होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

मङ्लबार, पुस ९, २०८१
जोडिनुहोस
  • होमपेज
  • समाचार
  • ‘छोरो मर्‍यो, न्याय नमरोस्’
समाचार

‘छोरो मर्‍यो, न्याय नमरोस्’

  • नागरिक रैबार
‘छोरो मर्‍यो, न्याय नमरोस्’

खलंगा, जाजरकोट — जाजरकोट सदरमुकाम खलंगाको पश्चिमोत्तर रानागाउँको सिरानमा छ, मुनलाल विकको घर । जो, दुई वर्षअघि अन्तरजातीय प्रेम सम्बन्धकै कारण मारिएका नवराज विकका बुबा हुन् । नवराजको कोठाका भित्ता खेलकुद प्रतियोगिताबाट आर्जेका तक्मा र प्रमाणपत्र लहरै राखिएका छन् । तीमध्ये एउटा स्वर्ण पदकलाई छातीमा च्याप्दै मुनलाल भक्कानिए, ‘छोरै नरहेपछि यी तक्मा र प्रमाणपत्रको के काम ? यिनको म के गरूँ ?’

मुनलालले आफ्ना छोरा र उनका साथीसमेत ६ जनाको सामूहिक हत्या गरिएको घटनालाई जातीय विभेदका कारण नभई भवितव्यका रूपमा अदालतमा स्थापित गर्ने प्रयास भइरहेको सुनेका छन् । ‘घाइते र अन्य साक्षीलाई बयान दिन नजाऊ, बाइक किन्दिन्छौं, पाँच–दस लाख रुपैयाँ कति चाहिन्छ, त्यो पनि दिन्छौं भनेर प्रलोभन देखाएका छन् । त्यसो भनेको आवाजको रेकर्ड नै हामीसँग छ,’ मुनलालले भने, ‘६ जनालाई एकै ठाउँमा मारेको, १२ जनालाई घाइते बनाएको यस्तो घटनामा पनि हामीले न्याय नपाउने ? गरिब, दलित, दुःखी, पीडित जनताले न्याय नपाउने किन हो ? के हामी यो देशको नागरिक होइन ? हामी न्याय खोज्न कहाँ जाऔं ?’ हत्यामा संलग्नहरूलाई जोगाउन केही नेता नै लागिपरेको उनले बताए ।

फौजदारी न्याय प्रणालीमा एउटा भनाइ छ– ढिलो न्याय दिनु भनेको न्याय नदिनुसरह हो । सोती घटनाका मृतकका परिवारले आफूहरूका लागि न्याय मर्दै गएको महसुस गरेका छन् । ‘यो देशमा गरिप र पीडितलाई न्याय छैन हजुर । न्याय भएको भए त हाम्रा छोराहरूका हत्यारालाई जन्मकैद भइसक्दो हो,’ नवराजसँगै मारिएका गणेश बुढाका बुबा पदम भन्छन्, ‘सुरुमा पुलिसले केहीलाई पक्राउ गरे पनि धेरै जना अझै बाहिरै छन् । पक्राउ परेका पनि एक–एक गर्दै पैसा बुझाएर धरौटीमा छुट्दै छन् । हामीसँग पैसा छैन त न्याय पनि छैन ।’

विज्ञापन

कानुनले दण्डनीय बनाए जातीय विभेदका घटनामा कारबाही नहुने प्रवृत्तिकै कारण रुकुमको सोतीमा ६ युवाको हत्या भएको थियो । रुकुमजस्तो निकै कम मुद्दाको चाप हुने अदालतमा समेत दुई वर्ष पुगिसक्दा यो मुद्दा टुंगिएको छैन । तत्काल टुंगिने संकेत पनि छैन ।

हत्याकाण्डमा संलग्न आरोपमा सोतीका ३४ जनामाथि जिल्ला अदालतमा मुद्दा चलाइएको छ । तीमध्ये २३ जना थुनामा छन् । जिल्ला अदालतले गरेको पुर्पक्ष थुनासम्बन्धी निर्णयलाई उच्च अदालत सुर्खेत र सर्वोच्च अदालतले समेत जाँचेर सुरुमा पक्राउ परेकामध्ये ११ जनालाई तारिखमा छाडेका छन् । चौरजहारी नगरपालिका–८ का तत्कालीन अध्यक्ष डम्बरबहादुर मल्लका साथै डिल्ली मल्ल ठकुरी, प्रेमबहादुर ठकुरी, सन्तोष मल्ल, मोहन पुन मगर, मानबहादुर मल्ल, टोपबहादुर मल्ल, तिलक चन्द, इर्दबहादुर ठकुरी, लिपेन्द्रकुमार मल्ल, हर्कबहादुर मल्ल र विनोद मल्ल थुनामा छन् ।

