होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

शनिबार, असार ११, २०७९
जोडिनुहोस
  • होमपेज
  • राजनीति
  • एमाले पराजयका ५० कारण
राजनीति

एमाले पराजयका ५० कारण

सङ्गठनात्मक हिसाबले नेपालको सबैभन्दा शक्तिशाली भनिएको एमाले किन यसरी कमजोर हुँदै गएको छ ? सिट सङ्ख्यामा किन हार्दैछ एमाले ?

  • नागरिक रैबार
एमाले पराजयका ५० कारण

वैशाख ३० गते सम्पन्न स्थानीय निर्वाचनको नतिजा करिब करिब अन्तिम चरणमा पुगेको छ । यो लेख तयार पार्दासम्म कुल ७५३ स्थानीय तहमध्ये नेपाली कांग्रेस ३०० भन्दा बढी पालिका तहमा जितेर पहिलो पार्टी बनेको छ । २०७४ सालमा २९४ स्थानीय तह जितेर पहिलो पार्टी बनेको नेकपा एमाले यतिखेर २०० हाराहारी पालिकामा मात्रै जितेर दोस्रो पार्टीमा खुम्चिएको छ ।

नतिजाअनुसार नेकपा एमाले २०७४ सालको निर्वाचनभन्दा २०७९ को निर्वाचनमा निकै कमजोर देखिएको छ । मुलुकका ६ वटा महानगरमा दह्रो उपस्थिति जनाएको एमालेले यसपटक एउटा महानगरमा पनि विजय हासिल गर्न सकेन । विगतमा जितेका महानगरपालिका, उपमहानगरपालिका र गाउँपालिकाहरूमा एमाले हार्दै गएको छ ।

सङ्गठनात्मक हिसाबले नेपालको सबैभन्दा शक्तिशाली भनिएको एमाले किन यसरी कमजोर हुँदै गएको छ ? सिट सङ्ख्यामा किन हार्दैछ एमाले ? एमाले पराजयका राष्ट्रिय र स्थानीय कारणलाई बुँदागत रूपमा यसरी प्रस्तुत गर्न सकिन्छ :

विज्ञापन

राष्ट्रिय परिवेश

१. नेकपा एमालेबाट झलनाथ-माधव नेपाललगायत शीर्ष नेता अलग भई पार्टीको शक्ति विभाजित हुनु ।

२. नेकपा एमालेविरूद्ध राष्ट्रव्यापी रूपमा पाँचदलीय गठबन्धन बन्नु ।

३. गठबन्धन एक ढिक्का भई एमालेका विरुद्धमा प्रचारबाजी गर्दै आ-आफ्नो जनाधार निर्माण गर्ने रणनीतिमा लाग्नु ।

४. ठूला मिडिया हाउस र सञ्चारमाध्यमहरू नेकपा एमाले र अध्यक्ष केपी ओलीको विरुद्धमा खनिनु ।

५. रेल, पानीजहाज, घरघरमा ग्याँसलगायत तमाम सपना बाँडिएकोमा पूरा नभएपछि आम जनताले थप विश्वास नगर्नु ।

६. विगतमा एमालेलाई प्राप्त जनमतको सदुपयोग नहुँदा जनतामा एमालेप्रति आक्रोश र अविश्वास बढ्दै जानु ।

७. पार्टीका धेरैजसो नेता कार्यकर्ताहरूमा क्रान्तिकारिता र जनपक्षीय सोच हराउँदै जानु अनि विलासीपन र ऐयासी प्रवृत्ति बढ्नु ।

८ केन्द्रीय नेता र पार्टीले जे भन्छन् ती सबै जनताले अनुमोदन गर्छन्, स्वीकार गरिहाल्छन् भन्ने भ्रमपूर्ण अहम् नेतृत्वले राख्नु ।

९. कतिपय स्थानमा समाजमा बदनाम भएका र अलोकपि्रय व्यक्तिलाई एमालेले उम्मेदवारका रूपमा उठाउनु ।

१०. उम्मेदवार चयनमा पार्टीमा योगदान, लगनशीलता र क्षमतावान् व्यक्तिभन्दा पैसावाला र दलालहरूलाई प्राथमिकता दिएकाले जनसमर्थन गुमाउनु ।

११. पार्टीभित्र मौलाएको गुटगत प्रवृत्तिलाई समयमै चिन्न र सम्बोधन गर्न नसक्नु ।

१२. विकास निर्माणका ठूला सपना बाँड्ने र गफ लगाउने तर काम भने नभएकाले जनताले पूर्ण विश्वास नगर्नु ।

