सुर्खेत । आइतबार साउने संक्रान्ति मनाइएको छ । साथै सोही दिन बेलुका ‘लुतो फाल्ने’ पर्व समेत मनाइएको छ । खेतीकिसानीमा आधारित ग्रामीण समाजका लागि यो विशेष दिन हो । यस दिनलाई कर्णालीमा विशेष प्राथमिकताका साथ मनाइन्छ । साउने संक्रान्तिको अवसरमा कर्णाली प्रदेश सरकारले आइतबार सार्वजनिक बिदा समेत दियो ।
लुतो फाल्ने दिन दिउँसो जंगलमा गएर विभिन्न प्रजातिका वनस्पति र दाउरा संकलन गर्ने गरिन्छ । आफन्त बोलाउने, सरसमानको जोहो गर्ने, कपडालाई खरानीको भानमा पकाएर धुने प्रचलन कर्णालीमा अहिले पनि छ ।
साउन १ गते साँझ मात्रै लुतो फाल्ने कार्य सुरु गरिन्छ । घरमा मिठोमसिनो पकाउने, कुपिण्डो वा अमिलोलाई काठका चार खुट्टा बनाएर बलि बनाउने गरिन्छ । घरको आँगनमा आगोको राँको बालिन्छ ।
कण्डारक नामक रात्रिचर (राति हिंड्ने)को पूजा गरिन्छ । कुपिन्डोको बलिलाई मार हानिन्छ । त्यसपछि ‘लुतोपुतो… उपियाँ जा, रुपियाँ आइजा, अनिकाल जा सकाल आइज’ भन्दै अगुल्टो फाल्ने प्रचलन रहेको दैलेख महावु गाउँपालिका २ की (४६) शान्ति बडुवाल बताउँछिन् ।
लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि विस्तारै त्यसक्रममा प्रयोग गरिने सामग्रीबारेको जानकारी नयाँ पुस्तामा खासै छैन । लुतो फाल्दा नाङ्लो ठटाउने, शंख फुक्ने, दमाहा बजाउने र एकछिन घरको ढोका बन्द गर्ने चलन बिस्तारै हराउँदै गएको छ ।
यसरी लुतो फाल्दा समाज तथा व्यक्तिमा भएका सबैखाले लुतो–पुतो, रिस–राग, रोग–भोग, विकृति–विसंगति सकिएर जाने विश्वास छ । राँको बाल्ने र अन्तमा जलेर सकिन लागेको राँकोसँगै विकृति र समस्याको कुटिरो (पोका) फालेर साउने संक्रान्ति मनाउने गरिन्छ ।
यसरी राँको बाल्दा आ–आफ्नो कुल परम्पराअनुसार थाल ठटाउने, शंख फुक्ने, दमाहा बजाउने, ढोका बन्द गर्ने चलन रहेको बडुवालले बताइन् । वर्षायामसँग हैजा, घाउखटिराको भय हुने भएकाले साउने संक्रान्तिमा यी सबै हटोस् भनेर कामना गरिन्छ ।
अधिकांश कर्णालीबासी खेती किसानी गर्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । असारमा गरिने खेतीपातीका क्रममा हिलोका कारण छालामा देखिन सक्ने सम्भावित रोगबाट मुक्ति पाउन भनेर परापूर्वकालदेखि नै यो संस्कार चलाउँदै आइएको इतिहास तथा संस्कृति सम्बन्धी जानकार रमानन्द आचार्य बताउँछन् ।
त्यसक्रममा अनिकाल वा प्राकृतिक विपत्ति झेल्न नपरोस् भनेर लुतो फाल्ने गरिएको आचार्य बताउँछन् । ‘यो एकातिर सांस्कृतिक महत्वको पर्व हो । अर्काेतिर मानव स्वास्थ्यको लागि महत्वपूर्ण वनस्पति रक्षा गर्ने माध्यम पनि हो,’ उनी भन्छन् ।
तिउरी लगाउने त्यो प्रचलन
साउने संक्रान्तिकै दिन लुतो फालेर रातमा हात खुट्टामा तिउरी लगाउने चलन कर्णाली पहाडी भेगमा अहिले पनि छ । यस्तो चलन अहिले मात्र हैन, धेरै लामो समयदेखि चल्दै आएको थियो । हातलाई तिउरी लगाउँदा सर्पले नटोक्ने र विभिन्न रोगबाट बच्न सकिन्छ भन्ने मान्यता छ ।
सौन्दर्य साधनको रूपमा प्रयोग हुने तिउरी फूल घाउमा लगाउँदा औषधिको रुपमा पनि प्रयोग गरिन्छ । असारमा खेतबारीमा काम गर्दा हिलोले खाएका हातखुट्टामा तिउरीको रस लगाउँदा निको हुने मान्यता छ । तिउरी साउने संक्रान्ति आउनुअघि नै घरघरमा लगाइन्छ ।
तिउरी लगाउनु अगाडि हातखुट्टामा तोरीको तेल लगाएर अनि तिउरीलाई मुठीभरि लिएर बाहिरबाट काम्रो बाँध्ने, रातभरिमा यो रातो हुन्छ । बिहान मेहेन्दी भन्दा गाढा लाग्ने गरेको नलगाड नगरपालिका–८, जाजरकोटका वीरबहादुर खत्री बताउँछन् । ‘तिउरीले मेहेन्दी सरहको काम मात्रै गर्दैन, असारभरि रोपाइँले फुटेका र हिलोले खाएका हातखुट्टा सञ्चो बनाउन पनि काम गर्छ,’ खत्रीले भने ।
माघे संक्रान्तिमा महिलाले हरियो, पोते, मेहेन्दी, तिउरी, चुरा लगायत हरियो कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरिन्छ ।
साउने संक्रान्तिसँग जोडिएको देउडा
कर्णालीमा साउने संक्रान्तिसँगै जोडिएको छ, देउडा पर्व । आजको दिनलाई सांस्कृतिक, ऐतिहासिक र मौलिक महत्व बोकेको दिनका रुपमा पनि लिइन्छ । यस पर्वको अवसरमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा जुम्ली एकता सेवा समाज सुर्खेत प्रत्येक वर्ष देउडाको आयोजना गर्दै आएको छ ।
जुम्ला खलंगालगायत माथिल्लो कर्णालीका सबै जिल्लामा देउडा खेलेर साउने संक्रान्ति मनाइँदै छ । कर्णालीको हुम्ला, मुगु, कालीकोट, डोल्पा, दैलेख, जाजरकोटमा पनि कतै पुरुष–पुरुष त कतै महिला पुरुष दुईतर्फ गोलो आकारमा डौडा लगाएर गीत गाउँदै शारीरिक रुपमा विभिन्न हाउभाउ देखाएर देउडा खेल्ने गर्छन् ।
स्वतःस्फूर्त रुपमा खेलिने देउडा खेलका लागि समय निर्धारण तथा रोकछेक गर्नुपर्ने त्यस्तो कुनै बाध्यकारी नियम हुँदैन । देउडा जुम्लाको सिंजा र कनकासुन्दरी गाउँपालिकामा पनि ऐतिहासिक स्वरुपमा साउने संक्रान्तिका दिन सञ्चालन गर्न थालिएको कर्णाली देउडा समाज जुम्लाका अध्यक्ष पूर्णप्रसाद धितालले बताए । ‘देउडा एउटा साहित्य हो । यसले मानिसको जनजीवनमा भएका घटना तथा समाजमा रहेको सबै वस्तुस्थितिलाई गीतका माध्यमबाट प्रस्तुत गर्छ,’ उनले भने ।
संगीत र नृत्य दुवैको प्रतिनिधित्व देउडाले गर्ने भन्दै उनले यसले समाजको वास्तविकता बोल्ने र इतिहासको जगेर्ना गर्ने गरेको बताए । ‘देउडाले गीतले विगत सम्झाउँछ, वर्तमानमा आनन्द दिन्छ र भविष्यको दृष्टिगत गराउँछ,’ अध्यक्ष धितालले भने ।
नयाँ पुस्तामा छैन चासो
पहिले र अहिलेको लुतो फाल्ने चलनमा धेरै परिवर्तन भइसकेको बताउँछन् संस्कृतिका जानकार आचार्य । कर्णालीका ग्रामीण भेगमा अहिले पनि यो पर्व कायम रहे पनि सहरी क्षेत्रमा भने यदाकदाबाहेक लुतो फाल्ने चलन नै हराइसकेको छ ।
लुतो फाल्ने संस्कृतिले जेनतेन निरन्तरता पाउँदै आए पनि विस्तारै त्यसक्रममा प्रयोग गरिने सामग्रीबारेको जानकारी नयाँ पुस्तामा खासै छैन । लुतो फाल्दा नाङ्लो ठटाउने, शंख फुक्ने, दमाहा बजाउने र एकछिन घरको ढोका बन्द गर्ने चलन बिस्तारै हराउँदै गएको उनले बताए ।
अर्कोतिर गाउँघरमा तिउरी लगाउने प्रचलन बिस्तारै हट्दै गएको छ । सहरबजारमा त यसको नाम पनि नसुनेका मानिस भेटिन सक्छन् । अहिलेका युवा पुस्ताले बिस्तारै तिउरीलाई भुलेर मेहेन्दी लगाउन थालेका छन् । आयुर्वेदिक औषधिको महत्वभन्दा पनि फेसनको शृंगारमा रूपान्तरण भएको पाइन्छ ।
कर्णालीमा जन्मियो, देशैभर फैलियो
इतिहासको एक कालखण्डमा कर्णाली विशाल थियो । खस साम्राज्यको आफनै रीतिरिवाज र संस्कृति थियो । दक्षिणमा जाँदा भावर र औलोको डर, अनि ठूलो जंगल थियो । उत्तरमा भोट थियो । भोटेहरुसँग भाषा र रहनसहन मिल्दैनथ्यो ।
कुरा वि.सं. १०५० तिरको हो । जतिबेला अहिलेको कर्णाली खस साम्राज्य भनेर चिनिन्थ्यो । १३५० तिर खस साम्राज्य पनि ढल्यो । अनि १४५० मा जन्मिए बाइसे र चौबीसे राज्य ।
कर्णालीसँग बाह्य सम्पर्क थिएन । जसले गर्दा साउने संक्रान्ति, माघे संक्रान्ति, देउडा लगायतका पर्व कर्णालीका मौलिक पर्व भएको इतिहास तथा संस्कृतिका जानकार आचार्य बताउँछन् । ‘कालन्तरमा खसभाषीहरु जहाँ पुगे, त्यहींसम्म यी पर्वहरु फैलिएका हुन्,’ आचार्य भन्छन् ।
साउने संक्रान्तिका दिन ‘लुतो फाल्ने’ पर्व अहिले देशैभर मनाइए पनि यसको जननी कर्णाली भएको आचार्यको दाबी छ ।
फेसबुक प्रतिक्रियाहरु