राम लक्ष्मण इनोभेसन्सले नेपालमै उत्पादन गरेको निर्वाचनको लागि विद्युतीय मतदान यन्त्र (ई–भोटिङ मेशिन) सार्वजनिक गरिएको छ । मंगलबार राजधानीमा आयोजित कार्यक्रमका बीच सार्वजनिक गरिएको यन्त्र रामलक्ष्मण दाजुभाइको पाँचौ संस्करण हो ।
करिब एक दशकअघि नेपालमै उत्पादन भएको इ–भोटिङ मेशिनले हालसम्म १ सय पटकभन्दा बढी राजनीतिक दल, विभिन्न संघ÷संस्थालगायतका निर्वाचन सफलतापूर्वक सम्पन्न गरिसकेको राम प्रसाद रिमालले बताए ।
तर, निर्वाचन आयोगले मेसिनबारे पटक–पटक कुरा राख्दा पनि चासो नदिएको उनले गुनासो गरे । उनले भने, ‘मेसिन बनाएको १० वर्षसम्म पनि निर्वाचन आयोगले कुनैपनि इनपुटहरु दिएको छैन । आयोगले हामीलाई वास्ता नगरेको जस्तो लागिरहेको छ । यो प्रस्ताव लिएर जाँदा आयोगले पार्टीहरूसँग सल्लाह गर्न सुझाव दिएअनुसार हामी पार्टीहरूमा कुरा राख्न गयौं ।’ आयोगले आफूहरुको मेसिनबारे केही अपुग भएको वा मिलाउनुपर्ने केही भए मिलाउ भनेमा त्यो गर्न पनि आफूहरु तयार रहेको उनको भनाइ छ ।
उनले आयोगले धेरै भोट आउने वा दुर्गम स्थान २÷४ एरिया तोकेर जिम्मेवारी दिएपनि त्यसको लागि डेमो गर्न आफूहरु तयार रहेको बताए । नेपालको अवस्था हेरेर मेशिनको निर्माण गरेको उनको भनाइ थियो । उनले मतपत्रमा देखिने सबै कुरा डिजिटल डिस्प्लेमा देखिने पनि सुनाए ।
उनले नेपाली भाषामा बोल्ने, आँखा नदेख्ने र कान नसुन्नले पनि सुनेर मतदान गर्नसकिने मेसिनमा प्रविधि जडान गरिएको जानकारी दिए । मेसिनबाट भोटिङ गर्दा कुनैपनि मत बदर हुन नसक्ने समेत उनको दाबी छ ।
त्यस्तै, लक्ष्मण प्रसाद रिमालले आगामी चुनावमा एक व्यक्तिले ४ वटा मतपत्रमा चिन्ह लगाउनुपर्ने हुँदा समय बढी लाग्ने तर इ–भोटिङ मेसिनमा औँलाले दबाउने भएकोले छिटो हुने दाबी गरे ।
फेसबुक प्रतिक्रियाहरु