रूकुम-पूर्वामा प्रहरी नायब उपरीक्षकसहित ६ जना सवार दुर्घटना ब्रेक नलागेपछि भएको खुलेको छ।जिल्लाका प्रहरी प्रमुख डिएसपी प्रकाश डाँगीले मोडमा गाडीको ब्रेक नलागेपछि दुर्घटनामा परेको बताएका हुन्। शनिबार पुथा उत्तरगंगा गाउँपालिका वडा नं. ११ सेरो मोडमा प्रहरीको लु १ झ ६६० नम्बरको जीप सडकबाट करिब ८० मिटर तल खसेको हो। सो जिप खस्दा दुई जना डिएसपीसहित ६ जना घाइते छन्।
कुरा गर्दै डिएसपी डाँगीले डरलाग्दो दुर्घटनामा परेर पनि भाग्यवश आफू सामान्य घाइते मात्रै भएको बताए।‘मेरो अवस्था सामान्य नै छ। मेरो ओठ, मुखमा अलिअलि रगत बगेको छ,’ उनले भने, ‘म अहिले पनि घटनास्थलमै अन्य साथीहरूलाई हेलिकोप्टरबाट बाहिरी जिल्ला पठाउने कार्यमै खटिएको छु।’मोडमा पुगेपछि गाडी चालक प्रहरी हवल्दार कुमारसिंह डाँगीले ब्रेक नलागेको कुरा गरेको डिएसपी डाँगीले बताए।
‘अगाडि केटालाई बसालेको थिए अनि म र सशस्त्रका डिएसपी बीचमा बसेका थियौं। त्यही बीचमा चालकले ब्रेक लागेन सर भन्नु भयो, तर हाम्रो कुनै उपाय थिएन। गाडी खसिसक्यो,’ डिएसपी डाँगीले भने, ‘हामी बीचमा भएको हुँदा बार समात्न पायौं र चालक र गाडीसँगै पल्टिदै तलै पुग्यौं।’
सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठ पनि सोही जिपमा सवार थिए।डिएसपी डाँगीले चालकको अवस्था गम्भीर रहेको जानकारी दिए। बीचमा बसेकै कारण आफूलाई चोट कम लागेको भएपनि सशस्त्र प्रहरीका डिएसपी श्रेष्ठलाई भने आफ्नोभन्दा बढी चोटपटक लागेको बताए।उनीहरू तकशेरामा निरीक्षण गर्न जाँदै थिए। गाडी खस्दै गर्दा अगाडि बसेका प्रहरी जवान सञ्तोष बुढा पनि गम्भीर घाइते छन्।
गाडी पल्टिँदा ज्यान जोगाउन भनेर बीचमै हाम फालेको हुँदा बुढालाई बढी चोट लागेको र अवस्था गम्भीर रहेको डिएसपी डाँगीले बताए।प्रहरी जवान बुढा र लक्ष्मण पुनलाई हेलिकप्टरबाट उद्धार गरी बाँकेको नेपालगञ्जतर्फ लगिएको छ।रुकुम पूर्वका प्रमुख जिल्ला अधिकारी तुलाराज सुनुवारले हेलिकप्टर नेपालगञ्जमा बिरामी छोडेर फेरि फर्केर आउने जानकारी दिए।
‘अझै यहाँ हाम्रा दुई जना भाइहरूको अवस्था गम्भीर छ,’ उनले भने, ‘अब हेलिकप्टर आएपछि उहाँहरूलाई उपचारका लागि नेपालगञ्ज पठाउने छौं।’डिएसपी डाँगीले पानी पनि नपरेको तथा बाटोपनि चिफ्लो नरहेको भएपनि ब्रेकले काम नगर्दा गाडी दुर्घटनामा परेको दोहर्याए।
‘मलाई पनि दुखिरहेको छ। चोट त लागेको छ, तैपनि म आफू भन्दा गम्भीर अवस्थामा रहेका साथी-भाइको सहयोग तथा उद्धारमा निरन्तर खटिएको छु,’ डिएसपी डाँगीले भने, ‘मलाई सिडियो साबदेखि सबै प्रहरी साथीभाइले तत्काल उपचारका लागि जान सुझाव दिइरहनु भएको छ। तर म भन्दा गम्भीर घाइते साथीभाइलाई नपठाई म अस्पताल जाने छैन।’
फेसबुक प्रतिक्रियाहरु