सविन पुन, नेत्रबहादुर मल्ल, रेशमबहादुर मल्ल, धनाराज राना, नवीनकुमार घर्ती मगर, विराज पुन मगर, भीमबहादुर पुन, रमित पुन मगर र विष्णु मल्ललाई पनि थुनामा राखिएको छ । नवराजकी प्रेमिकाका बुबा ‘५४ रुकुम पश्चिम (३६) १’ (परिवर्तित नाम) र दाइ ‘५४ रुकुम पश्चिम (३६) ३’ पनि थुनामै छन् ।

नवराजकी प्रेमिकाकी आमा ‘५४ रुकुम पश्चिम (३६) २’ लाई जिल्ला अदालतले एक लाख रुपैयाँ धरौटीमा छाडेकामा उच्च र सर्वोच्चले पनि सदर गरेका छन् । दीपेन्द्र चन्द, तुलबहादुर मल्ल र इन्द्रबहादुर मल्ल पनि जिल्ला अदालतबाटै साधारण तारिखमा छुटेका छन् । नवराजकी प्रेमिका र उनका भाइलाई नाबालिग भन्दै जिल्ला अदालतले बाल सुधार गृहमा पठाएको थियो, पछि उच्च अदालत सुर्खेतले अभिभावकको जिम्मामा छाड्न आदेश दियो ।

घटनालगत्तै फरार रहेर पछि हाजिर हुन आइपुगेका तुलाराम घर्ती, डिल्ली घर्ती, लोकेन्द्र घर्ती, सौरभ पुन र भीमबहादुर बुढालाई जिल्ला अदालतले थुनामा पठाएकामा उच्च अदालतका न्यायाधीशबीच थुनामा राख्ने, धरौटी माग्ने वा तारिखमा छाड्ने भन्नेमा राय बाझिएको थियो । पछि सर्वोच्चले पाँचै जनालाई तारिखमा छाड्न आदेश दियो । यसरी पुर्पक्षका लागि थुनामा राख्ने कि तारिखमा भन्ने विवादले नै लामो समय लियो । जिल्ला अदालतमा प्रमाण बुझ्ने, साक्षी परीक्षण गर्नेजस्तो मुद्दाका सुरुवाती चरणका कामसमेत सकिएका छैनन् ।

पोस्टमार्टम रिपोर्ट दिने पाँच चिकित्सकमध्ये दुई जनाको मात्रै बकपत्र भएको छ । किटानी जाहेरी दिने गणेशका बुबा पदम र घटना विवरण कागज गर्ने अन्य केही सरकारी साक्षीलाई अदालत उपस्थित गराएर बकपत्र गराइएको छैन । प्रहरी प्रतिवेदकहरू, कल डिटेल रेकर्ड विश्लेषक प्रहरीहरू पनि अझै अदालत उपस्थित भएका छैनन् । यसरी जिल्ला अदालतमा प्रारम्भिक सुनुवाइपछिका थुप्रै प्रक्रिया अझै बाँकी छन् । मुद्दाको चाप अत्यन्त कम हुने रुकुमजस्तो जिल्ला अदालतमा दुई वर्ष बितिसक्दा पनि मुद्दा पूर्ण सुनुवाइको चरणमा पुगेको छैन । दलितजस्ता सीमान्तकृत समुदायले न्याय पाउन कति कठिन छ भन्ने यो घटनाले देखाउँछ ।

