गाउँ होस् वा शहर बजार जहाँ भए पनि गर्भपतन गराउने चलन नयाँ होइन। पहिलादेखि नै अवैध र इच्छा विपरीत बसेको गर्भ तुहाउने वा पतन गर्ने चलन यहाँको समाजमा रही आएको छ। तर त्यो घरमै ज्यानलाई जोखिममा राखरे अप्राविधिक व्यक्तिबाट जबरजस्त शैलीमा भइरह्यो।
जब स्वास्थ्य संस्थामा सहज रुपमै गर्भपतन सेवा गाउँमा पुग्यो, त्यो बेला धेरैलाई जानकारी नै भएन, भएकाहरु पनि सहज सेवा लिनका लागि स्वास्थ्य संस्था जान तयार भएनन्। समाजको गलत सोच, अशिक्षा र अन्धविश्वास प्रमुख कारण बन्यो। जुन समस्याले यहाँका महिलाहरुको स्वास्थ्यमा जोखिम बढ्यो, कयाैंले ज्यान गुमाउनु पर्ने बाध्यता भयो र आर्थिक रूपमा समेत ठूलो नोक्सानी बेहोर्नु पर्यो।
तर पछिल्लो केही वर्ष यता भने यहाँका महिलाहरुमा सोच नै फेरिएको अवस्था छ। सुरक्षित गर्भपतन सेवाका लागि स्वास्थ्य संस्था जान आफू मात्र तयार छैनन्, अरुलाई समेत सचेत गराउने र सहयोग गर्ने गरेका छन्। गाउँमा रहेका स्वास्थ्य आमा समूहरुले नै सुरक्षित गर्भपतन सेवाबारे जानकारी गराउने गरेको गौमुलकी निशा रोकायाको भनाइ छ।
स्वास्थ्य आमा समूह अन्तर्गत टोल-टोलमा स्वास्थ्य, पोषण, लैगिंक हिंसा लगायतका विषयमा प्रत्येक महिना छलफल हुने गरेको छ। गर्भपतन गराउने कुरा यहाँको समाजमा लाजको विषय हो, भन्ने मान्यता थियो। सबैलाई जानकारी गराउनु हुँदैन, गोप्य रुपमा जति पीडा भए पनि थाहै नदिने गरी समाधान गर्नुपर्ने परम्परावादी सोचमा समेत परिर्वतन आएको अवस्था छ।
अवैध सम्बन्ध वा नचाहेरै गर्भ बसेको अवस्थामा यहाँका समाजमा वैद्यकहाँ लिने, पुरानो शैलीमा गर्भ पतन गराउने गर्ने अवस्थाको नै अन्त्य भएको बाजुरा जिल्ला अस्पतालका सूचना अधिकारी नृपराज गिरीले बताएका छन्। बाजुरामा मात्र १८ बढी स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सञ्चालनमा छ।
१० देखि २८ हप्तासम्मको गर्भ पतन गराउने सुविधा राज्यले कानुनी रुपमा दिएको छ। तर अशिक्षा, अज्ञानता र अन्धविश्वासका कारण महिलाहरुले लाजले अवैध बाटो नै प्रयोग गर्ने अवस्था पूर्ण रुपमा सकिएको छैन। तर पनि धेरै कम भएको देखिन्छ। आर्थिक नोक्सानी, ज्यानको जोखिमको दृष्टीकोणमा सुरक्षित गर्भपतन सेवाको निकै प्रभावकारीता रहेको छ।
सूचना अधिकारी गिरीका अनुसार बाजुरा र अछाममा आइपास र पीसविनको सहकार्यमा सुरक्षित गर्भपतन सेवा कार्यक्रम नै सञ्चालनमा छ। यस्ले गर्दा पनि सेवा थप प्रभावकारी भएको देखिन्छ। गाउँमा स्वास्थ्य आमा समूहमा नियमित छलफल नै हुने गरेको स्वास्थ्य कर्मी पार्वती जैशीले बताईन्।
आमा समूहको बैठक मासिक बस्ने गर्छ। बैठकमा किशोरीहरुलाई पनि बोलाइन्छ। त्यहाँ योन तथा प्रजजन स्वास्थ्य, परिवार योजना, पोषण शिक्षा र लैगिक हिंसा बारे छलफल हुने गरेको छ। आमा समूहकै सचेतना र छलफलबाट सुरक्षित गर्भपतन सेवा प्रभावकारी बन्दै गएको भन्छिन् बुढीगंगाकी शुशिला मिजार। मिजार पीसपिन अन्तर्गतको सुरक्षित गर्भपतन सेवाको समुदायिक अगुवा कार्यकर्ता हुन्। उनीहरुले नै आमा समूहमा सहजीकरण र सचेतना दिने गरेका छन्।
