डोटी । ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशमा २६ मतदान स्थल थपिएका छन् ।निर्वाचन आयोगले सार्वजनिक गरेको विवरण अनुसार प्रदेशका नौ जिल्लामा अब एक हजार १३५ मतदान स्थल कायम भएका छन् । यसअघिको निर्वाचनमा सुदूरपश्चिममा एक हजार १०९ मतदान स्थल रहेका थिए ।
सबैभन्दा बढी मतदानस्थल बैतडीमा थपिएका छन् । यहाँ गत निर्वाचन भन्दा नौ मतदान स्थल थप भएका छन् । गत निर्वाचनमा बैतडीमा १२० मतदानस्थल रहेकामा यस वर्ष १२९ कायम गरिएको छ ।
यस्तै बझाङमा आठ मतदान स्थल थपिएका छन् । यस जिल्लामा गत निर्वाचनमा १२५ मतदान स्थल रहेकामा यस पटक १३३ कायम गरिएको छ । कैलालीमा पाँच स्थल थप भएका छन् । गत निर्वाचनमा कैलालीमा २३१ स्थान रहेकामा हाल २३५ स्थान रहेका छन् ।
डडेल्धुरामा तीन मतदान स्थल थप भएका छन् । जिल्लामा यसअघि ७७ स्थल रहेकामा यसवर्ष ८० पुर्याइएको छ । अछाममा एउटा मतदानस्थल थप भएको छ । यसअघि अछाममा १२९ मतदान स्थल रहेकामा हाल १३० भएका छन् ।
डोटी, कञ्चनपुर, बाजुरा र दार्चुलामा भने मतदान स्थलमा थपघट भएको छैन । डोटीमा ११५, कञ्चनपुरमा १३२, बाजुरामा ७० र दार्चुलामा ११० मतदान स्थलहरु रहेका निर्वाचन आयोगले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
मतदान केन्द्र पनि थपिए
प्रदेशमा गएको निर्वाचन भन्दा ३३२ मतदान केन्द्र पनि थप भएका छन् । गएको निर्वाचनमा एक हजार सात सय ८१ मतदान केन्द्र रहेकामा वैशाख ३० गते हुने निर्वाचनका लागि दुई हजार १०३ मतदान केन्द्र कायम भएका छन् ।
बाजुरा २० मतदान केन्द्र थप गरी ११२ पु¥याइएको छ । यसअघि बाजुरामा ९२ मतदान केन्द्र थिए । यस्तै अछाममा २०० मतदान केन्द्र पुगेका छन् । यसअघि १८५ केन्द्र रहेका थिए । बझाङमा रहेका केन्द्र १५४ बाट बढाएर १८३ पुर्याइएको छ । डोटीमा १७१ मतदान केन्द्र पुगेका छन् । यसअघि १५५ केन्द्र रहेका थिए ।
यस्तै, कैलाली जिल्लामा १२९ मतदान केन्द्र थप भएका छन् । यस जिल्लामा यसअघि ४९० केन्द्र रहेकामा हाल ६१९ पुगेका छन् । दार्चुलामा १२८ मतदान केन्द्रबाट १३९ पुगेका छन् ।
बैतडीमा १७४ मतदान केन्द्रबाट बढाएर दुई सय पाँच पुर्याइएको छ । डडेल्धुरामा ११० केन्द्र रहेकामा हाल १२६ पुगेका छन् । कञ्चनपुर जिल्लामा यसअघि २९३ मतदान केन्द्र रहेकामा हाल ३४१ पुर्याइएको छ ।
फेसबुक प्रतिक्रियाहरु