घटनाको १६ दिनपछि २०७७ जेठ २६ गते प्रतिनिधिसभाले सांसद देवेन्द्र पौडेल (हाल शिक्षामन्त्री) को नेतृत्वमा ९ सदस्यीय संसदीय विशेष समिति गठन गरेको थियो । उक्त समितिले असार ३० मा सभामुख अग्निप्रसाद सापकोटालाई प्रतिवेदन बुझाए पनि अहिलेसम्म सार्वजनिक गरिएको छैन । राष्ट्रिय मानवअधिकार आयोग र गृह मन्त्रालयले पनि सोती हत्याकाण्डको अनुसन्धान गरेका थिए । दुवै निकायले विज्ञप्तिमार्फत केही तथ्य सार्वजनिक गरे तर प्रतिवेदन गुपचुप नै छ ।

अध्येता शिवहरि ज्ञवाली दलित समुदायमाथि भएका शृंखलाबद्ध ज्यादतीमा सार्वजनिक रोष प्रकट भएपछि अध्ययन समिति बनाउने तर प्रतिवेदन कहिल्यै सार्वजनिक नगर्ने अभ्यास देखिएको बताउँछन् । ‘काभ्रेका अजित मिजारको हत्यामा दलजित श्रीपाइलीको नेतृत्वमा मन्त्रीस्तरीय समिति बनाइयो, प्रतिवेदन आएन । २०६८ सालमा विनोद पहाडीको नेतृत्वमा तत्कालीन समयमा दलित समुदायमाथि भएका १२ वटा ज्यादतीपूर्ण घटनाको अध्ययन गर्न समिति बनाइएको थियो, त्यसको पनि प्रतिवेदन सार्वजनिक भएन,’ उनले भने, ‘सोती घटनाबारे पनि संसदीय समितिले प्रतिवेदन सार्वजनिक गरेको छैन । मैले आन्तरिक सूत्रमार्फत के थाहा पाएको छु भने– उक्त प्रतिवेदनको निष्कर्षमा कोभिड संक्रमणको समयमा नवराजहरू रुकुम नगएको भए र प्रहरीले नियन्त्रण गर्न सकेको भए घटना हुँदैनथ्यो भनिएको छ । यसले जातीय विभेद गर्नेको भन्दा ज्यान गुमाउन पुगेका पीडितलाई नै दोषी देखाएको छ ।’

त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्र प्राध्यापन गर्ने सन्तोष परियार रुकुम हत्याकाण्डमा न्याय पाउने पीडित परिवारको न्यूनतम मानवअधिकारको पनि राज्यका निकायहरूले खिल्ली उडाइरहेको बताउँछन् । ‘के भएको थियो भन्ने कुरा प्रस्ट छ । तर, समयमा न्याय छैन । यसले हाम्रो समाज मात्र होइन, प्रहरी–सरकारी वकिल–अदालतलगायत निकाय कति जातिवादी छन् भन्ने प्रस्ट पारेको छ,’ बृहत् नागरिक आन्दोलनसँग पनि आबद्ध उनले भने, ‘दलित भएकै कारण नवराज विक र उनलाई सहयोग गर्ने दुई जना गैरदलित साथी मारिए । अहिले फेरि दलित भएकै कारण न्याय दिन राज्यका निकायले तत्परता देखाएका छैनन् । यसले उनीहरू दलितप्रति कतिसम्म विभेदकारी र हिंस्रक छन् भन्ने प्रमाणित गरेको छ । न्यायमा भइरहेको यो ढिलाइले पीडित परिवारप्रति थप हिंसा भइरहेको छ ।’

नेपाली समाजमा ऐतिहासिक रूपमै दलित समुदायमाथिको उत्पीडन जारी छ । सामाजिक, आर्थिक, राजनीतिक अवसरबाट वञ्चित पारिएको यो समुदायमाथि विभेद अहिले रोकिएको छैन । त्यसमाथि आफैं क्षेत्रीय सीमान्तकरणमा परेको कर्णाली प्रदेशमा दलितमाथिको दमन अझ बढी देखिन्छ । देशैभर कम रहेको दलितको राजनीतिक प्रतिनिधित्व प्रदेशमा पनि निराशाजनक छ । देशभरको जनसंख्यामा करिब १४ प्रतिशत रहेका दलित कर्णाली प्रदेशको जनसंख्याको २३ प्रतिशतभन्दा बढी छन् । तर, ४० सदस्यीय प्रदेशसभामा जम्मा पाँच जना सांसद (समानुपातिकबाट तीन महिला र प्रत्यक्ष निर्वाचनबाट दुई पुरुष) छन् । जनसंख्याको अनुपातमा न्यूनतम ९ जना दलितको प्रतिनिधित्व आवश्यक पर्थ्यो ।