१३. पार्टीका धेरैजसो जनप्रतिनिधि सेवक नभई शासक बन्नु र जनताका भावनाको कदर नगर्नु ।

१४. जनप्रतिनिधिहरूलाई पार्टीको पूर्णतः नियन्त्रण, निर्देशन र अनुगमनअन्तर्गतको संयन्त्रमा नराख्नाले स्वेच्छाचारिता बढ्दै जानु ।

१५ धेरैजसो जनप्रतिनिधिहरू प्रत्यक्ष-अप्रत्यक्ष रूपमा व्यावसायिक बन्नु र कमाउधन्दामा सीमित हुनु ।

१६. एमाले जनप्रतिनिधिहरूले गरेका राम्रा कामहरूको प्रचारप्रसार पार्टी च्यानलमार्फत गर्न नसक्नु ।

१७. सम्बन्धित क्षेत्रका बारेमा सामान्य ज्ञानसमेत नभएका व्यक्तिलाई चाकडी गरेकै भरमा विज्ञ नियुक्त गर्नु र तिनै अक्षम व्यक्तिको सल्लाहमा जनप्रतिनिधि चल्नु ।

१८. नेता र जनप्रतिनिधिहरू जनताका सेवक हुनुपर्नेमा शासक बन्नु, छोटे राजा बन्न खोज्नु ।

१९. नेताहरूमा विलासी र ऐयासी प्रवृत्ति बढ्नु, दम्भी, अहङ्कारी र स्वेच्छाचारी बन्दै जानु ।

२०. अधिकांश उम्मेदवार पार्टी संगठनको भूगोल क्षेत्रमा काम नगरेका हुनु र कार्यकर्ता पङ्ति र आम जनतामा अपरिचित हुनु ।

२१. पार्टीको सिङ्गो संरचना कार्यकर्ता र जनतामुखी हुनुपर्नेमा फगत नेता र केन्द्रमुखी हुनु ।

२२. पार्टीका नियमित बैठक, भेला, प्रशिक्षण र स्कुलिङ नहुँदा कार्यकर्तामा सक्रियता नआउनु ।

२३. पार्टी आम जनताबाट टाढिंदै जानु, अवसरवादी, दलाल र कमाउनिस्टहरूको चंगुलमा पार्टी निरन्तर फस्दै जानु ।

२४. जसरी पनि एमालेलाई हराउनुपर्छ भन्ने गठबन्धनका दलहरूको तयारी र रणनीतिलाई बुझ्न नसक्नु ।

२५. सरकार पक्षीय पाँचदलीय गठबन्धनको घेराबन्दीलाई तोड्न नसक्नु र आफ्नै खालको आत्मरतिमा रमाउनु ।

स्थानीय परिवेश (रूपन्देही)

२६. प्रदेशको अस्थायी राजधानी बनिसकेको बुटवललाई स्थायी राजधानी कायम गर्न नसक्नु ।

२७. प्रदेश राजधानीको निर्णय गर्दा पार्टी हृविप लगाएर रूपन्देहीवासी जनताको मतको अपमान गर्नु ।

२८. उम्मेदवार छनोटमा केन्द्रीय, प्रदेश, जिल्ला र पालिकास्तरका नेताहरूबीचमै अन्तरद्वन्द्वका कारण भागबन्डा गर्दा योग्य उम्मेदवारहरूको छनोट हुन नसक्नु ।

२९. उम्मेदवार चयनमा पूर्व मुख्यमन्त्री शंकर पोखरेल र पूर्व अर्थमन्त्री विष्णु पौडेलबीच व्यक्तिगत टकराव छ भन्ने सूचना बाहिर आउनु ।

३०. समय छँदै उम्मेदवारहरूको टुङ्गो लगाउन नसक्नु, उम्मेदवारहरूले चुनावी तयारी पूर्ण र व्यवस्थित गर्न समय नपाउनु र असन्तुष्ट पक्षलाई समेट्न नसक्नु ।

३१. मोतिपुर औद्योगिक क्षेत्र, जग्गा अधिग्रहण विवाद, तिनाउ-दानव नदी कोरिडोर लगायत योजनाले सुकुम्बासीलाई त्रसित बनाउनु ।

