ? मेरो मनमा बारम्बार यो प्रश्न मडारिइरहन्छ । अनि सोच्छु- ‘बरु हाम्रो त इज्जत हुनुपर्ने । नारीलाई प्रताडना गरेको सहन नसकेर छोरीलाई घररुपी नर्कबाट छुटाएर माइतै राखे अरे । यो घरका मान्छे नारी प्रताडनाका खिलाफ रहेछन् । छोरी दिनु त यस्ताका घरमा । यस्तो पो सोच्नुपर्ने ।’
एकान्तमा बसेका बेला खाली सोचिरहन्छु । मेरो जिन्दगी यति मात्रै होइन । मेरो लक्ष्य यो मात्रै होइन । मेरो सप्तरंगी सपना त फरक छ । सप्तरंगी सपनाले बुनेको मेरो रहर त फरक छ । मैले कसरी यो व्यवहार खपेर आफ्नो सपनालाई सँगसँगै अघि लैजाने सक्छु ?
मनमनै धेरै विचार गरेपछि निर्णयमा पुग्थें- ‘अँहँ म सक्दिनँ ।’
घरी लाग्छ- ‘सारा दुनियाँ यही त गरेर बसेको छ । फेरि मैले किन नसकुँला र ?’
मैले अघि नै भनेकी थिएँ यो प्रतिनिधि कथा होइन । वास्तवमा सारा दुनियाँले यही गरेर बसेको छैन । एकाध होलान् । तिनै एकाधमा म पनि पर्छु । मैले जस्तै तिनले पनि विद्रोह गर्दै होलान् ।
यसको विकल्प भनेकै विद्रोह हो । तर यति सोचिसकेर एकान्तबाट उठ्ने बेलामा विद्रोहको भावना बिजुली मिल्के झैं मिलिक्क गरेर हराउँछ । किनकि म एक्ली छु । साथमा फुटेको कौडी छैन । पैसा विना एक्लै विद्रोह गर्न गाह्रो छ । विद्रोहका लागि माइतीको साथ चाहिन्छ जो मेरा लागि दुर्लभ बनेको छ ।
माइत गएर आमा, दादाले सम्झाएर पठाएको पनि लगभग एक महिना बितेछ । एउटै रुटिङमा जिन्दगी बिताउन थालेको त तीन महिना भन्दा बढी भएछ । म कविता लेख्थें । कथा लेख्थें । तीन महिना भइसकेछ बिहे गरेको । मैले कविता नलेखेको । कथा नलखेको ।
उसलाई मैले कविता लेखेको मन पर्दैन । मैले कथा लेखेको पनि मन पर्दैन । मैले पढेको, इलम गरेको, अगाडि बढेको केही मन पर्दैन । ऊ भन्छ, पढ्ने भनेको त पुरुषले हो । इलम गर्ने पनि पुरुषले नै हो । नारी त फगत् उसको स्याहारसुसार गर्ने परिचारिका हो । नोकर्नी हो ।
वास्तवमा मेरी आमाले कसैलाई पकाएर खुवाउनका लागि, कसैको मैलो कपडा धोइदिनका लागि र कसैको ख्याल राख्नका लागि मात्रै भनेर मलाई ठूली बनाइएकी होइनन् । मलाई अर्काको घर कसैको जिम्मा लगाएर पठाइदिएकी होइनन् ।
आमालाई लाग्दो हो छोरीले केही गरोस् । दादालाई पनि लाग्दो हो बहिनीले केही गरोस् । तर म चुपचाप घाँसका सप्कामा कविता पोखिदिन्छु र खाना पकाउँदै गर्दा कथा बोलिदिन्छु ।
मबाट विस्तारै सबै कुरा छुट्दै गइरहेका छन् । आफ्ना साथीहरुको सर्कल बिरानो हुन थालेको छ । न कोही साथीसँग भेट्न पाउँछु न कसैसँग कुरा गर्न । मलाई सम्पर्कविहीन पार्दै लगिएको थियो ।
किन किन मलाई जुन घर सुम्पिइयो त्यो घर आफ्नो जस्तै लागेन । जुन मान्छे तेरो हो भनेर दिइयो, भनियो त्यो मान्छेले त झन् कहिल्यै मायाका दुई शब्द बोलेन ।
यसरी श्रीमानका नमिठा वचन र घर परिवारको छुद्र व्यवहारले म टुट्दै जान्छु । गल्दै जान्छु र बिस्तारै म असन्तुष्टिको भारीले यसरी थिचिन्छु कि म उठ्नै नसक्ने गरी लम्पसार पर्छु । र, बल गरेर आफ्नो कथा लेख्न खोज्छु तर अहँ सक्दिन ।
फेसबुक प्रतिक्रियाहरु