‘शोकले बिस्तारै मर्दै छौं हजुर’

२१ वर्षका नवराज भलिबल, ज्याभ्लिन थ्रो, कबड्डीमा अब्बल थिए । राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा भाग लिन गएका बखत उनी चौरजहारी–८ सोतीगाउँकी कथित माथिल्लो जातकी किशोरीसँग नजिकिए । अभिभावकले सम्बन्धबारे थाहा पाएपछि आफूलाई अरूसँगै विवाह गरिदिन लागेको भन्दै किशोरीले २०७७ जेठ १० मा लिन बोलाइन् । नवराज आफ्ना साथीहरूसहित भेरी नदी तरेर पारिपट्टि किशोरीको गाउँ पुगे । प्रेम विवाह गर्ने योजनासहित गएका उनी त्यसपछि कहिल्यै फर्किएनन् । कथित माथिल्लो जातकी युवतीसँग प्रेम गरेको ‘अपराध’ मा सोतीका बासिन्दाले योजनाबद्ध रूपमा गरेको आक्रमणमा मारिए ।

नवराजसँगै गएका २० वर्षीय टीकाराम नेपाली, १९ वर्षीय गणेश बुढा, १८ वर्षीय लोकेन्द्र सुनार, २० वर्षीय सञ्जु विक र १७ वर्षीय गोविन्द शाही पनि मारिए । उनीहरूलाई गाउँलेले घेरा हालेर लखेटी–लखेटी घरेलु हतियारले प्रहार गरेका थिए । मृतक र घाइतेलाई हातखुट्टा बाँधेर भेरी नदीमा बगाइएको थियो । उनीहरूमध्ये नवराजको शव त्यसै दिन राति घटनास्थलभन्दा दुई किलोमिटर टाढा भेटियो । सबैभन्दा अन्तिममा जेठ २० मा गोविन्दको शव घटनास्थलभन्दा २२ किलोमिटर तल भेरी किनारमा फेला पर्‍यो ।

गोविन्दका अगाडिपट्टिका तलमाथिकै दाँतहरू थिएनन् भने ओठ, चिउँडो र नाकमा छुने गरी ठाडो गरी काटिएको गहिरो घाउ थियो । गोविन्दको घर भेरी किनारकै मटेलामा पर्छ । बर्खामा भेरी उर्लेर आउँदा होस् वा हिउँदमा शान्त भएर बगिरहँदा, घरमुनिकै भेरी नदी हेर्दा उनकी आमा भिमुकुमारीलाई छोरो बग्दै गएको दृश्यको सम्झनाले तर्साउँछ । ‘छोरा बग्दै गरेको जस्तो देख्छु, तर्सिन्छु । यो नदीसमेत हेर्न मन लाग्दैन, तर घर यहीं छ । भागेर कहाँ पो जानू ?’ उनले भनिन् ।

नवराजलाई साथ दिन पुगेका १८ जनामध्ये १२ जना घाइते अवस्थामा जीवितै भेटिएका थिए । घटना भएको १० दिन पुगिसक्दा पनि गोविन्दको कुनै टुंगो थिएन । ‘साँझमा आमा भन्दै बोलाउँदै टुप्लुक्क आई पो हाल्छ कि भन्ने आस लाग्थ्यो । सात दिनसम्म पनि केही खबर नआएपछि हामी चौरजहारी गएर कि सास लेऊ कि लास देऊ भनेर धर्ना बस्यौं,’ उनले भनिन्, ‘प्रहरीले उल्टै हामीमाथि हवाई फायर गर्‍यो । अन्तिममा १० दिनपछि छोराको लास भेटियो ।’

२०७७ जेठ १० मा मारिएका सन्जुका ५ वर्षका छोरा साहिललाई काखमा लिएका उनका हजुरबुवा बलराम विक (मृतक सन्जुका बुवा) ।