३२ बुटवलको सडकको दुरवस्थामा स्थानीय सरकारले आवश्यक पहल गर्न नसक्नु र पुनर्निर्माणका लागि केन्द्रीय सरकारलाई दबाव दिन नसक्नु ।

३३. सत्तासीन मेयर, वडाध्यक्ष, सदस्यहरू जनसेवक नभई प्रशासक बन्नु, समस्यालाई यथोचित समयमा सम्बोधन नगरिकन हतोत्साहित बनाउने प्रवृत्तिको विकास हुनु ।

३४. विज्ञ, बुद्धिजीवी, पाका, अनुभवी र योगदान दिएका व्यक्तित्वहरूलाई समेट्न नसक्नु ।

३५. पार्टीमा सीमित व्यक्तिहरूको मात्रै बोलवाला रहनु र क्रियाशील सामाजिक संघ-संस्थाहरूलाई आफ्नो पक्षमा सक्रिय बनाउन नसक्नु ।

३६. पुराना, प्रतिबद्ध र लगनशील कार्यकर्ताका सुझाव र सल्लाहलाई सदैव बेवास्ता गरिरहनु ।

३७. जनप्रतिनिधिहरू जनताका समस्या र पीर-मर्काका विषयमा भन्दा फगत उद्घाटन, शिलान्यास, शुभारम्भ जस्ता कार्यक्रममा सीमित हुनु ।

३८. लामो समयदेखिको सुकुम्बासी समस्या समाधानका लागि द्रुत गतिमा काम गरी टुंग्याउनुपर्नेमा सोका नाममा राजनीति मात्र गरिरहनु ।

३९. रूपन्देही जिल्लाका दीर्घकालीन योजना, नीतिनिर्माणका विषयका बारेमा भएका महत्वपूर्ण कामबारे जनतालाई जानकारी गराउन नसक्नु ।

४०. पार्टीबाट टिकट पाएपछि जितिहालिन्छ भन्ने भ्रम पाल्नु, पार्टी नेता र जनप्रतिनिधिहरूले गाउँ, टोलटोलमा गएर जनताका पीर-मर्का र समस्या नबुझ्नु ।

४१. पार्टीमा युवा विद्यार्थीलाई संगठित गर्न नसक्नु, जनतामा बढेको चेतनास्तर र जागरुकतालाई बुझ्न नसक्नु ।

४२. खानेपानी, ढल निकास, फोहोर व्यवस्थापन जस्ता दीर्घकालीन समस्या समाधानका लागि (विशेषगरी बुटवल उपमहानगरपालिकामा) कुनै पहल नगरिनु ।

४३. मत सर्भेक्षण हल्का र हचुवाको भरमा गरिनु, चुनाव सहजै जित्न सकिन्छ भन्ने गलत रिपोर्टिङलाई पार्टीले अति विश्वास गर्नु ।

४४. पार्टीमा फगत अन्धभक्त र स्वार्थीहरूको जमात तयार हुनु, सचेत गराउने र रचनात्मक सुझाव दिनेहरू उल्टै पाखा पारिंदै जानु ।

४५. एमाले सरकारका पालामा रूपन्देही जिल्लामा भएका विकास निर्माणका काम र दीर्घकालीन योजनाबारे पर्याप्त प्रचारप्रसार गर्न नसक्नु ।

४६. एमालेका प्रदेश सभासदहरूले रूपन्देहीको भविष्यका बारेमा सही ढंगले प्रभावकारी भूमिका निर्वाह गर्न नसक्नु ।

४७. पार्टीका नेता, कार्यकर्ता र जनप्रतिनिधिहरूको भड्किलो जीवनशैलीका कारण समग्र पार्टी जनमानसमा अलोकपि्रय बन्दै जानु ।

४८. पार्टी र उम्मेदवारहरू जनताको दुःख, पीर-मर्का र समस्याका बेलामा सहयोगी बन्न नसक्नु र उनीहरूका घरदैलोमा पुग्न नसक्नु ।

४९. ज्योतिनगर पहिरो पीडित र तिनाउ बाढीपीडितहरूको समस्यालाई नगरपालिकाले बेवास्ता गर्नु ।

५०. पार्टीबाट टिकट पाएपछि जितिहालिन्छ भन्ने मनोविज्ञानका कारण आकांक्षीहरू धेरै हुनु तर तिनैले टिकट नपाएपछि पार्टीभित्रै घात-अन्तर्घात बढ्नु ।

फेसबुक प्रतिक्रियाहरु

चर्चामा

सम्बन्धित समाचार

भर्खरै