बाजुराको बुढीगंगा र गौमुल अछामको मेल्लेख, चौरपाटी र बान्नीगढी गरि पाँच वटा पालिकामा मात्र ४२ जना सामुदायिक अगुवा राखिएका छन्। दुर्गम क्षेत्रका महिलाहरुलाई यौन तथा प्रजनन स्वास्थ्य बारे जानकारी दिनु, सुरक्षित गर्भपतन सेवा बारे जानकार गराउनु र परिवार योजना बारे शिक्षा दिने उदेश्यले राखिएको अछामकी हिउँकला तिमिल्सेनाले बताएकी छन्।
लाज हटाउने, अनेपेक्षित गर्भ रोक्न परिवार नियोजनका साधनको प्रयोग गर्ने र असुरक्षित गर्भपतन सेवा पूर्ण रुपमा रोक्ने नीति परियोजनाले लिएको आइपास र पीसविन सुरक्षित गर्भपतन सेवा परियोजना प्रमुख धर्मबहादुर रोकायाले बताएका छन्।संविधानले नै सुरक्षित गर्भपतन सेवालाई संवैधानिक हकका रुपमा राखेको छ।
महिलाको अति संवेदनशील विषय भएकोले स्थानीय तहले समेत सबै स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवा सहज बनाउनु पर्नेमा सहमति गरेका छन्। पालिकाका सबै स्वास्थ्य संस्थामा नै सेवा सञ्चालन गर्ने र सेवा लिनको संख्यामा वृद्धि गर्न आमा समूहलाई नै प्रयोग गरिने गौमुल गाउँपालिकाका उपाध्यक्ष सीता थापाले बताएकी छन्।
पालिका न्तर्गतका सबै टोलमा आमा समूह छन्। ती मध्ये २८ वटा बाजुरा र १८ वटा अछामका टोलका आमा समूहलाई नियमित कक्षा नै सञ्चालन गर्ने गरिएको जानकी खत्रीले बताएकी छन्। आर्थिक नोक्सानी र ज्यानको ढामाढोल नै हुने गरेको थियो गर्भपतन सेवा सञ्चालन पछि निकै सहज भएको अछाम चौरपाटी गाउँपालिकाकी भावना जोशीले बताएकी छन्।
समूहमा खुलेर कुरा गर्ने, एक अर्काका समस्या बताउने र सेवाको प्रभावकारीता, सहजता बारे छलफल हुँदा धेरै कुरा जानकारी पाएको खिउटी थापाको भनाई छ। थापा स्वयमले नै आमा समूहकै परामर्शमा स्वास्थ्य संस्थामा गएर गर्भपतन समेत गराएकी हुन्।
जंगलको जुडीबुटी गर्नु परेन, धनगढी, नेपालगंज र भारतको पलिया गएर पनि आर्थिक नोक्सानी गर्नु परेन, घर नजिकै सेवा आउँदा खुसी लागेको भन्छन्, निर्मला टमटा। ‘महिलाले महिलालाई आफ्नो कुरा सुनाउन लाज पनि भएन्, आमा समूहको छलफलबाट धेरैका ज्यान बच्याका छन्, आर्थिक घाटा बेहोर्नु परेको छैन,’ टमटाले थपिन्।
श्रीमानलाई नसोधेरै पनि समस्या हल गर्ने अवस्था आमा समूहको परामर्शबाट भएको देखिन्छ। सहमतिमा बसेको सम्बन्ध बाहेकका समस्या पनि हल हुने अवस्था सुरक्षित गर्भपतन सेवा कार्यक्रमबाट मिलेकोमा महिलाहरु खुसी छन्। पारिवारीक कलह र विवाद समेत मिल्ने अवस्था आएको छ।
गर्भ पतन सेवा लिने अवस्था आउन नदिने गरि परामर्श र सचेत गराउने उदेश्यले आमा समूहमा छलफल हुन्छ, यदी समस्या आइहाले पनि सहज समाधानका लागि सजिलो भएको काली रोकायाको भनाइ छ। उसोत पछिल्लो समय अवैध गर्भपतन गराएर समस्या आएको विरामी पनि कमै आउने गरेको तथ्याकं स्वास्थ्य संस्थासँग छ। स्वास्थ्य शिक्षा, सचेतना र आमा समूहको छलफलले नै समाजमा सकारात्मक प्रभाव परेको देखिन्छ।
फेसबुक प्रतिक्रियाहरु