नेपाली सेनाबाट अवकाश प्राप्त बलराम विश्वकर्मा छोरी विजयालाई जस्तै छोरा सन्जुलाई पनि नेपाली सेनामा भर्ना गराउन चाहन्थे । बाराको ज्वालादल गणमा खटिएकी दिदीको उदाहरण दिँदै उनी सन्जुलाई भन्थे, ‘अलि मिहिनेत गरेर एक्सरसाइज गर् । दिदीजस्तै आर्मीमा भइस् भने यहाँ तल्लो जातको भनेर कसैले हेप्न सक्दैन ।’ सन्जु हौसिन्थे । हरदिन कडा परिश्रम पनि गरिरहेका थिए । ‘कोरोना फैलिएपछि सरकारले लकडाउन गर्‍यो, लकडाउन सकिएपछि भर्ना खुल्नासाथ सहभागी गराउने गरी तयार बनाएको थिएँ,’ बलराम भन्छन्, ‘तर, हाम्रो परिवारको खुसी नै खोसिदिए ।’

उमेरले दौंतरी र सँगै घर भएका सन्जु नाताले नवराजको काका पर्थे । भतिजको प्रेमी विवाहमा सघाउन उनीसँगै चौरजहारी पुगेका सन्जु पनि जीवितै फर्किन पाएनन् । घटनाको पाँच दिनपछि जेठ १५ मा घटनास्थलभन्दा १२ किलोमिटर तल उनको शव भेटियो । ‘बुहारी सानैमा विधवा भइन्, नाति बाउ चिन्न नपाउँदै टुहुरो भयो,’ बलराम भन्छन् ।

नवराजको भन्दा दुई घर तल भाडाको घरमा मजदुरी गर्ने बाबुआमासँगै बस्थे गणेश बुढा । छोराको शोकमा आफूहरू मर्नु न बाँच्नु भएको गणेशका बुबा पदम सुनाउँछन् । भन्छन्, ‘हाम्रा कलिला बच्चाहरूलाई समय नआउँदै मारिदिए । त्यसैको शोकमा हामी पनि बिस्तारै–बिस्तारै मर्दै छौं हजुर ।’ मारिएका ६ जनामध्ये सन्जु मात्र विवाहित थिए । २१ वर्षीया पत्नी समिनाले श्रीमान्का हत्यारालाई आजीवन कारावास भएको सुन्न पाए मनलाई शान्ति मिल्ने बताइन् । उनले भनिन्, ‘आजीवन कारावास होस् । मृत्युपछि मात्रै जेलबाट निस्कन पाऊन् ।’

जात व्यवस्थाविरुद्धको विद्रोह दिवस

हत्याकाण्डको दोस्रो वर्ष पुगेको सन्दर्भमा दलित समुदायमाथि जातीय आधारमा भइरहेका निरन्तरका ज्यादतीविरुद्ध मंगलबार घटनास्थल भेरी नदी किनारमा ‘जात व्यवस्थाविरुद्ध भेरी प्रतिरोध मार्च’ हुँदै छ । हत्यामा संलग्नलाई कारबाहीका लागि दबाब दिन जेठ १० लाई जात व्यवस्थाविरुद्धको विद्रोह दिवसका रूपमा मनाउन मंगलबार नै काठमाडौंको माइतीघरमा पनि प्रदर्शन हुँदै छ । प्रदर्शनमा सहभागी हुन नवराज, सन्जु, गणेश र लोकेन्द्रका आमा काठमाडौं गएका छन् ।

न्यायमा भइरहेको ढिलाइविरुद्ध यसरी संगठित रूपमा आवाज उठ्न थालेको छ । तर, मृतकका परिवार आफूहरूले न्याय नपाउँदा दलित समुदायमाथि पुनः ज्यादतीका घटना दोहोरिने हुन् कि भन्ने चिन्तामा देखिन्छन् । नवराजका बुबा मुनलालले अहिले संलग्नलाई कारबाही नगर्ने हो भने दलितमाथिको थिचोमिचो र विभेद अझ बढ्ने भन्दै चिन्ता जनाए । ‘हिजो एक/दुई जनालाई मार्थे, उनीहरूलाई केही नहुँदा हाम्रा ६–६ जना छोरालाई एकै पटक मारे,’ उनले भने, ‘अब यिनीहरूलाई पनि त्यसै छाड्ने हो भने अर्को ठाउँमा १२ जना, अर्को ठाउँमा १८ जनालाई मार्न के बेर ?’

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार