होमपेज केही सेकेण्डमा लोड हुनेछ।

Advertisement area

  • Skip this

Advertisement area

आइतवार, अशोज १३, २०८१
जोडिनुहोस
समाचार

दाइजो नपाउँदा हिंसा

‘बिहेको आठ वर्षपछि दाइजोकै निहुँ निकालेर कुटपिट गर्न थाले, छोराछोरी लिएर म कहाँ जाऊँ ?’

  • नागरिक रैबार
दाइजो नपाउँदा हिंसा

रौतहट — काखमा रहेकी डेढ वर्षकी दुधे बालिका घरीघरी दूध पिउन खोज्थिन् । छेउमै साढे ६ वर्षका बालक एकोहोरो आमालाई हेर्थे र टोलाउँथे । आमा भने सुँक्कसुँक्क गर्दै आफूले भोगेको पीडा सुनाइरहेकी थिइन् । चन्द्रपुर–६ की २४ वर्षीया रोशनीकुमार साहले शनिबार सञ्चारकर्मीसामु श्रीमान्ले दिने यातना र हिंसाको वृत्तान्त सुनाइन् । ‘पछिल्लो समय कुटपिट र यातना बढी हुन थालेपछि पत्रकार सम्मेलन गर्न बाध्य भएँ,’ उनले भनिन् ।

उनका श्रीमान् मिश्रीलाल साह चन्द्रपुर नगरपालिकाका अधिकृत हुन् । २०७० जेठ १७ गते उनीहरूको विवाह भएको थियो । त्यतिखेर रोशनी १६ वर्षकी थिइन् । कानुनले २० वर्ष नपुगी विवाह गर्न दिँदैन । उमेरै नपुगी विवाह गरेकी रोशनीसँग सुनाउनुपर्ने विगतका यादभन्दा श्रीमान्ले दिने यातनाको घाउ मात्रै बाँकी छ ।

विवाहको पहिलो वर्षमै उनले छोरा जन्माइन् । दोस्रो पटक गर्भ बसेपछि नै आफूमाथि हिंसा सुरु भएको उनको भनाइ छ । ‘श्रीमान्ले अचानक डिभोर्स देऊ भनेपछि म छानाबाट खसेजस्तै भएँ,’ उनले बिलौना गरिन्, ‘मेरो अर्कै केटी साथी छ, तँलाई राख्दिनँ भनेर यातना दिन थाले । दुई छोराछोरी लिएर म कहाँ जाऊँ ? रोशनीका आँखा, घाँटी, हातलगायत भागमा चोट देखिन्छ ।

विज्ञापन

जागिर सुरु हुनुअघि मिश्रीलाल स्नातक पढ्दै थिए । त्यही बेला विबाह भयो । विवाहमा रोशनीका बुबाले ५० हजार दाइजो पनि दिए । ‘उनले पढाइका लागि भन्दै एक लाख मागेका थिए, बुबाले त्यति दिन सकेनन्,’ उनले सुनाइन्, ‘अहिले आएर दाइजोकै निहुँ निकालेर परिवारका सदस्यले समेत कुटपिट गर्न थाले ।’

सामान्य प्रशासन मन्त्रालयमा नायब सुब्बा थिए मिश्रीलाल, पछि अधिकृतमा नाम निकालेर चन्द्रपुर नगरपालिका आएको ३ वर्ष पुग्यो । ‘सबै कुरा परिवारले भनेको जस्तो हुँदैन । सरकारी जागिर गरेपछि समय निकाल्न कठिन हुन्छ,’ उनले भने, ‘श्रीमतीको डिमान्ड पूरा गर्न नसक्दा यस्तो अवस्था भोग्नुपर्‍यो । छोडपत्रको विकल्प छैन ।’ रोशनी भने छोडपत्र गर्न तयार छैनन् ।

श्रीमान् र परिवारबाट हिंसा भएको भन्दै रोशनीले जिल्ला प्रहरी, महिला सेल, प्रहरी प्रधान कार्यालय, महिला आयोग, इलाका प्रहरी चन्द्रनिगाहपुरमा उजुरी दिएकी छन् । दुवैबीच प्रहरीमा धेरै पटक छलफल पनि भइसकेको छ । श्रीमान्ले प्रहरीसमक्ष राम्ररी बोल्ने र अबउप्रान्त हिंसा नगर्ने सर्त राख्दै आए पनि घरमा उस्तै यातना भोग्नुपरेको रोशनीले सुनाइन् । उनलाई मेची महाकाली बुहारी मञ्चले शरण दिएको छ ।

‘बुबाले मलाई माया गर्नुहुन्छ तर ममीलाई माया गर्नु हुन्न । धेरै कुटपिट गर्नुहुन्छ,’ साढे ६ वर्षका छोराले भने, ‘अस्ति पनि कोठामा थुनेर राख्नुभयो र पिट्नुभयो । त्यस दिन मिश्रीलालले छोरीसहित झन्डै ६ घण्टा खानसमेत नदिई भित्र थुनेर राखेको र प्रहरी पुगेर उद्धार गरेको रोशनीको भनाइ छ । पटकपटक घरबाट बाहिर निकाल्ने प्रयास भएपछि झन्डै ६ महिना माइत बसेको उनले बताइन् ।

महिला अधिकारकर्मी पूजा पाठकले पनि रोशनीले चरम यातना र हिंसा सहेर बसेको बताइन् । चन्द्रपुर नगरप्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सिग्देलले मिश्रीलालको मुद्दा टाउको दुखाइको विषय बनेको सुनाए । ‘हामीले श्रीमान्–श्रीमती मिलेर बस्नु भनेका हौं,’ उनले भने, ‘अब अदालतमा मुद्दा परेको छ । धेरै कुरा बोल्न मिल्दैन ।’ रोशनीका दाजु मनोज साहले पनि बहिनीमाथि ज्वाइँका परिवारले यातना दिने गरेको सुनाए । ‘बिहे गरेपछि केही समस्या भएन, अहिले आठ वर्षपछि दाइजोकै कुरा झिकेर कुटपिट गर्नु अपराध हो,’ उनले भने ।

फेसबुक प्रतिक्रियाहरु

[gs-fb-comments]

चर्चामा

सम्बन्धित समाचार